भारतमा महँगिदर घट्दा नेपालमा पनि घट्यो, वार्षिक बिन्दुगत महँगिदर २.२ प्रतिशत, औसत ४.०६ प्रतिशत


काठमाडौं । भारतमा घटेको महँगिदरको प्रभाव नेपालमा देखिएको छ । भारतमा महँगिदर घटेसँगै नेपालमा पनि घटेर २ प्रतिशतको नजिक झरेको छ । गत असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.२० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०८१ असारको तुलनामा २०८२ मा नेपालमा उपभोक्ता मूल्य सूचकांक २.२० प्रतिशतले मात्र बढेको हो । जबकी २०८० असारको तुलनामा २०८१ असारमा यस्तो महँगिदर ३.५७ प्रतिशत थियो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बढेको महँगिका कारण गत आर्थिक वर्षको औसत मुद्रास्फीति भने वार्षिक बिन्दुगतको तुलनामा उच्च छ । आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । वार्षिक औसत मुद्रास्फीति पनि अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा घटेको हो । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ५.४४ प्रतिशत थियो भने आर्थिक वर्ष २०७९/८० मा अझै माथि ७.७४ प्रतिशत थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, घ्यू तथा तेल, दाल तथा गेडागुडी र खाद्य तथा खाद्यजन्य पदार्थको उप–समूहमा मूल्यवृद्धि उच्च देखिएको छ । तरकारी उप–समूहमा मूल्यवृद्धि १०.७१ प्रतिशत, घ्यू तथा तेलमा ८.७२ प्रतिशत, दाल तथा गेडागुडीमा ७.९० प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थमा ६.१३ प्रतिशत रहेको छ ।
मरमसला उप–समूहको मूल्य सूचकांक २.६२ प्रतिशतले घटेको छ भने माछा तथा मासुमा ०.३४ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उप–समूहमा मूल्यवृद्धि ९.३९ प्रतिशत, कपडाजन्य तथा जुत्ता–चप्पलमा ६.०९ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ५.६५ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणमा ४.७८ प्रतिशत र सुर्तीजन्य पदार्थमा ४.३७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.६९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति ६.४७ प्रतिशत थियो ।

२०८२ असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति भने ऋणात्मक १.१९ प्रतिशत रहेको छ । २०८१ असार महिनामा उक्त समूहको मुद्रास्फीति ४.०४ प्रतिशत थियो ।

आर्थिक वर्ष २०८१/८२ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.७१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति ४.६४ प्रतिशत थियो । तर, २०८२ असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१२ प्रतिशत रहेको छ । २०८१ असार महिनामा उक्त समूहको मुद्रास्फीति ३.२६ प्रतिशत थियो ।

प्रदेश र क्षेत्रगत अवस्था

आर्थिक वर्ष २०८१/८२ मा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति सबैभन्दा कम ३.७७ प्रतिशत रहेको छ । हिमालमा सबैभन्दा बढी ४.८९ प्रतिशत, तराईमा ४.१४ प्रतिशत र पहाडमा ३.८६ प्रतिशत रहेको छ ।

२०८२ असार महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.३२ प्रतिशत, तराईको १.८५ प्रतिशत, पहाडको २.१९ प्रतिशत र हिमालको ३.७५ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षमा ग्रामीण क्षेत्रमा वार्षिक औसत उपभोक्ता मूल्य सूचकांक ४.४० प्रतिशतले र सहरी क्षेत्रमा ३.९४ प्रतिशतले बढेको छ । २०८२ असार महिनामा ग्रामीण क्षेत्रमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २.४० प्रतिशतले र सहरी क्षेत्रमा २.१४ प्रतिशतले बढेको छ ।

प्रदेशगत रुपमा सबैभन्दा कम महँगि कर्णाली प्रदेशमा देखिएको छ भने कोशी र सुदूरपश्चिममा उच्च महँगि छ । कोशी प्रदेशको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४६ प्रतिशत, मधेश प्रदेशको ४.१४ प्रतिशत, बागमती प्रदेशको ३.५७ प्रतिशत, गण्डकी प्रदेशको ३.३२ प्रतिशत, लुम्बिनी प्रदेशको ३.७० प्रतिशत, कर्णाली प्रदेशको ३.३१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.०२ प्रतिशत रहेको छ ।

२०८२ असार महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६७ प्रतिशत, मधेश प्रदेशको १.९९ प्रतिशत, बागमती प्रदेशको १.८१ प्रतिशत, गण्डकी प्रदेशको १.७१ प्रतिशत, लुम्बिनी प्रदेशको १.७८ प्रतिशत, कर्णाली प्रदेशको १.८६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको २.७४ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत थोक मुद्रास्फीति ३.८४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति ३.९२ प्रतिशत थियो । २०८२ असार महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १.०५ प्रतिशत मात्र रहेको छ । २०८१ असार महिनामा यस्तो मुद्रास्फीति ४.४१ प्रतिशत थियो ।

आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत तलब तथा ज्यालादर सूचकांक २.८५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो सूचकांक ५.०३ प्रतिशतले वृद्धि भएको थियो ।