‘होटल सेफ्रन’ को दुई तल्ला थप गरी १० तल्लाको भवन निर्माण, सञ्चालनको तयारी

441
Shares

काठमाडौं । रुपन्देही जिल्लाको सुख्खानगरमा बनिरहेको ‘होटल सेफ्रन’को निर्माण सम्पन्न गरेको छ । होटल सेफ्रन सिके प्रालिले १ बिघा ३ कठ्ठा १८.०९ धुर क्षेत्रफलमा निर्माण गरेको उक्त पाँच तारे होटलको निर्माण कार्य सम्पन्न गरेको हो । सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिसकेकाले होटल सञ्चालनको तयारी भइरहेको कम्पनीले जनाएको छ ।

सुरुमा कम्पनीले उक्त स्थानमा ८ तल्लाको भवन निर्माण गर्ने योजना बनाएको थियो । अहिले कम्पनीले २ तल्ला थप गरी १० तल्लाको भवन निर्माण गरिसकेको जनाएको छ ।

कम्पनीले उक्त भवन निर्माण गरिसकेको भन्दै वन तथा वातावारण मन्त्रालयमा पूरक वातावरणीय प्रभाव मूल्याङ्कनमा थप प्रस्तावित प्रतिवेदन पेश गरेको छ । कम्पनीले सुरुमा ५ हजार ५ सय ९०.२५ वर्गमिटरमा होटल निर्माण गर्ने भनिएकोमा त्यसमा २ हजार ५ सय ४.५४ वर्गमिटर क्षेत्रफल थप गरी ८ हजार ९४.८ वर्गमिटर क्षेत्रफलमा होटल निर्माण गरेको हो ।

होटलले २ वटा भवन निर्माण गरेको छ । सुरुमा उक्त भवनमा ८ तल्ला हुने उल्लेख गरेको थियो । हाल सो होटलमा २ तल्ला थप गरी १० तल्लाको बनाएको छ । त्यससँगै कोठाको संख्या र शय्याको संख्या पनि बढेको छ । सुरुमा ८१ वटा कोठा हुने भनिएकोमा हाल २८ वटा कोठा थप गरी १०९ वटा कोठाको सुविधा हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी सुरुमा १ सय ३० वटा शय्या हुने भनिएकोमा ८ वटा शय्या थप गरी १ सय ३८ वटा शय्याको सुविधा हुने उल्लेख गरेको छ । कम्पनीअनुसार तल्लो भूमिगत तल्ला र माथिल्लो भूमिगत तल्लामा पार्किङको सुविधा हुनेछ । भुई तल्लामा ब्याङ्क्वेट हल, कार्यालय, कन्फरेन्स रुम, स्टोर, आइटी कोठा हुनेछ । त्यसैगरी पहिलो तल्लामा स्पा, स्टीम, साउना, जीम र दोस्रो तल्लामा कन्फरेन्स रुम, प्राइभेट डाइनिङ रुम, स्वीमिङ पुल, ज्याकुजी र बारको सुविधा हुनेछ ।

त्यसबाहेकका प्रत्येक तल्लामा १६ वटा कोठाको दरले पाहुना कोठाको सुविधा हुनेछ । साथै, अर्को भवनमा भने रेष्टुरेन्टको सुविधा हुनेछ । होटल २ अर्ब रुपैयाँ भन्दा बढी लागतमा निर्माण भएको हो।

होटलको संस्थापकमा कमल किशोर मालापानी, चुन्नप्रसाद शर्मा, नरिश्वर शर्मा, भूमिराज पौडेल, श्रवणकुमार बेरिवाल र रेखा मालापानी छन् ।