जेनजीको प्रदर्शनमा अभियान्ता ‘ईः’का भाइ ईश्वतको मृत्यु

30.3k
Shares

काठमाडौं । ‘ई’ नामले परिचित सामाजिक अभियान्ता ईशान अधिकारीका भाइले सोमबारको जेनजी प्रदर्शनीमा ज्यान गुमाएका छन् । राजधानीको नयाँ बानेश्वरमा सरकारले गरेको दमनमा ईश्वत बहादुर अधिकारीको मृत्यु भएको हो ।

राष्ट्रिय ट्रमा सेन्टरले सार्वजनिक गरेको मृतकको विवरणमा बनस्थलीका २६ वर्षीय ईश्वतको नाम उल्लेख छ । ईश्वत जेनजीको यो प्रदर्शनीमा नेतृत्व गर्नेमध्ये एक थिए ।

ई करिब एक दशकदेखि सामाजिक अभियानमा अगाडि रहेर परिचित छन् । उनले सिंहदरबारका भित्तामा रातो रंग पोत्ने, कयौं दिन उभिएर बिरोध प्रदर्शन गर्ने कामले प्रशिद्ध छन् ।

आफ्नो पूरा नाम नखुलाउने इशान अधिकारी आफूलाई ईः भनेर चिनाउँछन् । संविधान मेरो होइन भनेर सिंहदरबारमा केही वर्षअघि रातो पोतेर उनी चर्चामा आएका थिए । संविधान जारी भएपछि ‘यो मेरो संविधान होइन’ भन्ने अभियानका क्रममा उनले सिंहदरबारको पर्खालमा रातो पोतेका थिए । त्यस क्रममा उनी ४ पटक सम्म पक्राउ गरेका थिए ।
काठमाडौंको मेयरमा बालेन शाह निर्वाचित भएपछि फुटपाथ व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान दिनुपर्नेगायतका माग राखेर केही दिन उभिएरै महानगर आन्दोलन गरेका थिए ।

कोरोनाको समयमा ईंले सरकारविरुद्ध ‘इनफ इज इनफ’ अभियान सञ्चालन गरेका थिए । कोभिड महामारीको बेला सरकारविरुद्ध उनी २३ दिन ‘अनसन’ बसेका थिए ।

सोमबारको प्रदर्शनीमा ईले समर्थन गर्दै आन्दोलनलाई सरकारले क्रूर दमन गर्न वा कुनै तिकडम लगाएर बिथोल्न खोजे त्यो नेपाली राजनीतिक इतिहासकै सबैभन्दा भयङ्कर मूर्खता हुनसक्ने सम्भावना रहेको चेतावनी दिएका थिए । उनै ईका भाइ ईश्वतले सोमबार ज्यान गुमाएका छन् ।