
काठमाडौं । अमुदी फुड्सले आईपीओ जारी गर्ने भएको छ । यूएनमी चिज रिङ्गस्, चिज बल जस्ता स्न्याक्स उत्पादन गर्ने कम्पनीले प्रतिसेयर अंकित मुल्य एक सय रुपैयाँ दरको २० लाख कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्ने भएको हो ।
आईपीओ निष्काशनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा अमुदी फुड्सको को तर्फबाट अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
कम्पनीकोे कर्पोरेट अफिस काठमाडौं महानगरपालिका वडा नं. ३२ कोटेश्वरमा छ भने चितवनको भरतपुर नपा वडा नं. १२, गोन्द्राङमा फुड्स उत्पादन गर्ने उद्योग रहेको छ । यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यवसायी, उद्योगी, शिक्षाविद तथा ख्यातीप्राप्त व्यक्तित्वहरुको लगानी रहेको कम्पनीले जानकारी दिएको छ ।
अमुदी फुड्सले यूएनमी ब्रान्डका गुणस्तरीय स्न्याक्स उत्पादन गर्दै आएको छ । यूएनमीका उत्पादन बजारमा लोकप्रिय रहँदै आएको छ भने अब नुडल्स उत्पादनलाई पनि रणनीतिक रुपमा अघि सारेको छ । उद्योगबाट उत्पादित प्रोडक्टले स्वदेश तथा विदेशमा नेपाली स्वादको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ । यस उद्योगको क्षमता अभिवृद्धि गरी नुडल्स उत्पादन मार्फत बजार विस्तार, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय बजारमा एक प्रतिष्पर्धी ब्रान्डको रुपमा स्थापित गर्ने योजना छ ।










प्रतिक्रिया