‘सुपरम्यान’मा इजरायल–प्यालेस्टाइन युद्धको प्रतिबिम्ब : सही व्याख्या कि आधारहीन परिकल्पना ?


अहिले हलहरूमा चलिरहेको सुपरहिरो विधाको फिल्म ‘सुपरम्यान’मा इजरायल र प्यालेस्टाइनबीचको युद्धलाई आख्यानको आवरण दिएर प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको भनी विवाद चलिरहेको छ ।

विभिन्न सञ्चारमाध्यममा समीक्षक र सांस्कृतिक टिप्पणीकारहरूले यस विषयमा आफ्ना धारणा प्रस्तुत गरिरहेका छन् । बोराभिया र जर्हानपुर नाम गरेका दुई काल्पनिक मुलुकहरूबीचको द्वन्द्वलाई इजरायल–प्यालेस्टाइन युद्धको प्रतिबिम्बका रूपमा लिन सकिने भनी कतिपयले तर्क गरेका छन् । विशेषगरी, इजरायलले गाजामा गरिरहेको प्यालेस्टाइनीहरूको नरसंहारलाई फिल्मले आख्यानमार्फत चित्रित गरेको दाबी गरिएको छ ।

फिल्मका निर्देशक जेम्स गनले चाहिँ यो इजरायल–प्यालेस्टाइनको कथा नभएको अडान लिएका छन् । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेको र त्यसको प्रतिशोधमा इजरायलले गाजामा चलाएको नरसंहारभन्दा अघि नै यस फिल्मको कथा लेखेर स्टुडियोलाई बुझाइसकेको दाबी गनले गरेका छन् ।

पंक्तिकार यस फिल्मको समीक्षा गर्न गइरहेको छैन । फिल्मको कलात्मक पक्ष, प्रमुख कलाकारहरूको अभिनय, निर्देशकको दक्षता र कथाको प्रवाहका बारेमा यहाँ टिप्पणी गरिने छैन । पंक्तिकारलाई फिल्म त्यति रमाइलो लागेको पनि हैन । तर, यस फिल्मका कतिपय दृश्यहरूमा निहित राजनीतिक अर्थले विवाद जन्माएकाले त्यसमा मात्र केन्द्रित रही टिप्पणी गर्न खोजिएको छ ।

काल्पनिक मुलुक बोराभियाका मानिसलाई फौजी शासनमा विश्वास गर्ने अतिक्रमणकारीका रूपमा देखाइएको छ । उनीहरूलाई युक्रेनमाथि आक्रमण गर्ने रुसीका रूपमा पनि हेर्न सकिने कतिपयको तर्क छ । सम्भावित खतराका नाममा छिमेकीमाथि आक्रमण गर्ने बोराभियालाई नेटोको जोखिम देखाउँदै युक्रेनमाथि आक्रमण गर्ने रुसका रूपमा हेर्नुपर्ने उनीहरू दाबी गर्छन् ।

तर, फिल्ममा देखाइएको काल्पनिक मुलुक जर्हानपुर मरुभूमिमा रहेको सानो राष्ट्र हो र त्यहाँ गहुँगोरा मानिसहरू बस्ने गरेको देखाइएको छ । यस भूगोल र त्यहाँका निवासीहरूको छालाका रंगलाई कतिपय समीक्षकहरूले प्यालेस्टाइन वा अरब जगतको प्रतिबिम्बका रूपमा लिएका छन् । त्यहाँका एक निवासी मलिक अली सुपरम्यानका साथी हुन् र उनको नाम इस्लामी छ, जसले प्यालेस्टाइनीको प्रतिनिधित्व गर्न सक्छ । फिल्ममा जर्हानपुरको भूभाग पनि ठ्याक्कै गाजा जस्तो देखिन्छ । अनि बोराभिया शक्तिशाली छिमेकी मुलुक भएकाले त्यो इजरायल हुन सक्ने व्याख्या पनि गरिएको छ । बोराभियाले ट्यांक, बन्दूक र अन्य शक्तिशाली हतियारले आक्रमण गरिरहँदा जर्हानपुरवासीहरूले चाहिँ घरेलु हतियारले प्रतिकार गरेको देखाइन्छ । त्यो ठ्याक्कै इजरायल र प्यालेस्टाइनीहरूबीचको असमानुपातिक युद्ध जस्तै प्रतीत हुन्छ ।

यस विवादले केही महत्त्वपूर्ण प्रश्नहरू जन्माएको छ । फिल्मले प्रस्तुत गर्ने आख्यान कल्पना मात्र हो कि यो वास्तविक संसारमा भएका घटनामा आधारित हुन्छ ? दर्शकहरूले कुनै पनि फिल्मलाई वर्तमानमा विकसित घटनाक्रमको आलोकमा व्याख्या गर्न पाउँछन् कि पाउँदैनन् ? दमित र पीडित समुदायप्रति सहानुभूति राख्ने दर्शकहरूले सुपरम्यानको कथालाई प्यालेस्टाइनमाथि इजरायलको दमनको कथाका रूपमा बुझ्दा के आपत्ति हुन्छ ?

वास्तवमा कुनै पनि कला वा साहित्यमाथि सबै किसिमका व्याख्याहरू सम्भव हुन्छन् । कलालाई दर्शकले आफ्नो जीवनभोगाइका आधारमा व्याख्या गर्न पाउँछन् । साहित्यमा रीडर रेस्पोन्स थ्योरी नामक एउटा सिद्धान्त छ । त्यसले कुनै पनि कला वा साहित्यमा पाठक वा दर्शकले अर्थ आफैं सिर्जना गर्छन् भनी दाबी गर्छ । लेखक वा कलाकारले जुन अर्थ सोचेर कला वा साहित्य रचेको हुन्छ, पाठक वा दर्शकले त्यही अर्थ नै बुझ्नुपर्छ भन्ने हुँदैन । प्रत्येक पाठक वा दर्शक आफ्नोअनुकूलको अर्थ निकाल्नका लागि स्वतन्त्र छ ।

अहिले संसारभरिका मानिसले गाजामा प्यालेस्टाइनीहरूमाथि इजरायली सेनाले गरेको क्रूर दमनका वीभत्स दृश्यहरू देखिरहेका छन् । त्यो त्रासदी टुंगिने छाँट पनि देखिएको छैन । त्यस्तै किसिमका दृश्यहरू सुपरम्यान फिल्ममा पनि देख्दा दर्शकहरूले तादात्म्यको अनुभव गर्नु स्वाभाविक हो ।

फिल्म हेर्दै जाँदा वास्तविक विश्व र काल्पनिक संसारको कथा समानान्तर जस्ता लाग्छन् । चलचित्रमा सैन्य प्रविधिमा उन्नत राष्ट्र बोराभियाले आफूभन्दा गरिब र सीमित स्रोतसाधन भएको मुलुक जर्हानपुरमाथि आक्रमण गरेको देखाइन्छ । आफूमाथि आइलाग्न सक्ने जोखिमलाई टार्नका लागि शक्तिशाली मुलुकले त्यो आक्रमण गरेको हुन्छ । बोराभिया अमेरिकाको साझेदार मुलुक हो । त्यसैले बोराभियालाई सहयोग गर्नका लागि अमेरिकी सरकारका प्रतिनिधिहरू सुपरम्यानलाई जोखिमका रूपमा लिनुपर्ने धारणा राख्छन् ।

लेक्स लथर नाम गरेका धनाढ्यले सुपरम्यानको अन्त्य गरिदिने भन्दै अमेरिकी अधिकारीहरूलाई आश्वासन दिन्छन् । कतिपय आलोचकले लथरमा इलोन मस्कको झल्को समेत भेटेका छन् । घमण्डी, जे कुरालाई पनि बढाइचढाइ गर्ने र सरकारी ठेक्का पारेर सरकारसँग काम गर्ने पात्रका रूपमा लथरको साम्य मस्कसँग हुन सक्छ ।

बोराभियाको सैन्य आक्रमणमा जर्हानपुरका सर्वसाधारणको मृत्यु हुन्छ । सञ्चारमाध्यमले आक्रमणकारीको पक्षमा समाचार लेख्छन् । अनि सुपरम्यानले यस युद्धमा निर्दोषहरूलाई बचाउनका लागि हस्तक्षेप गर्ने कि नगर्ने भनी निर्णय लिनुपर्ने हुन्छ ।
प्यालेस्टाइनीहरूप्रति सहानुभूति राख्ने न्यायप्रेमी मानिसले यो कथामा गाजामा भइरहेको घटनालाई नै आख्यानीकृत गरिएको अनुभव गरेका छन् । इजरायली सैनिकहरूले खाद्य वितरण केन्द्रमा आइपुगेका भोका प्यालेस्टाइनीहरूलाई गोली हानेर मारेको अनि गाजामा इजरायली आक्रमणका कारण अधिकांश महिला र बालबालिकाको मृत्यु भएको कटु यथार्थलाई सुपरम्यान फिल्मले रूपकमार्फत प्रस्तुत गरेको हुन सक्ने व्याख्या आधारहीन छैन ।

अंग्रेजीमा एलिगोरी भनिने रूपक कथाको विशेषता नै यही हो । यसले प्रतीकात्मक रूपमा वास्तविक संसारमा भइरहेका घटनालाई दर्शाइदिन्छ । प्यालेस्टाइनीहरूका लागि न्यायको माग गरिरहेका मानिसले जर्हानपुरको प्रतिरक्षाका लागि सुपरम्यानले गरेको प्रयासलाई दमित नागरिकप्रतिको एक्यबद्धताका रूपमा बुझेका छन्, भलै कथाकार निर्देशकले त्यस्तो अर्थ दिने गरी कथा लेखेका थिएनन् होला ।

यहाँ एउटा प्रश्न उठ्छ : रचनाकारले आफ्नो रचनामा कुनै राजनीतिक एजेन्डा छैन भनिरहँदा दर्शकले राजनीतिक व्याख्या गर्न पाउँछ कि पाउँदैन ? यसको उत्तर मनोविज्ञानमा भेटिन सक्छ ।

मनोविज्ञानमा एउटा शब्दावलि छ – एक्स्ट्रापोलेशन बायस । जस्तोसुकै अर्थ लगाउन मिल्ने केही कुरा आयो भने त्यसमा मानिसले आफ्नो दृष्टिकोण नै लाद्छन् र अर्थ निकाल्छन् भनी यस शब्दावलिको व्याख्या गर्न सकिन्छ । अर्थात्, दर्शकले फिल्ममा जे देख्न चाहन्छन्, त्यही देख्छन् ।

मानवअधिकारको विषय उठाउने व्यक्तिले जर्हानपुरको पक्षमा सुपरम्यान उभिएको घटनालाई प्यालेस्टाइनीहरूको पक्ष लिँदै इजरायली नीतिको कटु आलोचनाका रूपमा व्याख्या गर्न सक्छ । इजरायल समर्थकले भने इजरायलको आत्मरक्षाको कदमलाई फिल्मले खलनायकीकरण गर्न खोजेको भनी अर्थ लगाउन सक्छ । दुवैथरीले त्यही एउटै फिल्म हेरिरहेका हुन् तर उनीहरूको प्रतिक्रियाका पछाडि भिन्नभिन्न राजनीतिक दृष्टिकोणले काम गरिरहेका हुन्छन् । दुवै व्याख्यालाई सही वा गलत भनेर ठोकुवा गर्न सकिँदैन ।

सुपरम्यान भन्ने पात्र आफैंमा राजनीतिक छ । सन् १९३८ मा अमेरिकामा बसाइ सरेका दुईजना यहुदी आप्रवासीहरू जेरी सीगल र जो शुस्टरले यस कमिक बूक पात्रको रचना गरेका थिए । त्यस समयको युरोपमा हिटलर र मुसोलिनीको नेतृत्वमा उदाइरहेको नाजीवाद र फासीवादको आलोचनाका लागि यो पात्र रचना गरिएको थियो । सुपरम्यान लोकप्रिय हुँदै जाँदा उसले सत्य, न्याय र अमेरिकी मर्मको प्रतिनिधित्व गर्दै आएको छ । दोस्रो विश्वयुद्धमा अलाइड मुलुकहरूको प्रोपागान्डाको हतियार बनेको सुपरम्यान शीतयुद्धमा निरंकुश सोभियत शासनविरुद्ध लड्थ्यो । अहिले ट्रम्पको आप्रवासीविरोधी नीतिलाई आलोचना गर्नका लागि सुपरम्यानलाई क्रिप्टोन भन्ने एलियन विश्वबाट पृथ्वीमा दमित, पीडित र निर्दोषहरूको रक्षाका लागि आएको आप्रवासीका रूपमा चित्रित गरिएको छ ।

त्यसैले सुपरम्यान फिल्मलाई राजनीतिक चश्माले नभई मनोरञ्जनको दृष्टिकोणले हेर्नुपर्ने भनी इजरायलसमर्थक बेन शपिरो जस्ता टिप्पणीकारको भनाइ आधारहीन छ । निर्देशक जेम्स गनले शक्तिशाली व्यक्ति वा मुलुकले निमुखाप्रति सहानुभूति राख्नुपर्छ भन्ने सन्देश दिनका लागि यो फिल्म बनाएका हुन सक्छन् । तर, त्यसक्रममा उनले रचेको भूगोल र पात्रहरूले वास्तविक संसारलाई प्रतिबिम्बित गर्न सक्छन् । सन् २०२३ देखि अहिलेसम्म आउँदा प्यालेस्टाइनीहरू संसारभरिका दमित समुदायका प्रतिनिधि पात्र भएको दुईमत छैन ।

अमेरिकामा दक्षिणपन्थी समीक्षकहरूले यस फिल्मको गलत व्याख्या भएको भनी आपत्ति उठाउनुमा राजनीतिक कारण छ । हलिउड सुपरहिरो फिल्महरूमा रुस, उत्तर कोरिया, इरान लगायतका मुलुकलाई दुष्टहरूको शासनका रूपमा चित्रित गर्दा अधिकांश अमेरिकी दर्शकहरूले त्यसलाई सहजै स्वकारिदिन्छन् । तर, फिल्मको कथाले अमेरिकाको साझेदारले गरिरहेको अन्यायपूर्ण गतिविधिलाई चित्रण गर्दा त्यो विवादास्पद बन्न पुग्छ । अझ, अमेरिकाले त्यस साझेदारको मानवताविरुद्धको अपराधलाई सहयोग गरेको कथामा देखाइँदा राष्ट्रवादी अमेरिकीहरूको मनमा ठेस लागेको हुन सक्छ ।

सुपरम्यानलाई इजरायल–प्यालेस्टाइन द्वन्द्वको कथा मान्ने कि नमान्ने त ? प्यालेस्टाइनी र उनीहरूका समर्थकका लागि सुपरम्यान अन्यायको प्रतिकार र दमित वर्गको संरक्षण गर्ने असल पात्र हो । सुपरम्यानको जस्तो नैतिक स्पष्टता अहिले पश्चिमका अधिकांश नेता र सञ्चारकर्मीहरूसँग छैन ।

उता, इजरायलसमर्थक दर्शकहरूका लागि सुपरम्यानको कथाले इजरायलको आत्मरक्षाको अधिकार र सुरक्षा संवेदनशीलतालाई बेवास्ता गरेको लाग्न सक्छ ।

वास्तवमा यी दुवै व्याख्या सही छन् र यिनले संसारमा भइरहेका घटनाक्रममाथि चिन्तन गर्न सघाउने आख्यानको शक्तिलाई स्थापित गर्छन् ।