आयल निगमका कर्मचारीले हाकिमलाई भनेः दैलेखमा हामी ग्यास निकालौं, रणनीतिक साझेदार भित्र्याऔं

2.5k
Shares

काठमाडौं । दैलेखमा भेटिएको मिथेन ग्याँसको व्यवसायिक उत्पादनको स्वामित्व लिन नेपाल आयल निगमलाई आग्रह गरिएको छ ।

नेपाल आयल निगमअन्तर्गतको निगम स्वतन्त्र कर्मचारी युनियनले निगमका कार्यकारी निर्देशक चण्डिका भट्टलाई मंगलबार ७ बुँदे ज्ञापन पत्र बुझाउँदै दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा पेट्रोलियम पदार्थ उत्खननको क्रममा पाइएको मिथेन ग्यासको व्यवसायिक उत्पादनको स्वामित्व ग्रहण गर्न आग्रह गरेका हुन् ।

युनियनका अध्यक्ष विकाश बखतीको नेतृत्वमा कर्मचारी टोलीले कार्यकारी निर्देशक भट्टलाई ज्ञापन पत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् ।

पेट्रोलियम अन्वेषण कार्य सम्पन्न भएर प्रारम्भिक अध्ययन प्रतिबेदन सरकारलाई बुझाई सकिएको छ । उक्त प्रारम्भिक प्रतिवेदनअनुसार दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास भण्डारण रहेको पुष्टि भएको र त्यस क्षेत्रमा कुल ४३० अर्ब घनमिटर ग्यास भण्डारण हुने प्रक्षेपण गरिएको छ ।

प्रारम्भिक प्रतिवेदनअनुसार यो परिमाणमा रहेको ग्यासबाट नेपालको आवश्यकतालाई कम्तिमा ५० वर्षसम्म पुरा गर्न सकिने औंल्याइएको छ । नेपालमा खाना पकाउन तथा केही औद्योगिक प्रयोजनका लागि आवश्यक एलपी ग्यास पूर्ण रुपमा निगम मार्फत भारतबाट आयात हुँदै आएको छ ।

यसका लागि वार्षिक अर्बौं रकम नेपालबाट बाहिरिने गरेको र यसले गर्दा वैदेशिक व्यापार घाटामा ठूलो भूमिका खेल्दै आएको छ । एलपी ग्यासमा निगमले वार्षिक रुपमा अर्बौं रकमबराबरको घाटासमेत व्यहोर्दै आएको अवस्थामा दैलेखमा पाइएको मिथेन ग्यासको व्यावसायिक उत्पादनको स्वामित्व ग्रहण गर्न निगम व्यवस्थापनलाई आग्रह गरिएको हो ।

निगम स्वतन्त्र कर्मचारी युनियनले निगमको उद्देश्यमा सम्भाव्य तेल खानी र ग्याँस उत्खनन, अन्वेषण गराउने उद्योग स्थापना गर्ने भन्ने विषय समावेश गरिएकाले निगमको एकल स्वामित्वमा वा निगमले रणनीतिक साझेदारसहितको कम्पनी स्थापना गरी ग्यास उत्खनन तथा व्यवसायिक कारोबार गर्न सकिने सुझाव दिएको छ ।

युनियनले दैलेखमा पाइएको मिथेन ग्यास उत्खनन र व्यवसायिकरणको लागि पूर्ण सरकारी स्वामित्वको निगम उपयुक्त हुने सुझाव दिँदै यो विषयमा सरकारसँग पहल गरी निगमबाटै ग्यास उत्खनन र बजारीकरणको व्यवस्था सुनिश्चित गर्न माग गरेको छ ।

यस्तै निगमको स्वामित्वमा स्वदेशी लगानी र प्राविधिक तथा आवश्यकताअनुसार रणनीतिक साझेदार वा निगमकै सहायक कम्पनीमार्फत ग्यास उत्खनन र बजारीकरण सुनिश्चित गर्न पहल गर्न युनियनले माग गरेको छ ।

मिथेन ग्यासको प्रयोगका क्षेत्रहरु पहिचान गरी सोहिअनुसार बजार रणनीति तय गर्नका लागि अध्ययन गर्न तत्काल समिति गठन गरी कार्य अघि बढाउनुपर्ने, निगमको स्वामित्व सुनिश्चित गरी निगममा कार्यरत प्राविधिक जनशक्ति, पूर्वाधार तथा अनुभवको उपयोग गरी ग्यासको उत्खनन र प्रशोधन गरी बजारीकरण गर्न चरणवद्ध कार्ययोजना तयार गर्ने बिषयमा आवश्यक निर्णय गरी प्रक्रिया अघि बढाउन युनियनले माग गरेको छ ।

त्यस्तै प्राकृतिक मिथेन ग्याँस उत्खनन, प्रशोधन गरी बजारीकरणका लागि पूर्व आवश्यक समग्र प्राविधिक, वित्तीय, कानूनी तथा व्यवसायिक सम्भाव्यता अध्ययन का लागि निगमले तत्कालै प्रक्रिया अघि बढाउनुपर्ने, प्राकृतिक मिथेन ग्यासलाई स्वच्छ उर्जाको पहलको प्रमुख आधार स्तम्भको रुपमा अघि बढाउन र निगमको स्वतन्त्र सहायक कम्पनी वा रणनैतिक साझेदारसहितको निगमको स्वामित्वमा सहायक कम्पनी स्थापना गर्न मिथेन ग्यास उत्पादन, प्रशोधन, ढुवानी र बिक्री बितरण गर्ने संरचना तयार गर्ने बिषयमा आवश्यक प्रक्रिया बढाउन युनियनले निगमसँग माग गरेको छ ।