‘माया धराने बेसार’ दैनिक साढे ५ लाख रुपैयाँको बिक्री

259
Shares

धरान । शुद्ध र अर्गानिक तरिकाले उत्पादन गरिने ‘माया धराने बेसार’ धरान उपमहानगरपालिका र आसपासका क्षेत्रमा निकै लोकप्रिय बन्दै गएको छ । गुणस्तरीय स्वाद, औषधीय महत्व र रसायनरहित उत्पादन प्रक्रियाका कारण यसको माग दिनप्रतिदिन बढिरहेको छ ।

हाल बजारमा दैनिक ७ सय किलो बेसार बिक्री भइरहेको छ, जसको मूल्य प्रतिकिलो ८ सय रुपैयाँ पर्छ । त्यसअनुसार माया धराने बेसारको दैनिक कारोबार ५ लाख ६० हजार रुपैयाँभन्दा बढी पुगेको व्यवसायी नवीन राईले जानकारी दिए।

उत्पादनको माग उच्च भएका कारण ग्राहकहरूले अग्रिम बुकिङ गर्नुपर्ने अवस्था रहेको राई बताउँछन् । तुरुन्तै उपलब्ध नहुने भएकाले धेरैले नाम टिपाउन थालेका छन् ।

स्थानीय किसानको सहभागिता, प्राकृतिक मलको प्रयोग र शुद्ध घरेलु विधिबाट तयार गरिने यो बेसार धरानका मेयर हर्क साम्पाङ राईको अगुवाइमा उत्पादन र वितरण हुँदै आएको छ । यसले बजारमा छुट्टै पहिचान बनाउन सफल भएको उनको भनाइ छ ।

काठमाडौं, पोखरा, विराटनगर, दमक लगायतका सहरहरूमा मात्रै होइन, विदेशसम्म पनि माया धराने बेसारको माग बढेको छ।