रविलाई थुनामै राख्न अदालतको आदेश

1.9k
Shares

बुटवल । जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी गरेको छ ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनामुक्ति माग सम्बन्धी निवेदन परेको थियो । सोमबारको पेसी न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा परेको थियो ।

सरकारी पक्षबाट उच्च सरकारी कार्यालयका सहन्यायाधीवक्ता सोमाकान्त भण्डारी, जिल्ला न्यायाधीवक्ता प्रेम पौडेल, सहायक जिल्ला न्यायाधीवक्ता हिरालाल भोलन र दामोदर गौतमले बहस गरेका थिए । लामिछाने पक्षबाट भने नारायणदत्त पौडेल, पशुपति भण्डारी र महेन्द्र पाण्डेले बहस प्रस्तुत गरेका थिए ।

लामिछानेले आफ्ना नाममा परेको ठगी रकम बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै साउन १९ गते जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए । सो दिनै उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत दाखिला गरेका थिए ।

गत चैत २२ गते बुटवलस्थित उच्च अदालत तुलसीपुर इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो, जसलाई सर्वोच्च अदालतले पनि सदर गरेको छ । चैत २२ गते काठमाडौंबाट पक्राउ परेका उनी त्यसयता जिल्ला कारागार भैरहवामा छन् ।