कांग्रेसका पदाधिकारीलाई गृहमन्त्रीले भनेः नैतिकताका आधारमा राजीनामा दिन्छु

308
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पार्टीलाई आफू पदमा नबस्ने जानकारी गराएका छन् । राजधानीसहित देशैभर चर्केको जेनजीको प्रदर्शनमा राज्य दमनका कारण डेढ दर्जन बढीले ज्यान गुमाएसँगै गृहमन्त्री लेखकले पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा यस्तो बताएका हुन् ।

सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बैठक बसेको थियो । बैठकमा सहभागी एक पदाधिकारीका जनधनको क्षति भएको भन्दै आफू पदमा बस योग्यन नहुने बताएका थिए । नैतिक जिम्मेवारी लिँदै पदमा बस्न नमिल्ने उनको भनाइ थियो । यसअघि भिजिट भिसा प्रकरणमा पनि राजीनामा दिने तयारी गरेका लेखकलाई पार्टी र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामाबाट रोकेका थिए ।

यसैबीच प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । आजको मन्त्रिपरिषदको बैठकको प्रमुख एजेन्डा सामाजिक सञ्जाल र जेनजी आन्दोलन रहेको छ ।

नियमित कार्यसूची तथा आज भएको जेनजीपुस्ताको आन्दोलन र हिंसात्मक घटनालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन् । सोमबार जेनजी पुस्ताले आयोजना गरेको प्रदर्शन हिंसात्मक बन्दा काठमाडौं र इटहरिमा गरेर १९ जनाको मृत्यु भएको छ भने २ सय भन्दा बढी घाइते भएका छन् ।

यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल बन्दसम्बन्धी निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

मुलुकको विकसित घटनाक्रमपछि साँझदेखि सुरु भएको मन्त्रिपरिषद्को बैठकको क्रममा देउवाले फोन गरेर प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जाल बन्दसम्बन्धी निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका हुन् । देउवाले फोन गर्दा कांग्रेसका शीर्ष नेताको बैठक बुढानीलकण्ठमा जारी थियो ।