नेपालमा स्वतःस्फुर्त विद्रोह कि भूराजनीतिक खेल ?

91
Shares


काठमाडौं । फ्रेडरिक फोर्साइथ नामक बेलायती पत्रकार र लेखक आफ्ना थ्रिलर उपन्यासहरूका लागि प्रख्यात छन् ।

उनको पुस्तक ‘आइकन’मा कसरी पश्चिमी शक्तिहरूले “नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई” स्वीकार नगर्ने मुलुकमा शासन परिवर्तन गराउन खेल खेल्छन् भनी वर्णन गरिएको छ ।

सन् १९९९ मा प्रकाशित पुस्तक वर्तमान समयको भविष्यवाणी झैं लाग्छ । त्यसमा बेलायती गुप्तचर निकाय एमआई६ का पूर्व प्रमुखले अमेरिकाको गुप्तचर निकाय सीआईएका पूर्व एजेन्टलाई रुसमा पठाएर एक शक्तिशाली राजनीतिकर्मी (भ्लादिमिर पुटिनसँग अचम्म गरी मिल्दोजुल्दो) को उदय रोक्न लगाएको कथा छ । विगतमा बोल्शेभिक कम्युनिस्टहरूले रुसमा राजतन्त्र ढालेझैं अब फेरि स्थायित्व ल्याउनका लागि रुसी सम्राट् वा जारलाई गद्दीमा स्थापित गर्ने योजना बनाइन्छ ।

ठ्याक्कै यसैगरी सन् २००८ मा राजतन्त्र समाप्त गरेपछि नेपालमा विभिन्न धारका कम्युनिस्ट नेताहरू सत्तामा पुगेका छन् । तर वास्तविक कम्युनिस्टले सशस्त्र क्रान्ति त्यागेर संसदीय लोकतन्त्रमा भाग लिँदैन भनी शुद्धतावादीहरू भन्छन् ।

राजालाई सत्ताच्युत गरेयता नेपाल लगातार अस्थिर रह्यो । गणतन्त्र आएयता १० भन्दा बढी प्रधानमन्त्री फेरिए तर ठोस परिवर्तन भने भएन ।

जे होस्, हाल उठेको जेन जी आन्दोलनका कारण सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेको छ : यी विद्रोहहरू स्वतःस्फूर्त हुन् कि ठूलो योजनाको हिस्सा ?

दक्षिण एसियामा अशान्ति मच्चाएर शासनसत्ता परिवर्तन गराउने “डीप स्टेट” को प्रयास हो भनी कतिपयले भनेका छन् ।

हुन पनि भारतको छिमेकी मुलुकहरू श्रीलंका, बंगलादेश, पाकिस्तान, म्यानमार र नेपाल सबैमा हालसालै मात्र सत्ता परिवर्तन भएका छन्। एक जनाले त यसलाई हाँसो गर्दै “एसियन कप अफ रेजिम चेन्ज” भने । अर्को लोकप्रिय ह्यान्डलले सडक आन्दोलनमार्फत हुने “सत्तापरिवर्तन” कत्तिको स्वतःस्फूर्त हो भनेर प्रश्न ग‍र्यो ।

कतिपयले सन् २०२५ मार्च महिनामा भाइरल भएको एउटा भिडियो उद्धृत गरे । त्यसमा विद्यार्थीहरूले राजा वीरेन्द्रको प्रसिद्ध भनाइ सम्झाएका थिए—“म मरे पनि मेरो देश बाँचिरहोस्।”

राजनीतिक अस्थिरता, भ्रष्टाचार, जीवनयापनमा आएको संकट, बेरोजगारी र आर्थिक विकासको कमीका बीच हिन्दू राजतन्त्र फर्काउने मागसँगै यो कुरा आएको थियो ।

तर यसमा अरूले असहमति जनाए । कतिपयले भने, नेपालीहरू लोकतान्त्रिक विकल्पप्रति निराश बन्दै गएका थिए र सामाजिक सञ्जालले झिल्कोको मात्र काम गरेको हो ।

तर संशयवादीहरूले भने पाकिस्तानदेखि श्रीलंका हुँदै नेपालसम्मका हरेक आन्दोलनलाई गुप्तचर निकायसँग जोड्नु “कन्फर्मेसन बायस” मात्र भएको चेतावनी दिए ।

काठमाडौंमा आन्दोलन सुरु हुनु अघिदेखि नै नेपाली सामाजिक सञ्जाल असन्तोषले उम्लिरहेको थियो ।

“नेपो किड” अभियानले प्लेटफर्महरूमा वर्चस्व जमायो । कसरी राजनीतिकर्मीका छोराछोरीले विदेशी डिग्री, महँगो गाडी, भव्य भिलाका साथ ऐशआरामको जीवनशैली देखाउँछन् भनी भिडियो बनाइएका थिए । सर्वसाधारण बाँच्नका लागि संघर्ष गर्दै गर्दा नेताका छोराछोरी चाहिँ विलासितामा रमाएका छन् । टिकटक र रेडिटमा भाइरल भएका पोस्टहरूले धनी र गरिबबीचको तुलना गर्दै जनआक्रोश बढाए ।

नेपोकिड नेपोबेबीज पोलिटिसियन्सनेपोबेबीनेपाल जस्ता ह्याशट्यागहरू लगातार ट्रेन्ड भए ।

एक टिकटक भिडियोले १० लाखभन्दा बढी भ्युज बटुल्यो, जसमा “नेपो बेबीहरू” विदेशमा पार्टी गर्दै गरेको देखाइएका थिए । नेपालमा बेरोजगारीले गर्दा प्रत्येक वर्ष लाखौं युवालाई विदेश पलायन गर्न बाध्य तुल्याइरहेको पृष्ठभूमिमा नेपो बेबीले गरेको मोजमस्तीले आक्रोश बढायो ।

यो डिजिटल विद्रोह लामो समयदेखि सञ्चित भएर बसेको असन्तोषको प्रतिबिम्ब थियो । हुन पनि भ्रष्टाचार काण्ड, सत्तामा अभिजात वर्गको कब्जा र रोजगारीको अभाव रहेको स्थिति छ । पछिल्लो वर्ष मात्र ७ लाख ४० हजारभन्दा बढी नेपाली रोजगारीका लागि विदेश गए । एउटा पुस्ताले नेपालप्रति आशा गुमाउनुको कारण यसैबाट प्रस्ट हुन्छ । विश्वासघातको भाव गहिरो थियो । एक प्रदर्शनकारीले भने, “हामी हाम्रो देश फिर्ता चाहन्छौं ।”

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध त आगो सल्काउने झिल्को मात्र थियो । जेन जीको आक्रोश यसभन्दा धेरै गहिरो छ ।

उनीहरूका दृष्टिमा बेरोजगारी, पलायन र असमानतालाई जोड्ने धागो भनेको भ्रष्टाचार हो । ७ करोड १० लाख डलर खर्च भएको पोखरा विमानस्थलमा भ्रष्टाचार र नक्कली शरणार्थी प्रकरणले अभिजात वर्ग जवाफदेहिताबाट कसरी उम्किन्छ भन्ने देखायो । सामान्य नेपालीका लागि भ्रष्टाचारको अर्थ हो– महँगो शिक्षा, स्वास्थ्य, मलको अभाव र ढाड सेक्ने गरी मूल्यवृद्धि ।

सन् २०२५ अगस्ट महिनाको अन्त्यतिर आक्रोश चर्किने वातावरण आयो । नेपाल सरकारले एकैपटक २६ प्रमुख सामाजिक सञ्जाल बन्द ग‍र्यो । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, युट्युब, एक्स, रेडिट र अरूलाई सात दिनभित्र दर्ता नगरेको कारण देखाउँदै त्यो बन्द गरिएको थियो । अधिकारीहरूले भने यो निर्देशन घृणायुक्त अभिव्यक्ति, फेक न्यूज र साइबर अपराध नियन्त्रण गर्नका लागि जारी गरिएको बताए ।

सेप्टेम्बर ४ को मध्यरातमा नेपाल अफलाइन भयो । चीनको बाइटडान्स स्वामित्वको टिकटक मात्र खुला रहने प्रमुख एप थियो किनकि त्यसले स्थानीय कार्यालय खोलेर आफूलाई दर्ता ग‍रेको थियो । भाइबर, वीटक, निम्बज, पोपो लाइभ जस्ता केही साना एपहरू पनि चले ।

धेरै युवाका लागि यो प्रतिबन्ध सेन्सरशिप जस्तो अनुभव भयो ।

देशका ३ करोडमध्ये ९० प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरू अचानक डिजिटल पहुँच गुमाउँदा आक्रोशित भए । टिकटकलाई छुट दिनु अझै विवादास्पद बन्यो । नेपालमा एकपटक प्रतिबन्धित भएको यो एप पछि पुनः सुरु भएको थियो । यसले बेइजिङप्रति काठमाडौंको नजिकिँदो सम्बन्धलाई प्रस्ट ग‍र्यो ।

जेन जीका लागि यो अपमान थियो । आक्रोशको मूल कारण यो थिएन तर यसले आगोमा घ्यू थप्यो । केही दिनमै सरकारले रोक्न खोजेका प्लेटफर्महरूकै मार्फत (भीपीएन र टिकटक प्रयोग गरेर) प्रदर्शनका लागि आह्वान गरेका सन्देशहरू फैलिए ।

सेप्टेम्बर ८ को बिहान काठमाडौं दशकौंयताकै सबैभन्दा ठूलो युवा आन्दोलनको रंगमञ्च बन्यो । हजारौं विद्यार्थी र युवा, अझ कतिपय स्कुल ड्रेसमै, माइतीघर मण्डलामा भेला भए । उनीहरूले झण्डा, प्लेकार्ड र नाराहरू बोकेका थिए । “सामाजिक सञ्जाल होइन, भ्रष्टाचार बन्द गर,” “सामाजिक सञ्जाल खोल,” “नो मोर नेपो बेबीज ।”

जेन्जी नेपाल नामको इन्स्टाग्राम पेजले पहिले नै निर्देशन दिएको थियो— दलीय राजनीतिबाट टाढा रहनू, कुनै पार्टीको झण्डा नल्याउनू, कुनै नेताको प्रचार नगर्नू । आयोजकहरूले दुर्गा प्रसार्इं वा राजावादीहरूसँग दूरी कायम गरे ।

सुरुमा प्रदर्शन उत्सवजस्तै लाग्यो । गीत र नाराबाजीहरू सुनिए । तर, मागहरू गम्भीर थिए— सामाजिक सञ्जाल प्रतिबन्ध अन्त्य गर, भ्रष्टाचारलाई कारबाही गर, युवाको भविष्य सुरक्षित गर ।

जुलुस नयाँ बानेश्वरस्थित संसद् नजिक पुगेपछि प्रहरी र अर्धसैनिक बलसँग ठोकियो । केही प्रदर्शनकारीले अवरोध पार गरेपछि प्रतिक्रिया क्रूर भयो । अश्रूग्यास, पानीका फोहरा, रबरका गोली र त्यसपछि वास्तविक गोली ।

साँझसम्म नेपालले माओवादी द्वन्द्वपछिको सबैभन्दा ठूलो रक्तपातपूर्ण दिन देख्यो । १९ जनाको मृत्यु भयो । सयौं घाइते भए, धेरैजना त स्कुल ड्रेसमै ढले । अस्पतालहरू भरिए । प्रहरीले अन्धाधुन्ध गोली हानेको प्रत्यक्षदर्शीले बताए । एक प्रदर्शनकारीले मलाई ताकेर हानेको गोली मेरो साथीलाई लाग्यो भने ।

भीपीएनमार्फत सामाजिक सञ्जालमा भयावह विवरण फैलियो । प्रहरीले अस्पतालमै आक्रमण ग‍र्यो, घाइतेहरूलाई कुटपिट ग‍र्यो, महिलामाथि घरभित्रै यौन हिंसा ग‍र्यो भनी इन्फ्लुएन्सरहरूले आरोप लगाए । मिस नेपाल अर्थ २०२२ रहेकी सारीषा श्रेष्ठले रुँदै गरेको भिडियो पोस्ट गर्दै भनिन्, “विद्यार्थीहरू, साना बालबालिका समेतलाई गोली हानियो ।” टिकटकर दृष्टि अधिकारीले शान्तिपूर्ण जुलुसलाई गोलीले जवाफ दिनु अन्तर्राष्ट्रिय मानवअधिकार उल्लंघन भएको बताइन्।

“हत्यारा सरकार” र रिजाइनकेपीओली जस्ता ह्याशट्यागहरू ट्रेन्ड भए । ओली सरकारले लक्ष्मणरेखा पार गरिसकेको रात पर्नासाथ स्पष्ट भयो ।

सिंहदरबारमा तोडफोड र आगजनी भयो । त्यसपछि सेना पठाइयो ।

सरकार संकट सम्हाल्न दौडियो । त्यही रात ओलीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाए । तर ढिलो भइसकेको थियो । भोलिपल्ट अझै उग्र प्रदर्शन भए ।

भीडले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति रामचन्द्र पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवाको निजी निजी निवाससम्म आक्रमण ग‍र्यो । संसद् भवनको जल्यो । अन्तर्राष्ट्रिय विमानस्थल बन्द भयो ।

लगत्तै राजीनामाका सिलसिला सुरु भए । लेखकले “नैतिक जिम्मेवारी” लिँदै पहिले राजीनामा दिए । दुई मन्त्रीले पनि त्यस्तै गरे । रातिसम्म ओली आफैं चौथो कार्यकालको अपमानजनक अन्त्य गर्दै राजीनामा दिएर बाहिरिए । ७३ वर्षका ओलीको पतनलाई सडकले जनशक्तिको जित भनेर स्वागत ग‍र्यो ।

तर, यसको भूराजनीतिक विश्लेषण भइरहेको छ । टिकटक चल्न दिइएकाले नेपाल चीनसँग नजिकिएको धारणालाई बलियो बनायो । प्रदर्शन हुनुभन्दा केही दिनअघि ओली चीनको च्यानचिन र बेइजिङमा देखिएका थिए । पश्चिमी देशहरूले काठमाडौंमा भएको हिंसाको निन्दा गरे, चीन मौन रह्यो ।

विश्लेषकहरूले सामाजिक सञ्जालको सूचीकरण अभियान चीनको प्रभावमा भएको अनुमान गरे । तर, प्रतिबन्ध छिट्टै खोलिएको देख्दा यसबारे अन्तिम निर्णय विदेशीले नभई नेपालीकै जनआक्रोशले गरेको हो भन्ने पुष्टि भयो ।

त्यसो भए, यो आन्दोलन स्वतःस्फूर्त थियो कि नियोजित ?

युवा विद्रोह स्वतःस्फूर्त थियो भन्ने कुरा स्पष्ट थियो । केन्द्रीकृत नभएको संगठन, दलीय राजनीतिलाई अस्वीकार, भ्रष्टाचार र बेरोजगारीलाई हटाउनुपर्ने मागले यो विद्रोहको नियतमा शंका देखिएन । तर, प्रधानमन्त्री ओलीले विशेष स्वार्थ समूहहरूले हिंसा बढाएको भनी बयान दिए ।

रेडिट र ट्विटरमा “कलर रिभोल्युसन” शैलीको विद्रोह सीआईएबाट गराइएको भन्ने षड्यन्त्र सिद्धान्त फैलियो । अरूले भने बेइजिङतिर औंला ठड्याउँदै पश्चिमा सामाजिक सञ्जाल प्लेटफर्म बन्द हुँदा टिकटक मात्र खुला रहनु संयोग थिएन भने ।

स्पष्ट कुरा के हो भने नेपालका जेन जीहरूले भीपीएन र ह्याशट्यागमार्फत केही दिनमै सरकार फालिदिए । तर, यो पूर्ण रूपमा स्वतःस्फूर्त थियो कि ठूलो भूराजनीतिक खेलको हिस्सा थियो भन्ने अस्पष्ट छ ।

फोर्साइथको आइकन नामक पुस्तकले रुसमा कम्युनिस्टको उदय रोक्न राजावादीको पुनःस्थापनाको कल्पना गरेको थियो ।

नेपालमा भने यसको उल्टो भएको देखियो । राजतन्त्रबाट माओवादी गणतन्त्रमा प्रवेश गर्दा सशस्त्र विद्रोह गरेका कम्युनिस्टहरू आज दरबारमा बसिरहेका छन् ।

सामन्तवादको जरा उखेल्ने भनिएको क्रान्तिले अन्ततः आफ्नो ब्रान्डको भ्रष्टाचार, भागबन्डा र पतन जन्मायो । फोर्साइथले राजतन्त्र–कम्युनिज्म–राजतन्त्रको चक्र देखाए भने नेपाल आज राजतन्त्रपछि कम्युनिज्म र त्यसपछि पतनमा पुगेको छ । त्यसको नयाँ अध्याय सामाजिक सञ्जालले लेखिरहेको छ ।

१९७१ मा गिल स्कट–हेरोनले भनेका थिए, “क्रान्ति टेलिभिजनमा देखाइने छैन ।” नेपालमा ५४ वर्षपछि क्रान्तिलाई टेलिभिजन आवश्यक थिएन । यो सामाजिक सञ्जालमै सम्भव भयो— स्ट्रीम, ह्याशट्याग र भीपीएनमार्फत । सरकारले त्यसलाई बन्द गर्न खोज्दा जेनजीले के देखायो भने क्रान्तिले आफ्नो प्रसारण माध्यम आफैं खोज्छ । त्यसका लागि टेलिभिजन पनि चाहिँदैन, कसैको अनुमति पनि चाहिँदैन ।

द टाइम्स अफ इन्डियामा प्रकाशित निर्माल्य दत्तको सामग्रीको अनुवाद