रुससँग तेल किनेर भारतमा ब्राह्मणहरूले पैसा कमाइरहेको ट्रम्पका सल्लाहकारको दाबी

1.1k
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले रुसबाट तेल किनेर भारतका ब्राह्मण अभिजातहरू धनी बनिरहेको दाबी गरेका छन् ।

फक्स न्युजमा शुक्रवार अन्तर्वार्ता दिँदै उनले यस्तो अनौठो टिप्पणी गरेका हुन् । भारतले रुसी तेल किनिरहेकाले राष्ट्रपति ट्रम्पले भारतीय वस्तुको आयातमा ५० प्रतिशत भन्सार शुल्क लगाएको कुरालाई प्रतिरक्षा गर्न नभारोले निरन्तर प्रयास गर्दै आएका छन् ।

भारतमाथि लगाइएको आयातकर भ्लादिमिर पुटिनको घाँटी निमोठ्न पर्याप्त छ कि छैन भनी पत्रकारले सोधेको प्रश्नमा नभारोले भने, ‘प्रधानमन्त्री मोदी महान् नेता हुन् तर उनी किन पुटिन र सी चिनपिङसँग घुलमिल गरिरहेका छन्, म बुझ्दिनँ । त्यसैले म भारतीय जनतालाई भन्छु, कृपया यहाँ के भइरहेको हो बुझ्नुस् । भारतीय जनतालाई मारमा पार्दे ब्राह्मणहरूले नाफा कमाइरहेका छन् । हामीले त्यसलाई रोक्नुपर्छ ।’

भारत अहिले क्रेमलिनको सम्पत्ति शुद्धीकरणको साधन बनेको भनी उनले बताए । रुसका तेल प्रशोधकहरू भारतका ठूला कम्पनीसँग मिल्न गएको उनले दाबी गरे ।

‘पुटिनले मोदीलाई कच्चा तेलमा छुट दिएका छन् । भारतीयहरू त्यसलाई प्रशोधन गरेर युरोप, एसिया र अफ्रिकामा राम्रो नाफा सहित बेच्छन् । यसरी उनीहरू टन्न पैसा काउँछन् । अब त्यसमा के गलत छ त भन्नुहोला । वास्तवमा यसले रुसको युद्ध गर्ने क्षमता बढाउँछ । भारत क्रेमलिनको शुद्धीकरण साधन हो । त्यसले युक्रेनीहरूलाई मारिरहेको छ । हामी अमेरिकी करदाताले युक्रेनीहरूलाई प्रतिरक्षाका लागि थप पैसा पठाइरहनुपरेको छ,’ उनले थपे ।