आइएमई मोटर्सको प्रोफिट मार्जिन अहिलेसम्मकै उच्च, बिजेनस ३ वर्षअघिको स्थितिमा फर्कियो

623
Shares

काठमाडौं । आइएमई मोटर्सले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा सवा २ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा अघिल्लो आर्थिक वर्षको भन्दा बढी व्यापार गर्ने संकेत देखाएको छ ।

व्यवसायी चन्द्रप्रसाद ढकालको यो कम्पनीले यस अवधिमा २ अर्ब २१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको आधारमा वर्षभर करिब ३ अर्ब रुपैयाँको बिजनेस गर्ने आँकलन गर्न सकिन्छ ।

कम्पनीले सन् २०२४ मा २ अर्ब ३४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै,सन् २०२३ मा १ अर्ब ७५ करोड १० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब १४ करोड रुपैयाँ, सन् २०२१ मा २ अर्ब ३७ करोड १० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब ८३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार विस्तारै लयमा फर्कंदै आएको छ । सन् २०२३ मा व्यापार धेरै घटेको थियो । हाल अशोक लेल्यान्डको सवारी साधनको उच्च माग रहेको छ । कम्पनीको बस र इन्टरमेडियट कमर्सियल भेइकलको कारोबारले व्यापार बढेको देखिन्छ ।

आईएमई ग्रुपको यो कम्पनी सन् २०१० मा एलटी इन्टरप्राइजेजको नाममा स्थापना भएको हो । सन् २०१५ देखि कम्पनीले हिन्दुजा ग्रुपको कमर्सियल गाडी निर्माता अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता बन्यो । कम्पनीको नामा २०१७ देखि आईएमई मोटर्स बनेको हो ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब २५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब १२ करोड ९० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब १२ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ ।

आईएमई मोटर्सको व्यापारसँगै गत आवमा नाफा मार्जिन पनि सुधारिएको छ । कम्पनीको ९ महिनाको सञ्चालन नाफा १०.८ प्रतिशत छ । यस्तो मार्जिन अशोक लेल्यान्ड बेच्न थालेयताकै उच्च हो । रेटिङ एजेन्सी इक्राका अनुसार कम्पनीको कुल ऋण सञ्चालन नाफाको ८.३ गुणा छ । जसअनुसार आईएमई मोटर्सले साढे २ अर्बको हाराहारीमा कर्जा लिएको देखिन्छ ।

इक्राका अनुसार आईएमई मोटर्सले कर्जा क्षमताको १४४ प्रतिशत कर्जा लिएको छ, जुन अघिल्लो वर्षको १९३ भन्दा घटाएको हो । यसैगरी चालु पुँजी कर्जा कुल व्यापारको ७७ प्रतिशतमा सिमित गर्न कम्पनी सफल भएको छ जुन एक वर्ष अघि १५५ प्रतिशत थियो ।

सन् २०२४ र २०२५ को सुधारोन्मुख स्थितिसँगै कम्पनीको वित्तीय र तरलता दबाब कम भएको बताइएको छ । कम्पनीको उधारो अवधि पनि ३६५ दिनबाट २२९ दिनमा घटेको छ ।

Skip This