हिमालय रिले सेयरधनीलाई भन्योः हिमालयन बैंकको सेयर किन्दैछौं, ८०% हकप्रद प्रस्ताव प्राधिकरणमा पुनः पेश

31.7k
Shares

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले हिमालयन बैंकको हकप्रद सेयर किन्ने भएको छ । बैंकमा रहेको पाकिस्तानी बैंक हबिबको स्वामित्वको सेयर खरिद गर्न लागेको हो ।

कम्पनीको वार्षिक साधारणसभामा कम्पनीको लगानी विविधिकरणबारे उठेको प्रश्नको जवाफ दिँदै अध्यक्ष शेखर गोल्छाले सेयरधनीलाई यसबारे अवगत गराएको साधारणसभाको ‘माइन्युट’मा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजको दर निरन्तर घटिरहेको अवस्थामा लगानीको प्रतिफल बढाउने तथा लगानी विविधिकरण गर्ने अभिप्रायका साथ हिमालयन बैंकको मुख्य लगानीकर्तामध्ये हबिब बैंकको सेयर कम्पनीले खरिद गर्ने प्रक्रिया सुरु गरेको र सम्पन्न हुने क्रममा रहेको गोल्छाले जानकारी गराएका थिए ।

अहिले बिमा कम्पनीको लगानी धेरैजसो निक्षेपमा रहेको छ । निक्षेपको ब्याजदर घट्दा कम्पनीको नाफा र वितरणयोग्य नाफा पनि कम भएको लगानीकर्ताको बुझाइ छ ।

हिमालयन रिले बैंकको संस्थापक सेयर प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसाका दरले किन्न लागेको हो । बैंकमा हबिबको १२.९३ प्रतिशत स्वामित्व छ ।

यसैगरी ८० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव स्वीकृतिका लागि नेपाल बिमा प्राधिकरणमा पुनः पेश गरेको र सोको स्वीकृति प्राप्त हुनासाथ हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाइने साधारणसभामा जानकारी गराइयो । प्राधिकरणबाट स्वीकृती पाएपछि मात्र सो प्रस्ताव साधारणसभामा पेश हुनेछ ।