
काठमाडौं । एक महिनाअघि इजरायलले इरानमाथि आक्रमण गर्यो । १२ दिन दुई देशबीचको युद्धपछि शान्ति कायम भयो । मध्यपूर्वमा शान्ति कामय हुने अपेक्षाका बीच इजरायलल फेरि अर्को देश सिरियामाथि आक्रमण गर्दा फेरि उक्त क्षेत्रमा युद्धको खतरा बढ्ने त होइन भन्ने त्रास छाएको छ ।
आज हामी यो भिडियोमा इजरायलले सिरियामाथि किन आक्रमण गर्यो र यसका सम्भावित जोखिम कस्ता हुन सक्नछन् भन्ने विषयमा चर्चा गर्छौं ।
त्यसघि सुरूमा पछिल्लो घटनाक्रम बारे चर्चा गरौं ।
इजरायलले सिरियाको राजधानी दमास्कसमा बुधवार हवाई आक्रमण गरेपछि तीनजनाको मृत्यु भएको छ । अन्य ३४ जना घाइते भएका छन्।
सिरियामा रहेका अल्पसंख्यक ड्रुज समुदायका मानिसको रक्षाका लागि उक्त आक्रमण गरिएको इजरायलको दाबी छ । तर, अमेरिकाले हस्तक्षेप गरेपछि इजरायलले तत्कालै आक्रमण रोकेको छ।
दमास्कसको मध्यभागमा रहेको सिरियाली रक्षा मन्त्रालय तथा राष्ट्रपति भवन नजिकका क्षेत्रहरूमा इजरायलले हवाई आक्रमण गरेको हो । रक्षा मन्त्रालयमा आक्रमण हुँदा त्यहाँ नजिक रहेको सिरियाली टेलिभजन च्यानलले प्रत्यक्ष प्रसारण गरिरहेको थियो । आक्रमणलगत्तै समाचार पढिरहेकी एंकर सुरक्षित स्थानतर्फ भागेको पनि देखिएको थियो ।
त्यसका अतिरिक्त, इजरायली सेनाले सिरियाको दक्षिणी भागमा रहेका विभिन्न स्थानमा पनि आक्रमण गरेको थियो । ती स्थानमा केही दिनदेखि ड्रुज समूह, बेदुआँ कबिला र सिरियाली सुरक्षाफौजहरूबीच झडप हुँदै आएका थिए ।
ड्रुज र बेदुआँ समुदायले एकअर्काको अपहरण र आक्रमण गर्न थालेपछि हिंसा चर्र्किएको बताइन्छ । त्यो हिंसा रोक्न र कानून व्यवस्था कायम गर्नका लागि सरकारी सेनाले हस्तक्षेप गर्दा सेना पनि ड्रुज समुदायसँग भिड्न पुग्यो । त्यसक्रममा सेनाले सर्वसाधारणलाई निशाना बनाएको आरोप छ ।
सुवेदा प्रान्तमा हिंस्रक झडपका क्रममा २५० भन्दा बढी मानिसको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स नामक संस्थाले जनाएको छ ।
ड्रुज सिरिया र इजरायल दुवै देशमा भएको सानो तर प्रभावशाली अल्पसंख्यक समुदाय हो । उनीहरूको संख्या ७ लाख जति छ । तीमध्ये २० हजारभन्दा बढी इजरायली नियन्त्रणमा रहेको गोलान हाइट्समा बस्छन् । शिया मुसलमानकै एउटा हाँगोका रूपमा ड्रुजहरू रहेका छन् । इजरायलले तिनीहरूलाई बफादार साझेदारका रूपमा हेर्छ । कतिपय ड्रुजहरू इजरायली सेनामा पनि कार्यरत छन् ।
ती समुदायमाथि सेना र सरकारसमर्थक लडाकूहरूले दमन गरेकाले त्यसलाई रोक्न आफूले आक्रमण गरेको इजरायलको आरोप छ । सिरियाले यी आरोपहरूको खण्डन गर्दै यसलाई आफ्नो सार्वभौमसत्तामाथिको जघन्य आक्रमण भनेको छ ।
सिरियामा बशर अल–असद सत्ताच्युत भएपछि इजरायलले त्यहाँ लगातार आक्रमण गर्दै आएको हो । असदलाई हटाएर अहमद हुसेन अल–शरा सत्तामा आएका छन् । विगतमा उनी अबु मोहम्मद अल–जोलानी भनेर चिनिन्थे । उनलाई अमेरिका लगायतका पश्चिमी मुलुकहरूले आतंकवादी घोषणा गरेका थिए । अहिले अमेरिकाले उनलाई आतंकवादीको सूचीबाट हटाएको छ । उनको नेतृत्वमा रहेको हयात तहरीर अल–शाम समूहले असदलाई सत्ताच्युत गर्न कारवाही चलाएको थियो ।
अल–शरा सत्तामा आएदेखि नै सिरियाका अल्पसंख्यक समूहहरूमाथिको आक्रमण जारी छ । अलावाइट, ड्रुज र क्रिस्चियन अल्पसंख्यकहरूमाथि इस्लामी लडाकूहरूले आक्रमण गरिरहेका छन् । तीमध्ये ड्रुजलाई संरक्षण गर्नका लागि इजरायलले कारवाही चलाएको हो ।
इजरायलले अल–शरा नेतृत्वको सिरियाली सरकार इस्लामी उग्रवादी भएको आरोप लगाउँदै आएको छ । त्यो सरकार इजरायलका लागि जोखिम भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दाबी गर्दै आएका छन् ।
इजरायलका विदेशमन्त्री गिडियन सारले सीमा जोडिएको दक्षिण सिरियाली क्षेत्रमा आफूहरूले यथास्थिति कायम गर्न खोजेको बताएका छन् । त्यस ठाउँबाट इजरायलका लागि आउन सक्ने खतरालाई रोक्ने आफूहरूको लक्ष्य रहेको उनको भनाइ छ ।
असदको पतनपछि इजरायलले दक्षिणी सिरियामा नियन्त्रण विस्तार गर्न खोजेको छ । इजरायलले सन् १९६७ मा भएको युद्धमा सिरियाको गोलान हाइट्समा कब्जा गरेको थियो । अहिले त्यसभन्दा अघि बढेर इजरायलले दक्षिणपश्चिम सीमामा रहेको बफर जोन समेत कब्जामा लिएको छ ।
सिरियाको बहालवाला सरकारसँग कुनै पनि किसिमको सुरक्षा सम्झौता गर्न इजरायलले अस्वीकार गरेको छ । उल्टो, उसले सिरियामा लगातार बम प्रहार गरिरहेको छ । सिरिया बलियो भयो भने आफूलाई जोखिम आइलाग्छ, त्यसैले उसलाई कमजोर बनाइरहनुपर्छ भनी भनी इजरायलले आक्रमण जारी राखेको विश्लेषकहरू बताउँछन् ।
अन्य कतिपय विश्लेषकहरू ड्रुजलाई जोगाउने वा सिरियाली सरकारलाई दबाबमा राख्ने इजरायलको लक्ष्य नरहेको बताउँछन् । सिरियामाथि आक्रमण गरेर इजरायलले खासमा टर्कीलाई प्रभाव विस्तार गर्न नदिन खोजेको बताइएको छ ।
अमेरिकाले इरानलाई एक्ल्याउनका लागि प्रयास गरिरहेको अवस्थामा इरान अहिले क्षेत्रीय स्तरमा कमजोर भएको छ । त्यसले गर्दा इजरायल र टर्कीले क्षेत्रीय प्रभुत्वका लागि होडबाजी गरिरहेका छन् ।
इजरायल आफ्ना सबै छिमेकीहरूमाथि प्रभुत्व कायम गर्न सकिएमा मात्र आफ्नो सुरक्षा बलियो हुने सोच राख्छ । उता टर्कीले सिरियालाई आफ्नो प्रभावक्षेत्रका रूपमा लिने गरेको छ र त्यसैलाई टेकेर ऊ क्षेत्रीय प्रभुत्वको सपना देखिरहेको छ । विशेषगरी सिरिया, लेबनन, जोर्डन, इजरायल र प्यालेस्टाइन भएको लेभान्ट क्षेत्रमा प्रभाव कायम गर्न टर्की र इजरायलको प्रतिस्पर्धा छ । यसरी पश्चिम एसियामा प्रभुत्वशाली शक्ति बन्नका लागि टर्कीले प्रयत्न गर्दा इजरायलसँग टक्कर हुने पक्का छ ।
इजरायलले सिरियामाथि गरेको आक्रमणलाई टर्कीले मन पराएको छैन । टर्कीको विदेश मन्त्रालयले मध्य दमास्कसमा इजरायलको आक्रमणबाट शान्ति, स्थिरता र सुरक्षामा खलल पुग्ने जनाएको छ । शान्ति बहाल गर्न उसले आह्वान गरेको छ ।
इजरायलले गाजामा गरिरहेको नरसंहारको चर्को विरोध गरे पनि टर्कीले इजरायलसँगको व्यापार सम्बन्धलाई कायम राखेको छ । तर, इजरायलले सिरियामा आक्रमण गरेपछि आफ्नो रणनीतिक क्षेत्र जोखिममा पर्ने भएपछि टर्कीले प्रतिकार गर्ने सम्भावना छ।
इजरायल र सिरियाबीचको तनाव चर्किन नदिनका लागि अमेरिकाले हस्तक्षेप गरेको छ । दमास्कसमा इजरायलले आक्रमण गरेलगत्तै अमेरिकाले दुवै पक्षलाई युद्ध नचर्काउन दबाब दिएको थियो ।
दुई देशबीच असमझदारीका कारण यस्ता घटना हुन गएको अमेरिकाका विदेशमन्त्री मार्को रुबियोको भनाइ छ । राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र सिरिया दुवैका शीर्ष नेतृत्वलाई सम्झाइबुझाइ गरेर तनाव बढाउनबाट रोकेको उनले बताए ।
ट्रम्पको हस्तक्षेपपछि सिरियाली सरकारले आफ्ना सुरक्षाकर्मीहरू सुवेदा क्षेत्रबाट पछि हटेको जनाएको छ । सिरियाली टीभीमा सेनाका गाडीहरू सुवेदा शहरबाट बाहिरिएको देखाइएको छ । वास्तवमा इजरायल दक्षिणपश्चिमी भागबाट सिरियाली सुरक्षाकर्मी पूर्ण रूपमा बाहिरिएको देख्न चाहन्छ ।
अघिल्लो साताभरि सिरियाली सुरक्षाकर्मी र ड्रुज लडाकूहरूबीच तनाव चलेको थियो । दुवै पक्षले क्षति बेहोर्नुपरेको बताइन्छ । सुरक्षा व्यवस्था कायम गर्नका लागि सिरिया सरकारले सीमाक्षेत्र नजिक भारी सैन्य हतियार ल्याएपछि इजरायली सेनाले त्यसमाथि बम प्रहार गरेको थियो । सिरियाको थप भूभागमा कब्जा गर्नका लागि इजरायलले नै ड्रुज र सिरियाली सुरक्षाकर्मीहरूबीच तनाव चर्काइदिएको आरोप पनि कतिपयले लगाएका छन् ।
सिरिया सरकारले ड्रुज समुदायसँग नयाँ युद्धविरामको घोषणा पनि गरेको छ । उक्त समूहमा मतविभाजनको स्थितिका कारण युद्धविराम कायम हुने नहुने टुंगो भने छैन । यासेर जारबु नाम गरेका नेताले सिरिया सरकारसँग युद्धविराम भएको बताएका छन् । तर, हिकमत अल–हिजरी नाम गरेका नेताले युद्धविरामलाई अस्वीकार गरेका छन् । कतिपय ड्रुज समुदायका व्यक्ति आफ्ना लागि इजरायलले हस्तक्षेप गरिरहनु नपर्ने पनि बताउँछन् ।
इजरायललाई सिरियाका थप भूभागमा नियन्त्रण कायम गरेर आफ्नो स्ट्राटेजिक डेप्थ बढाउने अवसर ड्रुजहरूले दिएका छन् । त्यसैले भविष्यमा पनि इजरायलले उनीहरूमाथिको दमनको दाबी गर्दै सिरियामा थप आक्रमण गर्न सक्ने सम्भावना कायमै छ ।







प्रतिक्रिया