जिल्ला प्रशासनले बाटो खुलाउँदा पनि नाडाले किन स्थगित गर्‍यो विशेष साधारणसभा ?

63
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बाटो खुलाउँदा पनि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो विशेष वार्षिक साधारणसभा स्थगित गरेको छ । भदौ १९ गते बसेको नाडाको २२ औं केन्द्रीय कार्य समितिको बैठकले आउँदो भदौ २४ गते ललितपुरमा हुने भनिएको विशेष साधारण सभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतिले जारी गरेको सूचना अनुसार उपयुक्त समयमा अर्को सूचनामार्फत् विशेष साधारण सभा बोलाइने जनाइएको छ । नाडाले आफ्नो १७औं संस्करणको ‘नाडा अटो शो–२०२५’ समापन गर्दै संस्थालाई महासंघमा रूपान्तरण गर्ने बताएको थियो । भदौ ३ देखि ८ गतेसम्म छ दिन चलेको अटो शोको समापनकै दिन नाडा केन्द्रीय कार्यसमितिको २१औं बैठकले संस्थालाई महासंघमा रुपान्तरण गर्ने घोषणा गरेको थियो ।

उक्त बैठकले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई नाडा अटोमोबाइल्स महासंघ नेपाल (फेडेरेसन अफ नाडा अटोमोबाइल्स नेपाल)मा रूपान्तरण गर्ने विषय अघि सार्दै भदौ २४ गते विशेष साधारण सभा गर्ने तय गरेको थियो । तर, यसअघि नाडामा देखिएका विवाद समाधान नहुँदै विशेष साधारण सभा बोलाउन लागिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा भदौ १६ गते उजुरी परेको थियो ।

उक्त उजुरीपश्चात् जिल्ला प्रशासन कार्यालयले तत्काललाई विशेष साधारणसभाको कामकारबाही अगाडि नबढाउन निर्देशन दिएको थियो । साथै, एक साता भित्र विशेष साधारणसभा बोलाउनुका कारणसहित उपस्थित हुन जिल्ला प्रशासनले नाडालाई पत्र लेखेको थियो ।

यसपछि, नाडाले भदौ १९ मा छलफल गरी विशेष साधारणसभा बोलाउने बाटो खोलिदिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बिहीबार छलफल गरी साधारणसभाको बाटो खोलिदिएको जानकारी दिए ।

‘उजुरीका विषयमा नाडासँग छलफल भएको छ । उक्त, छलफपछि नाडाले विशेष साधारणसभा गर्न सक्ने बाटो खुला गर्ने काम जिल्ला प्रशासन कार्यालयबाट भएको छ,’ रिजालले भने, ‘विशेष साधारणसभा गर्न बाटो खोल्नेक्रममा कुनै सर्त राखिएको छैन, जसअनुसार कार्यसमितिको बहुमतको निर्णयअनुसार काम गर्न सक्छन् ।’

नाडा महासंघमा रुपान्तरण हुने घोषणा गरेसँगै नाडा अध्यक्ष करण चौधरीविरुद्ध आफ्नै कार्यसमितिका सदस्यहरुले गभ्मीर आरोप लगाउँदै जिल्ला प्रशासनमा उजुरी हालेका थिए ।

निवर्तमान अध्यक्ष ध्रुब थापासहित वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष निराकार श्रेष्ठ, कार्यसमितित सदस्यहरु सुनिल रिजाल, यमुना श्रेष्ठ, सञ्जय खेतान, प्रदिपमान प्रधान, सोहन श्रेष्ठ र सौरभ थापाले अध्यक्ष करण चौधरीले गैरकानूनी तरिकाले साधारणसभा बोलाएको र संस्थालाई ‘प्रालि’ जसरी चलाएको आरोप लगाएका हुन् ।

५० वर्षको गौरवमय इतिहास बोकेको नाडालाई अध्यक्ष चौधरी लगायत केही व्यक्तिले आफ्नो निजी ‘प्रा.लि. कम्पनी’मा जस्तो मनलाग्दो निर्णय गर्दै जथाभावी तरिकाले अघि बढेको आरोप चौधरीमाथि लागेको छ ।

अध्यक्ष चौधरीले कार्यसमितिमा छलफलै नगरी नाडालाई महासंघ बनाउने भन्दै भदौ २४ गतेका लागि विशेष साधारणसभा बोलाएको आरोप उजुरीकर्ताले लगाएका थिए ।