आईपीओ जारी गर्न लागेको होटल सारथीको व्यापार ६१% ले बढ्यो, कतिको गर्‍यो कारोबार ?

2.7k
Shares

काठमाडौं । धुलिखेलस्थित होटल सारथीको व्यापार ६१ प्रतिशतले बढेको छ । होटलको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा ६१ प्रतिशतले बढेको हो ।

सन् २०२३ मा ६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको होटलले सन् २०२४ मा १० करोड ६० लाख र २०२२ मा ५ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् २०२० देखि सन् २०२४ सम्ममा समग्र ४५ प्रतिशतले व्यापार बढेको होटलले जनाएको छ ।

सन् २०१४ मा स्थापना भएको होटल २.९३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । ७५ वटा कोठाको सुविधासहित होटल सारथी नाममा सञ्चालन भइरहेको होटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६० करोड रुपैयाँको रेटिङ गराएको छ । होटलले दीर्घकालीन कर्जाका लागि ५९ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ करोड रुपैयाँको रेटिङ गराएको हो ।

सन् २०१९ देखि २० वटा कोठाको सुविधासहित सञ्चालनमा आएको होटललाई विस्तार गरी गत आवको अन्त्यबाट ७५ कोठाको बनाइएको छ । जसमा ४ वटा कोठा स्पाका लागि रहेको छ भने एउटा कोठा प्रेसिडेन्सियल सुइट रहेको छ ।

कम्पनीले होटलको विस्तार गरेसँगै गत आवको ११ महिनाको अवधिमा ४४ प्रतिशतले अकुपेन्सी अनुपात घटेको उल्लेख गरेको छ । सन् २०२४ मा अकुपेन्सी अनुपात ४६ प्रतिशतले घटेको थियो ।

कम्पनीले सन् २०२४ मा ९.४० प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२३ मा ९.१७ प्रतिशतले खुद नाफा कमाएको थियो ।

होटल सारथीले आईपीओ ल्याउने तयारीसमेत गरेको छ । होटलले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर जारी गर्ने भएको छ । आईपीओ जारी गर्नका लागि होटलले सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

प्रह्लाद प्याकुरेल अध्यक्ष रहेको कम्पनीमा ध्रुव शर्मा प्रबन्धक छन् ।