वैदेशिक रोजगारीबाट फर्किएपछि धितालले ९ वर्ष लगाएर बनाएका थिए काठैकाठको रिसोर्ट, क्षणभरमै खरानी

3.1k
Shares

चितवन । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–११ स्थित बगैंचा एडभेन्चर रिसोर्टमा आज बिहान आगलागी भएको छ । आगो रिसोर्टको मुख्य हल र रिसेप्सन कक्षबाट सुरू भएको जनाइएको छ । आगलागीले रिसोर्टको प्रमुख संरचनालाई पूर्ण रूपमा क्षति पुर्‍याएको छ ।

लगभग पाँच सय जना अट्न सक्ने सो रिसोर्ट काठबाट निर्मित भएकाले आगो तीव्र गतिमा फैलिएको थियो ।

विद्युत सर्टका कारण आगो लागेको हुनसक्ने आशंका गरिएको छ । आगलागीपछि कावासोती नगरपालिका र भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीहरूको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको हो ।

‘र्‍याम्ड अर्थ’ प्रविधिबाट निर्माण गरिएको यो रिसोर्टका सञ्चालक सन्तोष धिताल हुन् । वैदेशिक रोजगारीबाट फर्किएपछि उनले झन्डै नौ वर्ष लगाएर रिसोर्ट निर्माण गरेका थिए ।

डेढ वर्षअघि मात्रै सञ्चालनमा आएको यो रिसोर्टमा टायल वा मार्बल प्रयोग नगरिएको, सम्पूर्ण संरचना काठबाट निर्माण गरिएको छ । होटलका म्यानेजर निरज गौतमका अनुसार काठैकाठले बनेका हलमा आगलागी भएको हो ।

क्षतिको विस्तृत विवरण संकलनको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

साढे दुई विघा क्षेत्रमा फैलिएको यो रिसोर्ट घना जंगल, तीन दशकभन्दा पुराना ९ सयभन्दा बढी रुख, चराचुरुंगी र हरियालीले भरिएको आकर्षक वातावरणमा अवस्थित छ । रिसोर्ट निर्माणमा २८ करोड रुपैयाँभन्दा बढी लगानी भएको जनाइएको छ ।

रिसोर्टमा टायल वा मार्बल प्रयोग गरिएको छैन । कोठाहरू गाँजाको तन्ना, सिस्नु–रुद्राक्षका पर्दा, बाँसको गेट, हस्तनिर्मित सजावट र रूखका खप्टाले सजिएका छन् । यहाँ प्रयोग हुने सागसब्जी र धानसमेत अर्गानिक रूपमा रिसोर्टकै फार्ममा उत्पादन गरिन्छ ।