
काठमाडौं । तीनकुनेमा भएको राजावादी आन्दोलनका मुख्य अभियुक्तका रूपमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंले कारागारबाटै एक भावुक अपिल सार्वजनिक गरेका छन् । उनको सचिवालयमार्फत सामाजिक सञ्जालमा सार्वजनिक गरिएको अपिलमा उनी भावुक हुँदै भन्छन्, ‘म बाहिरबाट कडा देखिए पनि भित्रबाट निकै संवेदनशील छु ।’
तीनकुने घटनामा आफूमाथि सुनियोजित रूपमा हमला भएको आरोप लगाउँदै प्रसाईंले आफ्नै गाडीमा अश्रुग्यास प्रहार भएसँगै आफूलाई सिध्याउने योजना रहेको अनुभूति भएको बताएका छन् । ‘गाडीमै अश्रुग्यास खस्यो, अगाडि गोली चल्यो । त्यहीबेला लाग्यो, मलाई आज सिध्याउने योजना रहेछ,’ प्रसाईंले लेखेका छन्, ‘मैले सवारी चालकलाई बाहिर निकालेर गाडी प्रहरीतर्फ हुइँक्याएको थिएँ, ताकि प्रहरीले मलाई तत्काल नियन्त्रणमा लियोस् भन्ने मेरो चाहना थियो ।’
आफू निकै भावुक भएको उल्लेख गर्दै उनले प्रेम आचार्यको आत्मदाहपछि ढोका थुनेर रोएको प्रसंग उल्लेख गरेका छन् । ‘प्रेमको सुसाइड नोट पढेपछि म ढोका थुनेर रोएको छु,’ उनी भन्छन्, ‘प्रेमको पीडादायी व्यावसायिक यात्रा पढ्दा आफ्नै दुःखका दिन सम्झिएँ । तर त्यसपछि आँसु बगाएर केही हुँदैन भन्ने अनुभूति भयो ।’
नातिको याद, छोरीको स्वागत गर्न नपाएको दुख
प्रसाईंले कारागारमा रहँदा नातिले आफूलाई धेरै सम्झिने गरेको र छोरी चिकित्सक बनेर फर्कंदा स्वागत गर्न नपाउने पीडा पनि पोखेका छन् । ‘नातिले फोटो हेरेर हजुरबा कहिले आउनुहुन्छ भनेर सोध्दो रहेछ,’ उनले लेखेका छन्, ‘कारागारमै बोलाएर नातिलाई खेलाउन मन लाग्छ, तर मन सम्हालिएला जस्तो लाग्दैन ।’
त्यस्तै, छोरी डाक्टर बनेर फर्कन लागेको तर आफू एयरपोर्टमा पुग्न नसक्ने अवस्थामा रहेको भन्दै आफूभित्रको बुबा पनलाई शब्दमा पोखेका छन् । ‘पिताप्रेम दर्शाउने चाहना रहरमै सीमित हुने भयो,’ उनले लेखेका छन् ।
प्रसाईंले राजसंस्थासहितको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’ आफूले भावुकतावश नभई गहिरो चिन्तनपछि थालेको स्पष्ट पारेका छन् । ‘म मरेरै भए पनि देश बनाउन चाहन्छु,’ उनले भनेका छन्, ‘२०४६ सालकै संविधानमा फर्केर राष्ट्रलाई फेरि मेरो प्यारो नेपाल बनाउने अभियानको संकल्प गरें ।’
उनले आफू राजनीतिको चाहनाविना राष्ट्रवादी आवाज उठाएको दाबी गर्दै लेखेका छन्, ‘म मेरो व्यापारमा रमाइरहेको थिएँ, अस्पताल र बिरामी सेवामा व्यस्त थिएँ । यो अभियान त देशका समस्याले धकेलेर सुरु गरेको हुँ ।’
प्रसाईंले सरकार र राज्य संयन्त्रले आफूलाई योजनाबद्ध रूपमा फसाएको आरोप लगाएका छन् । ‘सरकारले बर्दीधारी गुण्डा खटाएर शान्तिपूर्ण कार्यक्रमलाई बदनाम गर्ने प्रयास गर्यो,’ उनले लेखेका छन्, ‘मैले त तिनकुनेमा ‘शान्त रहनुहोस्’ मात्र भनेको थिएँ, त्यो कमजोरी हो त?’
उनले वर्तमान सत्ता संरचनालाई माफिया, तस्कर र दलालहरूको नियन्त्रणमा रहेको उल्लेख गर्दै भनेका छन्, ‘बैंक, अस्पताल, ब्रोकर, रेटिङ एजेन्सी, उद्योग सबै उनीहरूकै छन्, मैले झूट बोलेको थिएँ र?’
बैंकको ऋणबारे उठिरहेका प्रश्नको जवाफ दिँदै उनले सबै लोन आफ्ना सम्पत्ति धितोमा राखेर लिएको र बैंकको किस्ता नियमित रूपमा तिरिरहेको उल्लेख गरेका छन् । ‘फेरि पनि स्पष्ट पार्न चाहन्छु, बैंकमा मैले मेरो सम्पत्ति धितो राखेर लोन लिएको छु । अस्पताल र स्कूल सञ्चालन गरिरहेको छु । पाँचतारे होटल निर्माणाधीन अवस्थामा छ,’ उनले भनेका छन्, ‘म कारागारमा छु, तर पनि नियमित बैंकको किस्ता बुझाइरहेको छु । अन्यथा मलाई के गरी सक्काउन सकिन्छ भनेर लागेको राज्यसत्ताले मलाई आजसम्म कालोसूचीमा राख्दैनथ्यो होला ?’
साथै, उनले आर्थिक अभावमा उपचार नपाएका बिरामीलाई झापाको बीएन्डसी अस्पतालमा आफ्नो नाममा निःशुल्क उपचार गर्न आग्रह गरेका छन् ।
कारागारमा बन्दी जीवन बिताइरहेका प्रसाईंले यही अवस्थामै आगामी यात्राको योजना बनाइरहेको उल्लेख गरेका छन् । उनले आफ्ना अभियानका कार्यकर्ता तथा समर्थकहरूलाई आशावादी रहन आग्रह गर्दै लेखेका छन्, ‘सूर्यमा सधैँ ग्रहण लाग्दैन, एकदिन खुलेको आकाशमा उज्यालो हुनेछ । हामी मिलेर बनाउँला सुन्दर नेपाल, हाम्रो नेपाल, आहा भन्नलायक नेपाल ।’
प्रसाईंले जारी गरेको अपिलको पूर्णपाठः
देशबासी समस्त आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार।
हाल म नेपाल सरकार, नेपालका अनेक क्षेत्रका माफिया, तस्कर, देशहितविपरीतका काममा व्यस्त राजनीतिज्ञको मुकुण्डो उदाङ्गो पारेका कारण कारागार जीवन बाँचिरहेको छु । तपाईंलाई यो नलागोस् कि म यहाँ बाँचिरहेको मात्र छु, म त यहाँ आगामी यात्राको योजना बनाउँदै छु ।
धेरैको मनले आज पनि एउटै कुरालाई विश्वास गरेको पाएको छु कि म चैत्र १५ गतेको आन्दोलनका कारण कारागारमा छु, तर मलाई यो कुरामा विश्वास छैन कि म सोही दिनको आन्दोलनका कारण छु, किनकि १५ गते तिनकुनामा त म नआउँदै प्रहरीले त्यो क्षेत्रलाई कुरुक्षेत्र बनाइसकेको थियो । अश्रुग्यासले कुहिरोमण्डल बनाएको थियो, गोली चलिरहेको थियो । म त गाडीको पछाडि उभिएर साथीहरूसँग गफिँदै तिनकुने आउँदै थिएँ । जब एक्कासि मेरै गाडीमा अश्रुग्यास खस्यो, मेरै अगाडिबाट प्रहरीको गोली गयो, मैले बुझेँ कि आज मलाई सिध्याउने योजना छ । अनि बल्ल मैले मेरो सवारी चालकलाई बाहिर निकालेर प्रहरीतर्फ गाडी हुइँक्याएको हुँ । मलाई त्यतिबेला नै प्रहरीले नियन्त्रणमा लियोस् भन्ने थियो, तर लिएन । योबाहेक मैले तिनकुनामा ‘शान्त रहनुहोस’ बाहेक अरू केही भनेकै छैन । यो मेरो कमजोरी थियो ?
बरु मेरो एउटा कमजोरी भएको हो, मैले शान्तिपूर्ण कार्यक्रम गर्ने भने पनि सरकारले यत्रो बर्दीधारी गुण्डा खटाउँछ, नागरिक मार्न सक्छ, हाम्रो अभियान बदनाम बनाउन जुन हदसम्म पनि जान सक्छ भनेर पूर्वानुमान गर्न सकिनँ । त्यो मेरै कमजोरी हो । आदरणीय देशप्रेमी महानुभावहरू, म यो सामाजिक आवाज बोल्न थालेको मेरो रहरले होइन । म त मेरै व्यापारमा रमाइरहेको थिएँ । आफ्नै हातले सिर्जित मेरा अस्पतालको गुणस्तर वृद्धि र बिरामीको सेवा नै मेरो दैनिकी थियो । ऐया–ऐया गर्दै अस्पताल आएका बिरामी मुसुक्क हाँस्दै परिवारका सदस्यसँग गफिँदै फर्किएको देखेपछि कुन आनन्द आउँथ्यो, म शब्दमा भन्न सक्दिनँ । मैले प्रत्येक बिरामीको मुस्कानले अस्पताल निर्माणताकाका दुख बिर्सन्थेँ । म त्यसैमा रमाइरहेको थिएँ, त्यसैको विस्तारमा व्यस्त थिएँ ।
म अलि कडा छु भन्ने लाग्छ, सायद धेरैलाई । म जति कडा देखिन्छु, त्यति नै भावुक छु । झापामा एक दिन बिहानै एउटा खबर फैलियो । खबर यति दुखदायी थियो कि आज पनि सम्झँदा जिउ सिरिङ्ग गर्छ । तीन बहिनी एउटै रुखमा झुण्डिएर आत्महत्या…
मलाई त्योभन्दा पहिला आत्महत्या गर्नेहरू कायर हुन् भन्ने लाग्थ्यो । जब उनीहरूको आत्महत्याको कारणबारे थाहा पाएँ, चारैतिर अँध्यारो देखेँ । केही हजार लघुबित्तको ऋण समयमा बुझाउन नसक्दा लघुबित्तवालाको तनाव सहन नसकेर उनीहरूले आत्महत्या गरे । सुनेर मथिंगल हल्लियो । सकेको सहयोग मृतकका बुबालाई गरेँ, घर फर्किएँ, निद्रा पर्न छोड्यो । कुनै समय गरिब, विपन्न, सिमान्तकृत, दलित, किसानको मुक्तिका लागि भन्दै उनीहरूलाई युद्धमा भिडाएको माओवादीको साक्षी बनेकोमा आफैँलाई हीनताबोध भयो । जुन जिल्लाबाट यो देशको कार्यकारी छन्, समृद्धिको गफ लगाएर थाक्दैनन्, उनीहरूकै राजनीतिक सहयोगी बनेकोमा आफैँलाई हीनताबोध भइरहेको थियो । एकाएक अर्को खबर फैलियो, संसद् भवनअगाडि प्रेम आचार्यले आत्मदाह गरे । जब आत्मदाह गरेर जलेर छियाछिया भएको मुटुलाई पूर्ण जलाएका प्रेमको सुसाइड नोट पढेँ, आज पहिलो पटक भन्दैछु, म ढोका थुनेर रोएको छु । प्रेमको त्यो कष्टपूर्ण व्यावसायिक यात्रामा मैले मेरा पनि दुखका दिन देखेँ । तर त्यसपछि मलाई अब भावनामा आँसु बगाएर हुँदैन भन्ने भान भयो ।
म केवल मेरा लागि मात्र हुनुहुँदैन भन्ने भयो । मेरा लागि मैले प्रशस्तै गरेको छु । के म जन्मनु, हुर्कनु, कमाउनु, खानु र मर्नुका लागि मात्र हुँ त भन्ने प्रश्नले पिरोल्न थाल्यो । मन असाध्यै बेचैन भएपछि म माताको दर्शन गर्न माता पाथिभरा पुगेँ । माताको महाभक्त मैले माताको आशीर्वाद लिएर एउटा प्रण गरेँ– माता, मलाई आशीर्वाद दिनुहोस्, म देशलाई देशजस्तै बनाउन सकूँ, हराएको धर्म, संस्कार, संस्कृति, रीतिरिवाज… चालचलन, भेषभुषा बचाउन सकुँ, आफ्नै देशमा परिश्रम गरेर रमाउँदै गरेका नागरिक खुशीसाथ परिवारसंग रमाईरहेको देश बनाउन सकुँ ।
जसरी अल्झिएको धागो फुकाउन पुरानो गाँठोमै पुगेर फुकाउनु पर्छ देशलाई फेरी उही मेरो प्यारो नेपाल बनाउन २०४६ सालकै संबिधानमा फर्किनुपर्छ भन्ने निष्कर्षमा पुगी २०७९ साल मंसिर १ गते देशको पुर्वि सिमाना झापाको मेचिपुलमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारको हातबाट पानसमा दिप बाली उज्यालो नेपालको संकल्प र परेवा उडाई शान्त नेपालको महाअभियानको संकल्प गराएको थिएँ । धर्म हराएको आजको नेपाललाई सनातन धर्म सापेक्ष मुलुक सर्वमान्य नेतृत्व नभएको आजको बिना मियोको दाईं भएको देशलाई राजतन्त्रात्मक शासन व्यवस्था युक्त मुलुक बनाउने अभियान राष्ट्र राष्ट्रियता धर्म सस्कृति तथा नागरिक बचाउ महाअभियानको औपचारिक घोषणा मैले म बन्न होईन म मरेरै भए पनि देश बनाउन नै घोषणा गरेको हुँ ।
मलाई त्यसपछिका कठिन दिन त्यसबेलै थाहा थियो । ममाथि अब के के आईलाग्न सक्छ भन्ने मलाई त्यतिबेलै पुर्वानुमान नभएको हुन्थ्यो त आज म क्यान्सरको बिरामी कारागारमा पनि अरु साथीहरुलाई सुन्दर र सुसज्जित जिवनको सुनौलो सपना देखाउँदै बाँचिरहेको हुने थिइनँ ।
आज मैले आफ्नै जिवनलाई नियालिरहेको छु एक सामान्य गरिब परिवारमा आमाले मकै खन्दै गर्दा मकैबारीमा जन्मिएको म कुन उद्देश्यका लागी जन्मिएँ होला ? शास्त्रले पनि भन्छ कि प्रत्येक मानिसको जन्म कुनै न कुनै उद्धेश्य पुरा गराउन भगवान मार्फत हुन्छ । हैन भने बिहान साँझ हातमुख जोर्न धौ–धौ मेरी आमालाई पनि त आशा थियो होला मेरो छोरो राम्रो पढोस जागिरे होस् । तर न मैले पढ्नै सकें न आमाको रहर अनुसार जागिरे हुन । बरु मैले डाक्टर पढाउने मेडिकल कलेज बनाएँ । हजारौ मानिसलाई जागीर दिएँ । के यो सब भगवानको चाहाना बेगर सम्भव थियो होला र ?
मैले मेरो र मेरो परिवारका लागि मात्र होइन, समाजका लागि पनि केही गर्नुपर्छ भनेरै देशका बेथितीविरुद्ध आफ्नो सर्वस्व दाउमा राखेर आवाज बुलन्द पारेको हुँ । मैले हाम्रो अभियान सुरु गर्नुपूर्वका दिन एकपटक ठन्डा दिमागले सोच्नुहोस् त, १० प्रतिशतमा हस्ताक्षर गराएर आफूखुशी बैंकले १८ प्रतिशत व्याज असुल गर्दैनथ्यो र ? गाउँगाउँका सोझा आमादिदीबहिनी बैंक, लघुबित्तबाट पीडित भएर दिनभर जंगल, मध्यरातमा बल्ल घर फर्किनुपर्ने अवस्था थिएन र ? देशमा सीमित तस्कर, दलालको हालीमुहाली छ ।
बैंक उनीहरूकै, अस्पताल उनीहरूकै, रेटिङ कम्पनी उनीहरूकै, ब्रोकर कम्पनी उनीहरूकै, उद्योग उनीहरूकै, खानी उनीहरूकै भनेर मैले जनतालाई झुट बोलेको थिएँ र ? नेपालमा पश्चिमा संस्कृतिले जरो गाड्दा हाम्रो अस्तित्व नामेट हुँदैछ भनेर मैले गलत बोलेको थिएँ र ? मैले के चाहिँ गलत बोलेको थिएँ ? तपाईंहरू माझ आज पनि केहीले भन्ने गरेको सुनेको छु, आफूले बैंकको लोन तिर्नुपर्दैन ? फेरि पनि स्पष्ट पार्न चाहन्छु, बैंकमा मैले मेरो सम्पत्ति धितो राखेर लोन लिएको छु । अस्पताल र स्कूल सञ्चालन गरिरहेको छु । पाँचतारे होटल निर्माणाधीन अवस्थामा छ । म कारागारमा छु, तर पनि नियमित बैंकको किस्ता बुझाइरहेको छु । अन्यथा मलाई के गरी सक्काउन सकिन्छ भनेर लागेको राज्यसत्ताले मलाई आजसम्म कालोसूचीमा राख्दैनथ्यो होला ?
म देशमा स्थायित्व चाहने मान्छे हुँ, शान्ति चाहने मान्छे हुँ, म गरी खान रुचाउने मान्छे हुँ । आज हातखुट्टा बाँधिएको कैदी बनेर बस्नुपरेको छ । स्थायित्व होस् भनेर कम्युनिष्ट पार्टी एक गराउने पहल नगरेको हुँ र मैले ? मैले मेरा लागि कम, देशका लागि धेरै सोचिरहेछु, आज पनि । सबै नेपालीले आफ्ना सन्तानका साथमा जीवन जिउन पाउन्, प्रत्येक हजुरबुबा–हजुरआमाका काखमा नातिनातिना होऊन् भनेर अभियान सुरु गरेको मलाई मेरो नातिले धेरै याद गर्छ रे । हजुरबा कहिले आउने भनेर सोध्छ रे । परिवारले बाहिर जानुभएको छ, आउनुहुन्छ भन्दा मोबाइलमा फोटो हेर्छ रे । एक मनले सोच्छ, कारागारमै बोलाएर एकछिन भए पनि नाति खेलाउँ । अनि सोच्छु, के सम्हालिएला र मन ? नातिका अगाडि भक्कानिएँ भने के भन्ला उसले ?
विद्यार्थी बनाएर पठाएको छोरी यही महिना डाक्टर बनेर फर्किँदै छ । एयरपोर्टमै पुगेर पिताप्रेम दर्शाउँला भन्ने रहर रहरमै सीमित हुनेभयो । मेरो यस्तै हाल छ, तपाईं सबैको सधैँ सुन्दर होस् भनि भगवान् श्री पशुपतिनाथसँग कामना गरी बसेको छु । एउटा कुराले मनमा डेरा जमाएर बसेको छ, सबै स्वर्ग जान चाहन्छन्, तर मर्न कोही चाहँदैनन् । स्वर्ग जान चाहने तर मर्न डराउनेहरूका लागि पनि म हजारपटक मरिदिन तयार छु । स्वर्गानुभूति तपाईं गरिरहनुहोला । म कारागारमा रहेका बखत हाम्रो अभियानका आदरणीय साथीहरूलाई मेरो आग्रह, कसैले दुखका साथ बिलौना ग¥यो भने गाँस काटेर भए पनि सहयोग गर्नु, किनकि हाम्रो त मूल धर्म नै हो– सर्वं भवन्तु सुखिनः, सर्वं सन्तु निरामयाः, सर्वं भद्राणि पश्यन्तु, मा कश्चिद् दुखभाग् भवेत् ।
जो आर्थिक अभावमा उपचारबाट वञ्चित हुनुहुन्छ, झापाको बी.एण्ड.सी. अस्पताल जानुहोला । मेरो नाममा बिल बनाएर उपचार गराउनु । बिहान–साँझ खान नै धौ–धौ भयो भने अभियानका साथीहरूलाई भन्नुहोला । जो वास्तवमै पीडामा हुनुहुन्छ, चिन्ता नगर्नुहोस् । सूर्यमा सधैँ ग्रहण के लाग्ला र ? एक दिन त खुल्ला नि आकाश, अनि उज्यालो हुनेछ धर्ती । हामी मिलेर बनाउँला सुन्दर नेपाल, हाम्रो नेपाल, आहा भन्नलायक नेपालीले भरिभराउ नेपाल ।








प्रतिक्रिया