
काठमाडौं । ट्राभल, टुर कम्पनीले विदेश भ्रमणमा जाने नेपालीका लागि होटल बुकिङ गरेको भुक्तानीको लागि सिधै वाणिज्य बैंकबाट विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभगाले विदेशी विनिमयको कारोबार गर्ने संस्थाहरुको लागि जारी गरेको एकीकृत निर्देशन संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
‘विदेशी विनिमय कारोबार गर्ने ट्राभल, टूर लगायतका संस्थाले विदेश (भारत बाहेक) भ्रमणमा जाने नेपालीलाई आवश्यक पर्ने होटलको लागि सम्बन्धित विदेशी सेवा प्रदायक वा त्यस्तो सेवाको प्रबन्ध गर्ने विदेशी संस्थासँग सम्झौता गरी सेवा प्रदान गर्न सक्नेछ,’ संशोधित निर्देशनमा भनिएको छ ।
यसरी विदेशी सेवा प्रदायकसाँग सम्झौत गरी होटल बुक गरेको भुक्तानीका लागि वाणिज्य बैंकबाट ट्राभल, टुर कम्पनीले विदेशी मुद्रा सटही सुविधा पाउने भएका हुन् ।
यसअघि वैदेशिक भ्रमणमा जाने नेपालीले पासपोर्टमा छाप लगाएर एक पटकमा २५ सय अमेरिकी डलर बराबरको परिवत्र्य विदेशी मुद्रामा सटही सुविधा पाउँदै आएका थिए । सोही मुद्राबाट नै भ्रमणमा जानेले होटल बुक र ट्राभल प्याकेज लगायत वैदेशीक भ्रमणमा लाग्ने खर्च व्यवस्थापन गर्नुपर्ने थियो । तर, अब भने ट्राभल, टुरमार्फत होटल बुकिङ गर्दा ट्राभलले नै विदेशी सेवा प्रदायकलाई भुक्तानी गर्न सटही सुविधा पाउने छन्। विगतमा ट्राभल टुर कम्पनीले यसरी होटल बुकिङको सटही सुविधा नपाउने गरेको एसोसिएसन अफ नेपाल ट्राभल एण्ड टुर एजेन्टसका वरिष्ठ उपाध्यक्ष जिस्वान तुलधार बताउँछिन् ।
कतिपय नेपालीहरुले विदेश भ्रमणमा जाँदा २५०० डलरले नपुग्ने अवस्था पनि हुने गरेको र ट्राभलमार्फत होटल बुकिङ गर्दा पनि सटही गरेर भ्रमणमा जानेले नै भुक्तानी गर्नुपर्ने अवस्था रहेकोमा ट्राभल, टुर कम्पनीमार्फत नै भुक्तानी गर्नेगरी सटह सुविधा उपलब्ध गराउन माग गरिरहेकोमा राष्ट्र बैंकले सम्बोधन गरेको उनले बताइन् ।
यस्तो सेवाबापत विदेशी संस्थालाई भुक्तानी गर्नु पर्ने रकमको लागि आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधाको लागि राष्ट्र बैंकले शर्त तोकेको छ ।
राष्ट्र बैंकले तोकेको शर्त
– नेपाली संस्थाको निवेदन,
– नेपाली संस्थाको दर्ता सम्बन्धी कागजातको फोटोकपी
– नेपाली संस्थाको स्थायी लेखा नम्बर दर्ता सम्बन्धी कागजातको फोटोकपी
– नेपाली संस्थालाई नेपाल राष्ट्र बैंकबाट प्रदान भएको विदेशी विनिमय कारोबार इजाजतपत्रको फोटोकपी
– भुक्तानीमा नियमानुसार कर दाखिला भएको निस्सा,
– नेपाली संस्थाको सञ्चालक समिति वा अख्तियारप्राप्त अधिकारीबाट भुक्तानीको लागि भएको अनुरोध र प्रचलित सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहको पालना भएको/हुने, विदेशी विनिमय अपचलन नभएको/नहुने, प्रचलित अन्य सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहरुको पालना भएको/हुने र त्यस्तो पालना नभएमा सोको सम्पूर्ण जिम्मेवारी वहन गर्ने व्यहोरा उल्लिखित स्वःघोषणा
– विदेशी संस्थाले भुक्तानी अनुरोध गरेको व्यहोरा खुल्ने नोटरीबाट प्रमाणित बीलबिजक,
– विदेशी संस्थाको दर्ता सम्बन्धी नोटरीबाट प्रमाणित कागजात,
– नेपाली र विदेशी संस्थाबीच भएको सम्झौताको नोटरीबाट प्रमाणित प्रतिलिपि ।
यी ९ कागजात पूरा गरेपछि वाणिज्य बैंक्हरुले नै सटही सुविधा दिन सक्नेछन् । त्यसका लागि राष्ट्र बैंकको स्वीकृत चाहिने छनै ।







प्रतिक्रिया