डेढ अर्ब लगानी थपेर क्यान्सर उपचारको सेवा विस्तार गर्दै खुमा अर्याल, एकै वर्ष पौने २ अर्बको व्यापार

2.4k
Shares

काठमाडौं । मेडिकल कलेज व्यावसायी खुमाप्रसाद अर्यालसहित अन्य व्यक्तिहरुको स्वामित्व रहेको लर्ड बुद्ध एजुकेशनल एकेडेमीले एकै वर्ष पौने २ अर्ब रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२४ मा १ अर्ब ८१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीको व्यापार सन् २०२४ मा २९ प्रतिशतले बढेको छ । कम्पनीकाअनुसार सन् २०२४ मा मेडिकल कलेज र हस्पिटलको व्यापारमा सुधार हुँदा कारोबारमा वृद्धि भएको हो ।

सन् २०२३ मा १ अर्ब ४० करोड ३० लाख र सन् २०२२ मा कम्पनीले १ अर्ब ५२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२४ मा ५२ प्रतिशत आम्दानी बिरामी अर्थात् हस्पिटलको सेवाबाट, २६ प्रतिशत मेडिकल कलेजबाट र २२ प्रतिशत आम्दानी होस्टेल, फार्मेसी र अन्य सेवाबाट भएको जनाएको छ ।

सन् १९९६ मा डाक्टरहरुको समूहले स्थापना गरेको कम्पनीले हाल कोहलपुरस्थित शिक्षण अस्पतालमार्फत करिब ७०० बेडको बहुविधा सेवा दिइरहेको कम्पनीले चिकित्साशास्त्र र नर्सिङ कलेज पनि सञ्चालन गर्दै आएको छ।

कम्पनीले नेपाल मेडिकल कलेज र नेपाल नर्सिङ क्याम्पस सञ्चालन गर्दै आएको छ ।

कम्पनीमा १ सय २३ जना डाक्टर, ३ सय ४३ नर्स र ५ सय ९० जना प्रशासनिक र सहयोगी कर्मचारी छन् ।

काठमाडौं विश्वविद्यालयमा सम्बद्ध रहेको कम्पनीले सन् १९९७ देखि एमबीबीएस कार्यक्रम सञ्चालनमा ल्याएको थियो । त्यस्तै सन् २००० मा नर्सिङ कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

कम्पनीले नेपालगञ्जमा ३ सय शय्या क्षमता र कोहलपुरमा ५ सय शय्या क्षमताको हस्पिटल सञ्चालन गर्दै आएको थियो । तर, नेपालगञ्जको सम्पत्ति भने सहायक कम्पनी सन्जीभानी कलेज अफ मेडिकल साइन्स प्रालिलाई बिक्री गरेको छ । उक्त सम्पत्ति ८८ करोड २० लाख रुपैयाँमा बिक्री गरेको कम्पनीको भनाइ छ ।

कम्पनीले नेपालगञ्जको सम्पत्ति बिक्री गरेर प्राणघातक रोगको सेवा दिने र क्यान्सर सम्बन्धी नयाँ भवन बनाउने योजना बनाएको छ ।

कम्पनीले उक्त सेवा प्रदान गर्ने उद्देश्यसहित १ अर्ब ३५ करोड ८० लाख रुपैयाँ लगानी गरी क्यान्सर सम्बन्धी र अन्य प्राणघातक रोगको सेवा दिनका लागि लगानी थप गरी हस्पिटललाई विस्तार गर्ने तयारी गरेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि एक अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ९५ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ करोड रुपैयाँको रेटिङ गराएको हो ।

कम्पनीमा ८ जना निर्देशक छन् । अध्यक्ष खुमाप्रसाद अर्याल हुन् भने प्रबन्ध निर्देशक सुरेशकुमार कनोडिया हुन् ।