
काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको सत्ताको नेतृत्व गरिरेहकाले नै अवज्ञा गरेको पाइएको छ ।
भदौ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न कडाइ गर्ने निर्णय गरेअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सूचना निकालेको थियो ।
त्यसपछि सरकारले भदौ १२ गते फेसबुकसहितका सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण हुन समय दिन सूचना जारी गरेको थियो ।
सरकारले सूचनाबमोजिम तोकिएको समयसिमाभित्र सूचीकरण नभएका सामाजिक सञ्जाललाई बिहीबारबाट बन्द गर्ने सञ्चारमन्त्रीसहितको बैठकपछि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई दर्ता नभएका सामाजिक सञ्जालको सूची पठाउँदै बन्द गर्न निर्देशन दियो र त्यसअनुसार अधिकांश इन्टरनेट सेवा प्रदायकले अहिले फेसबुकसहित नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेका छन् ।
तर, प्रधानमन्त्रीको सचिवलायले नै त्यसको अवज्ञा गरेको पाइएको छ ।
एमाले अध्यक्ष ओलीको गतिविधिहरु साझा गर्ने बालकोट नामक पेज र प्रधानमन्त्रीको सचिवालयबाट सामाजिक सञ्जालमा तस्बिरहरु सेयर गरिएका हुन् ।
आजबाट सुरु भएको एमालेको विधान महाधिवेशनस्थलको फोटो ति पेजबाट सेयर भएका हुन् । अर्थात सरकारले बन्द गर्ने तर आफैं भीपीएन र डीएनएस प्रयोग गरेर सामाजिक सञ्जाल चलाउने प्रधानमन्त्री ओली नेतृत्वको टीमको दोहोरो चरित्र देखिएको हो ।
आम सर्वसाधारणलाई सूचनाको पहुँचबाट बन्देज लगाउँदै सत्तामा रहेकाहरूको यस्ता क्रियाकलापले आम मानिसमा असन्तोष पैदा गरेको छ ।
प्रमुख प्रतिपक्षी दलका नेताले समेत सरकारी निर्णयको अवज्ञा गरेका छन् । आफू प्रधानमन्त्री भएकाबेला टीकटक बन्द गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली सरकारले सामाजिक सञ्जाल बन्द गर्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठीत पार्ने प्रयास भएको भन्दै फेसबुकमै केहीबेर अघि स्टाटस लेखेका छन् ।







प्रतिक्रिया