हिमालयन बैंकको सेयर किन्ने हिमालयन रिको योजनामा धक्का, नेसनल लाइफले किन्ने पक्का

3.8k
Shares

काठमाडौं । पाकिस्तानको हबिब बैंकको नाममा रहेको हिमालयन बैंकको सेयर किन्न प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आवेदन दिएका छन् । हिमालयन बैंकले बैंकमा रहेको संस्थापक सेयरधनी हबिब बैंकले सेयर बिक्री गर्न लागेको भन्दै इच्छुक लगानीकर्तालाई आह्वान गरेकामा हालका संस्थापक सेयरधनीमध्येका दुई इन्स्योरेन्स कम्पनीले इच्छा देखाएका हुन् ।

हिमालयन बैंकमा रहेको कुल २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर प्रतिकित्ता ११२.८० रुपैयाँको दरले एकमुष्ट बिक्रीको लागि हबिबले निवेदन दिएको थियो । सोहीअनुसार बैंकले गत जेठ ३० गते एकमुष्ठ किनबेच हुने गरी संस्थापक सेयरधनीलाई सूचना निकालेको थियो ।

सोही निवेदनको आधारमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८१ को निर्देशन नं १० बमोजिम बैंकको हाल कायम सेयरधनीलाई सेयर खरिदको लागि आह्वान गरिएको थियो ।

सो आधारमा २ करोड ८० लाख कित्ता सेयर नै खरिद गर्न इच्छुक र क्षमता भएका लगानीकर्ताले मात्रै आवेदन दिनुपर्ने देखिन्छ । बैंकका बहालवाला लगानीकर्ताले सूचना प्रकाशिन भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने थियो ।

३५ दिन बिहिबार सकिएको छ । जसअनुसार प्रभु महालक्ष्मीले २ लाख कित्ता र नेसनल लाइफले सबै सेयर किन्न आवेदन दिएको हो । सबै सेयर ३ अर्ब १५ करोड ९८ लाख ४ हजार ७२ रूपैयाँ ३६ पैसा तिर्नुपर्छ ।

‘हामीले हिमालयन बैंकमा रहेको हबिब बैंकको सबै सेयर किन्नका लागि आवेदन दिएका छौं,’ नेशनल लाइफ इन्स्योरेन्सका सीईओ सुरेश खत्रीले क्लिकमान्डुसँग भने ।

प्रभु महाल्क्षी लाइफ इन्स्योरेन्सका सीईओ सन्तोष प्रसाईले आफूहरुले २ लाख कित्ताका लागि मात्रै आवेदन दिएको बताए ।

बिहिबारसम्म संस्थापक सेयरधनीले सेयर खरिदको लागि आवेदन नदिएको भए व्यक्ति वा संस्थालाई संस्थापक सेयर बिक्री प्रक्रिया अगाडि बढाइने थियो । तर, संस्थापक सेयरधनी नै सबै सेयर किन्न इच्छुक देखिए पछि हिमालयन बैंकको सेयर किन्ने आकांक्षीहरूको बाटो बन्द भएको छ ।

बैंकमा पाकिस्तानको हबिबको १२.९३ प्रतिशत सेयर हिस्सा छ । हिमालयन बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ ।

हिमालयन बैंकको सेयर किन्ने सबैभन्दा ठूलो आकांक्षी हिमालयन रि–इन्स्योरेन्स कम्पनी थियो । हिमालयन रिले उक्त सेयर खरिद गर्ने सहमतिसहित राष्ट्र बैंकमा डेढ वर्षअघि नै आवेदन दिएको भए पनि राष्ट्र बैंकले त्यतिबेला सहमति नदिँदा सेयर बेच्ने प्रकृया रोकिएको थियो ।

२०८० मंसिरमा नै पाकिस्तानको हबिब बैंक र हिमालयन रि इन्स्यारेन्सबीच सेयर खरिदबिक्रीको सम्झौता भएको थियो ।

हिमालयन बैंक र हिमालयन रि इन्स्योरेन्सको सञ्चालक समितिले उक्त सम्झौतालाई स्वीकृत दिँदै किनबेचका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिएका थिए ।

नेपाल राष्ट्र बैंकले ३ वटा कारणसहित त्यतिबेला उक्त सेयर कारोबारको लागि सहमति दिएको थिएन । सेयर खरिद गर्ने हिमालयन रि इन्स्योरेन्सको लगानी सन्दर्भमा ‘फिट एन्ड प्रोपर टेस्ट’को लागि आवश्यक विवरण माग गरेको थियो । त्यस्तै राष्ट्र बैंकको प्राथमिकता विदेशी कुनै लगानीकर्ता उक्त सेयर खरिद गर्न इन्छुक भएसँगै विदेशी लगानीलाई नै प्राथमिकतामा राख्ने भन्ने रहेकोले त्यसलाई पनि ध्यान दिन बैंकलाई राष्ट्र बैंकले त्यतिबेला आग्रह गरेको थियो । त्यस्तै सिभिल बैंकसँग मर्जरमा गएको २ वर्ष पूरा नहुँदा बहालवाला सेयरधनीले सेयर बिक्री गर्दा लाग्ने ठूलो पूँजीगत लाभकर गुम्ने परिस्थितिले गर्दा पनि त्यतिबेला राष्ट्र बैंकले स्वीकीकृति नदिइ रोकेको थियो ।

२ बैंक मर्जर भएको २ वर्ष पूरा भइसकेको हुँदा अब सेयर कारोबार भएमा कर छुटको विषयमा कुनै समस्या देखिँदैन ।

त्योभन्दा ठूलो कुरा किनबेचको सहमति गरेर राष्ट्र बैंक गएका कारण केन्द्रीय बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीलाई चित्त बुझेको थिएन । संस्थापक सेयर खरिद बिक्री गर्ने प्रक्रिया सुरू नै नगरी किन्ने बेच्ने सहमती गरिएको थियो । राष्ट्र बैंकले ‘अब्जेक्सन’ जनाएसँगै दुई पक्षले प्रक्रिया सुरूदेखि थाल्ने गरी प्रतिबद्धता जनाएपछि अधिकारीले कार्यकालको अन्तिममा राष्ट्र बैंकले ग्रिन सिग्नल दिएको थियो ।

राष्ट्र बैंकका एक उच्च अधिकारी डेढ वर्ष अगाडि सेयर कारोबारको लागि निवेदन आएकोमा केही प्रक्रियाका कारण राष्ट्र बैंकले रोकेको र अहिले कुनै जानकारी नआएको बताउँछन् । बैंकले प्रक्रिया पूरा गरेर राष्ट्र बैंकमा निवेदन दिएपछि राष्ट्र बैंकले अध्ययन गरेर मात्रै निर्णय दिने ती अधिकारीले बताए ।

बैंक स्रोतकाअनुसार हिमालयन रि इन्स्योरेन्सले नै सेयर किन्नको लागि सहमति भएको थियो । सोहीअनुसार बहालवाला संस्थापकले सेयर खरिदका लागि अवसर पाउने गरी प्रक्रिया पूरा गर्न ३५ दिनको सूचना प्रकाशित गरिएको हो ।

बहालवाला संस्थापक सेयर खरिद गर्न तयार नभएमा ३५ दिन पूरा भएपछि अर्को सूचना प्रकाशित हुने सोही सूचना अनुसार हिमालयन रिले सेयर खरिदको लागि आवेदन दिएर प्रक्रिया अगाडि बढ्ने थियो । तर, सबै संस्थापक सेयर किन्न नेसनल लाइफ तयार भएपछि हिमालयन रिको च्याप्टर क्लोज भएको हो ।

जीवन बिमा व्यवसाय गर्ने बिमकहरुको आर्थिक वर्ष २०८१र८२ को तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार नेशनल लाइफले सुचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै, अन्य संस्थापक सेयरमा कम्पनीले १ अर्ब ६३ करोड रुपैयाँ लगानी गरेको छ । बिमा प्राधिकरणको लगानी सम्बन्धी निर्देशिनका अनुसार जीवन बिमकले बढीमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

यी दुबै लगानी गरेर नेशनल लाइफको लगानी २ अर्ब ९५ करोड रुपैयाँ मात्रै लगानी गरेको देखिन्छ । तर, हिमालयन बैंकको सेयर खरिद गर्नका लागि ३ अर्ब १५ करोड ९८ लाख रुपैयाँ आवश्यक पर्ने देखिन्छ । यसअनुसार नेशनल लाइफले हिमालयनको सेयर खरिद गर्न प्राधिकरणको स्वीकृति लिन पनि पर्दैन । यद्यपि, तोकिएको सीमा भन्दा बढी लगानी गर्दा भने बिमा कम्पनीले नियामकको स्वीकृति लिनुपर्ने हुन्थ्यो । यता हिमालयन रिले हिमालयन बैंकको हकप्रद सेयर किन्ने योजना जेठ २५ गतेको वार्षिक सधारणसभामामै सुनाएको थियो ।

कम्पनीको वार्षिक साधारणसभामा कम्पनीको लगानी विविधिकरणबारे उठेको प्रश्नको जवाफ दिँदै अध्यक्ष शेखर गोल्छा र प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले सेयरधनीलाई यसबारे अवगत गराएका थिए । साधारणसभाको ‘माइन्युट’मा बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजको दर निरन्तर घटिरहेको अवस्थामा लगानीको प्रतिफल बढाउने तथा लगानी विविधिकरण गर्ने अभिप्रायका साथ हिमालयन बैंकको मुख्य लगानीकर्तामध्ये हबिब बैंकको सेयर कम्पनीले खरिद गर्ने प्रक्रिया सुरु गरेको र सम्पन्न हुने क्रममा रहेको गोल्छा र पौडेलले जानकारी गराएका थिए ।