
काठमाडौं । एआई विज्ञ पास्कल काउफम्यान नेपाल आउने भएका छन् । उनले आगामी शनिबार साँझ हुने एचआर मिटलाई सम्बोधन गर्ने भएका छन् ।
विश्वचर्चित न्यूरोसाइन्टिस्ट तथा कृत्रिम बुद्धिमत्ता (एआई) विज्ञ पास्कलले काठमाडाैंमा हुँदै गरेको ‘एचआर मिट २०२६’मा मानव मस्तिष्क, कृत्रिम बुद्धिमत्ताबीचको सम्बन्ध, प्रविधिको भविष्य र मानव स्रोत व्यवस्थापनमा एआईको भूमिकाबारे आफ्नो प्रस्तुतीकरण दिने भएका छन् ।
अन्तर्राष्ट्रिय स्तरका प्रभावशाली वक्ता पास्कल अन्तर्राष्ट्रिय स्तरका विभिन्न फोरममा उच्च शुल्क लिएर वक्ताका रूपमा उपस्थित हुने व्यक्तिका रुपमा परिचित छन ।
स्विट्जरल्यान्डका काउफम्यानले मानव मस्तिष्कको कार्यप्रणालीलाई आधार बनाएर कृत्रिम बुद्धिमत्ता विकास गर्ने क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका छन्। उनी ‘माइन्डफायर’ नामक कम्पनीका संस्थापक हुन ।
उनले मानवजस्तै सोच्न र निर्णय लिन सक्ने उन्नत एआई प्रणाली विकास गर्ने लक्ष्य राखेका छन। उनले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा एआई, डिजिटल ट्रान्सफर्मेशन र मानव–मेसिन सहकार्यबारे आफ्ना गहन विचारहरू राख्दै आएका छन्।
काउफम्यानको अध्ययन र काम विशेषगरी मस्तिष्कको संरचना, न्यूरल नेटवर्क र त्यसलाई प्रविधिमा रूपान्तरण गर्ने विषयमा केन्द्रित रहेको पाइन्छ।
काठमाडौंमा आयोजना हुने ‘एचआर मिट’ नेपालमा मानव स्रोत व्यवस्थापनसम्बन्धी सबैभन्दा ठूलो र प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलनका रूपमा चिनिन्छ।
सन् २००८ देखि नियमित रूपमा आयोजना हुँदै आएको यो कार्यक्रमले मानव स्रोत क्षेत्रका पेसाकर्मी, उद्योगी तथा विज्ञहरूलाई एउटै थलोमा ल्याएर आधुनिक व्यवस्थापनका चुनौती र अवसरबारे छलफल गराउँदै आएको छ।
यस वर्षको संस्करणमा प्रविधि र मानवबीचको सहकार्य, एआईको प्रभाव र भविष्यको कार्यस्थलका विविध आयामबारे विशेष विमर्श हुने अपेक्षा गरिएको छ।
काउफम्यानको नेपाल भ्रमण र मन्तव्यले नेपाली निजी क्षेत्रलाई विश्वस्तरीय प्रविधि र आधुनिक व्यवस्थापनको पछिल्लो प्रवृत्तिसँग जोड्न महत्वपूर्ण सहयोग पुर्याउने आयोजकको विश्वास छ।









प्रतिक्रिया