
काठमाडौं । जेनजी समूहको वृहद् भर्चुअल बैठकमा अन्तरिम सरकारको प्रधानमन्त्रीबारे छलफल र मतदान चलेको छ । पाँच हजारभन्दा बढी सहभागी भएको बैठकमा सबैभन्दा धेरै समर्थन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको पक्षमा परेको छ।
बैठकमा सहभागी एक जेनजी प्रतिनिधिले कार्कीले नेतृत्व लिन आफू तयार रहेको बताएको दाबी गरे ।
‘सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व लिन तयार भएको खबर पठाउनुभएको छ । उहाँ तयार भएपछि अब हामी प्रधानसेनापतिसँग वार्ताका लागि जाऊँ भन्ने निष्कर्षमा पुगेका छौं ।’
कार्कीलाई यसअघि नै जेनजीका तर्फबाट प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको तर उनले एक हजार जनाको लिखित समर्थन चाहिने बैठकमा बताइएको छ । उनलाई २५ सयभन्दा बढीको हस्ताक्षरसहित समर्थन बुझाइएको दाबी उनीहरूको छ ।
बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई अघि सार्न खोजिए पनि उनी सम्पर्कमा आउन नचाहेको जानकारी गराइएको एक प्रतिनिधिले बताए ।
त्यसैगरी कुलमान घिसिङ, सागर ढकाल, हर्क सामपाङ लगायतका नामहरू आएका छन् । मतदानमा ‘र्यान्डम नेपाली’ नामले परिचित कानुन व्यवसायी राष्ट्रविमोचन तिमल्सिनालाई पनि उल्लेखनीय मत परेको छ । उनले भने, अरु कोही तयार नभए मात्र आफू अघि सर्ने बताएका छन्।







प्रतिक्रिया