ऋणैऋणमा होटल बाराहीः हाउजिङको सेयर बेचेर पुरानो घाटा टाल्दै, कर्जा थपेर सम्पत्ति जोड्दै


काठमाडौं । बाराही होटल यतिबेला चुर्लुम्म ऋणमा परेको छ । पोखरा र काठमाडौंमा चारतारे होटल चलाइरहेको बाराही होटल ४ वर्षदेखि ऋण होइन, ब्याजमात्र तिरेर बसेको छ ।

हाल होटलले विभिन्न बैंकबाट करिब १ अर्ब ४० करोड रुपैयाँ कर्जा लिएको छ । यस्तो कर्जा होटलको इक्विटीको १८ गुणा र सञ्चालन नाफाको ५ गुणा बढी हो ।

२ वर्षअघि काठमाडौंमा होटल सञ्चालन सुरु गर्दा तथा भर्खरै दुवै होटलमा कोठा संख्या थप गर्दा बैंकको कर्जा झनै बढेको हो । अझै पनि बाराही होटलको सञ्चित घाटा चुक्तापुँजीको ७७ प्रतिशत छ । यसरी अथाह ऋण र सञ्चित घाटाका माझ होटलको अकुपेन्सी र सञ्चालन आम्दानी नियाल्नुपर्ने परिसूचक बनेको क्रेडिट रेटिङ एजेन्सी इक्राले जनाएको छ ।

यसो त कम्पनीले बाराही हाउजिङ एन्ड लिजिङ कम्पनीमा आफ्नो स्वामित्व ७० प्रतिशतबाट घटाएर १० प्रतिशतमा सिमित गरेको छ । सेयर बेच्दा कम्पनीको नोक्सानी स्थितिमा केही सुधार भने आएको छ ।

तर, बाराही अझै ऋण थप्ने सुरमा छ । हाल ९४ करोड रुपैयाँ बराबरको दीर्घकालीन कर्जाका लागि मात्र रेटिङ गराएको कम्पनीले रेटिङ रकम बढाएर १ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ ।

यसो त कम्पनीको आम्दानी निकै बढेको छ । गत आर्थिक वर्षमै कम्पनीले ६५ करोड रुपैयाँको व्यापार गरेको छ । सन् २०२४ मा ५३ करोड ८० लाख रुपैयाँ व्यापार गरेको कम्पनीले सन् २०२३ मा २२ करोड ९० लाख, सन् २०२२ मा ११ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा १ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

आम्दानीसँगै कम्पनीको नाफा मार्जिनमा पनि सुधार आएको छ । गत आव नाफा मार्जिन अर्थात् सञ्चालन नाफा ४३ प्रतिशत पुगेको छ । अघिल्लो आव यस्तो मार्जिन ३७ प्रतिशत थियो ।

तर, आम्दानी र नाफाको मार्जिन राम्रो रहेतापनि डेब्ट सर्भिस कभरेज रेसियो भने निकै कमजोर छ । सामान्यतयाः २ भन्दा बढी डीएससीआरलाई राम्रो मानिन्छ । तर, बाराही होटलको १.६ मात्र छ । त्यो पनि सन् २०२२ को ०.४ बाट बर्सेनी सुधारिएर यो स्थितिमा पुगेको हो ।

अर्कातिर कुल कर्जा सञ्चालन नाफाको ४ गुणासम्ममात्र राम्रो मानिनेमा बाराहीको ५ पुग्नुले पनि कम्पनी ऋणले थलिएको छ भन्ने अनुमान लगाउन सकिन्छ ।

ऋणका कारण संकटमा रहे तापनि होटलको केही सूचक भने सन्तोषजनक छन् । गत आर्थिक वर्षमा होटलको अकुपेन्सी रेट सन्तोषजनक रहेको छ ।

सन् २०२४ मा अकुपेन्सी ७८ प्रतिशत रहेकोमा सन् २०२५ मा खम्चिएर ७४ प्रतिशतमा झरेको छ । तर, कोठाको मूल्य बढाएकाले आम्दानी बढेको देखिन्छ । होटलका अनुसार सन् २०२४ मा कोठाको मूल्य २१ प्रतिशतले बढाएकामा सन् २०२५ मा २५ प्रतिशतले बढाएको छ । जसले गर्दा सन् २०२४५ मा आम्दानी ३१ प्रतिशतले बढेको हो ।

होटलको फुड एन्ड बेभरेजबाट हुने आम्दानी पनि सन्तोषजनक छ । जसमा ४८ प्रतिशत आम्दानी कोठा बिक्रीबाट हुन्छ भने बाँकी फुड एन्ड बेभरेजबाट हुन्छ ।

सन् १९९२ मा स्थापना भएको बाराही होटलले देशमा दुई वटा चारतारे होटल सञ्चालन गर्दै आएको छ । पोखराको लेकसाइडमा १०२ कोठाको र काठमाडौंको ठमेलमा आधुनिक सुविधासहित १०० कोठाको होटल सञ्चालन गरिरहेको छ ।

कम्पनीले पोखरामा आफ्नै जग्गामा होटल चलाइरहेको छ भने काठमाडौंमा होटल भएको जग्गा बाराही हाउजिङ एन्ड लिजिङको नाममा छ । सो कम्पनीमा होटलको १० प्रतिशत हिस्सा बाँकी छ । ठमेलमा सञ्चालनमा रहेको होटलको भुईं तल्ला र पहिलो तल्लामा क्यासिनो, ब्यूटी स्टोर, क्याफे र ट्राभल डेस्क रहेको छ ।

पोखराका हरिप्रसाद पौडेल र उनका परिवारको स्वामित्वमा रहेको होटललाई पौडेल परिवारको ५ दशक लामो होटल अनुभवको साथ छ । हरि आफैं ४ दशकदेखि पर्यटन र होटल क्षेत्रमा कार्यरत छन् । पौडेल परिवारले काठमाडौं र पोखरामा मात्रै नभएर चितवनमा पनि बाराही ब्रान्डमा होटल चलाइरहेको छ ।

बाराही होटलमा हरिसँगै उनको छोराहरु विप्लप र वैभव पौडेल तथा छोरी बसन्तीदेवीको पौडेलको स्वामित्व छ ।

बाराही ग्रुप ४० वर्षअघि पोखरामा १० कोठाको प्याराडाइज गेस्ट हाउस सञ्चालन गर्दै स्थापना भएको हो ।

पोखराको लेकसाइडमा बाराही हस्पिटालिटीका संस्थापक हरिप्रसाद पौडेलले १० कोठासहित प्याराडाइज गेस्ट हाउस सुरू गरेका थिए । सोही होटलमा पछि सुविधा थप गरी सन् १९८३ मा होटल बाराही नामकरण गरिएको हो ।

हाल पौडेलका छोराहरु विप्लव र वैभवले बाराही ग्रुप अगाडि बढाउँदै आएका छन् । बाराही हस्पिटालिटीअन्तर्गतका चितवनको बाराही जंगल लज, पोखराको होटल बाराही, सराङकोट माउन्टेन लज, आवास पोखरा र बाराही काठमाडौँ सञ्चालनमा छन् ।

यस्तै, ग्रुपले पोखरामा व्यञ्जन रेस्टुरेन्ट र द बिच बार एन्ड लज समेत सञ्चालनमा ल्याएको छ ।

यता होटल बाराही काठमाडौंको स्तरोन्नती गरेर पाँचतारे स्तरको बनाउने तयारी पौडेल परिवारको छ । काठमाडौंको केशरमहलमा ६७ कोठामा सञ्चालन भएको होटल १०० कोठाको बनिसकेको छ । र, पाँचतारे स्तरमा वर्गीकरण गर्ने उद्देश्यले होटलले क्षमता थप बढाउन लागेको छ ।

होटलको स्तरोन्नतीका लागि अरु साढे २ अर्ब रुपैयाँ खर्च गर्दैछ । होटल स्तरोन्नती गरी सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्यांकन प्रतिवदेन पनि बनाइएको छ ।

होटलको नयाँ भवनको पहिलो र दोस्रो तला हलको रुपमा सञ्चालन गर्ने छ । पहिलो तलामा रिक्रियसनल सेन्टरसहितको हल, दोस्रो तलामा २२ कोठा, छैटौं तलामा ६ वटा कोठा, आठौं तलामा ६ वटा कोठासहित कुल १०१ कोठा हुनेछ ।

बाराही काठमाडौंले २०७८ मा २३ सय ४३ जनालाई, २०७९ मा ५ हजार ९१ जनालाई र २०८० मा ६ हजार ९३५ पर्यटकलाई सेवा दिएको छ । यो होटलमा सेवा लिने पर्यटकमा नेपाली २१ प्रतिशत, भारतीय ४७ प्रतिशत र अन्य ३२ प्रतिशत हुने गरेका छन् ।