
काठमाडौँ । इन्टरनेटको गतिमा नेपाल दक्षिण एसियामै पहिलो स्थानमा देखिएको छ । विश्व वरीयतामा भने नेपालको इन्टरनेटको गति ८९औँ स्थानमा छ । यो तथ्यले नेपालमा तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) भरपर्दो रुपमा उपलब्ध भएको देखाउछ ।
यो तथ्य अनुसार नेपालले दक्षिण एसियाली क्षेत्रमै ऐतिहासिक फड्को मारेको छ । इन्टरनेटको गति मापन गर्ने विश्वकै प्रतिष्ठित संस्था ‘ओकला’ले सार्वजनिक गरेको सन् २०२६ को जनवरी महिनाको ‘स्पिडटेस्ट ग्लोबल र्याङ्क’ अनुसार नेपाल दक्षिण एसियाली मुलुकहरूमध्ये पहिलो स्थानमा पर्न सफल भएको हो ।
ओकलाको पछिल्लो तथ्याङ्कअनुसार ८४.३८ एमबीपीएस औसत इन्टरनेट गतिको साथ नेपाल विश्वभरका देशहरूको सूचीमा ८९औँ स्थानमा उक्लिएको छ । गत वर्षको तुलनामा नेपालको वरीयता करिब चार प्रतिशतले सुधार भएको देखिएको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रहरूबीच नेपालको इन्टरनेट गति सबैभन्दा तीव्र देखिएको छ । नेपालले भारत र बङ्गलादेशजस्ता ठूला अर्थतन्त्र भएका छिमेकी मुलुकहरूलाई समेत पछाडि पारेको छ ।
सार्क राष्ट्रहरूको इन्टरनेट गतिको तुलनात्मक विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ:
| सार्क देश | इन्टरनेट गति (Mbps) | विश्वव्यापी वरीयता |
| नेपाल | ८४.३८ | ८९औँ |
| बङ्गलादेश | ६४.३७ | ९६औँ |
| भारत | ६१.६७ | ९८औँ |
| श्रीलङ्का | ३५.७९ | १२६औँ |
| माल्दिभ्स | २०.३० | १३९औँ |
| पाकिस्तान | १८.०६ | १४५औँ |
| अफगानिस्तान | ४.७९ | १५०औँ |
(सार्क राष्ट्र भुटान यस वरीयतामा समावेश छैन ।)
विश्वव्यापी वरीयतामा भने ४१६.१० एमबीपीएस गतिको इन्टरनेटसहित सिङ्गापुर शीर्ष स्थानमा कायम छ । त्यसैगरी ३८७.४१ एमबीपीएसका साथ संयुक्त अरब इमिरेट्स (यूएई) दोस्रो र ३४८.०२ एमबीपीएसका साथ फ्रान्स तेस्रो स्थानमा रहेका छन् ।
नेपालले कसरी मार्यो फड्को ?
नेपालको इन्टरनेट स्पिड दक्षिण एसियामै अब्बल हुनुको मुख्य कारण ‘लास्ट माइल’ (घरसम्म पुग्ने सेवा) मा शतप्रतिशत फाइबर प्रविधिको प्रयोग हुनु रहेको विज्ञहरूको विश्लेषण छ ।
नेपाल इन्टरनेट सेवा प्रदायक सङ्घ (आईस्पान) का अनुसार नेपालमा धेरैजसो सेवा प्रदायकले ‘गिगाबाइट प्यासिभ अप्टिकल नेटवर्क’ (जिपोन) प्रविधिमार्फत सेवा दिइरहेका छन् ।
आइस्पानले दिएको जानकारी अनुसार अन्य मुलुकमा अझै पनि एडीएसएल जस्ता पुराना प्रविधिहरू प्रयोगमा छन्, तर नेपालमा फाइबर र जिपोन प्रविधिको व्यापक विस्तार भएको छ । जिपोनमार्फत १ गिगाबाइटसम्मको स्पिड पुर्याउन सकिन्छ ।
बजारमा बढ्दो प्रतिस्पर्धाका कारण अचेल सेवा प्रदायकहरूले ५० एमबीपीएसभन्दा कम क्षमताको इन्टरनेट प्याकेज बिक्री गर्न छाडिसकेकाले पनि औसत गति बढेको नेपालका सेवाप्रदायकहरुकाे दाबी छ ।
सन् २००६ देखि सेवा दिँदै आएको ओकलाले इन्टरनेटको गति र गुणस्तर मापन गर्न वैज्ञानिक र यथार्थपरक विधि अपनाउने गर्दछ । यसको मापन मुख्यतया प्रयोगशालाको कृत्रिम परीक्षणमा नभई उपभोक्ताको वास्तविक अनुभवमा आधारित हुन्छ ।
विश्वभरका लाखौँ प्रयोगकर्ताले आफ्नो मोबाइल वा कम्प्युटरमा स्पिडटेस्ट प्रयोग गर्दा प्राप्त हुने नतिजालाई ओकलाले प्रमुख आधार मान्छ । ओकलासँग विश्वका हरेक देश र प्रमुख सहरहरूमा आफ्नै परीक्षण सर्भरहरूको सञ्जाल छ ।
प्रयोगकर्ताको डिभाइस र ती सर्भरबिच डेटा आदानप्रदान हुँदा लाग्ने समय, दूरी र नेटवर्क क्षमताको विश्लेषण गरेर इन्टरनेटको सटीक गति निर्धारण गरिन्छ ।
वरीयता निर्धारण गर्दा ओकलाले डाउनलोड र अपलोड स्पिड मात्र नभई आधुनिक डिजिटल जीवनशैलीका लागि आवश्यक भिडियो स्ट्रिमिङको गुणस्तर, अनलाइन गेमिङका लागि चाहिने लेटेन्सी र भिडियो कन्फरेन्सिङको स्थिरतालाई समेत प्रमुख सूचकका रूपमा लिने गर्दछ ।
सूचना प्रविधि विज्ञहरूका अनुसार दक्षिण एसियामा नेपालले लिएको यो अग्रता डिजिटल पूर्वाधार विकासका लागि सकारात्मक सङ्केत हो ।
फाइबर नेटवर्कको थप विस्तार र डेटा केन्द्रहरूको पूर्वाधारमा लगानी बढ्दै जाँदा आगामी दिनमा नेपालको इन्टरनेट गुणस्तर अझै सुधार हुने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया