आफू प्रधानमन्त्री हुँदा टिकटक बन्द गरेका प्रचण्डले भने: अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन

105
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णयको बिरोध गरेका छन्।

सूचीकरण हुन नआएपछि सरकारले बन्द गराएको सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको आरोप लगाएका छन् । संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको उनको आरोप छ ।

‘सरकारको यो कदम संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी मात्र नभई, सामाजिक सञ्जाल प्रकाशनरप्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशको अपव्याख्या समेत हो,’ उनले भनेका छन्, ‘यस निर्णयले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता मात्र होइन, देशको अर्थतन्त्रलाई निरन्तर टेवा दिइरहेका वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्क तथा सञ्चारलाई समेत जटिल र असहज बनाएको छ ।’

माओवादी सामाजिक सञ्जालको नियन्त्रण नभइ, उचित नियमनको पक्षमा अडिग रहेको उनले बताए ।

‘संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागिता र अपनत्व हुने गरी अघि बढाउनुको सट्टा कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक कदम हो,’ उनले भनेका छन्, ‘अतः, म संविधान प्रदत्त अधिकारको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सम्मान र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै, यस निर्णय तत्काल खारेज गर्न जोडदार माग गर्दछु ।’

तर, प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिक २७ मा टिकटकमा प्रतिबन्ध लगाएको थियो । टीकटक बन्द गर्दा अभिव्यक्ति स्वतन्त्रता गुमेको मेसो नपाएका प्रचण्डले फेसबुक बन्द हुँदा भने अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन देखेको भन्दै टिप्पणी भएको छ ।