क्यासिनो नियमावली १२ वर्षमा विस्थापित

क्यासिनो सञ्चालन लागत महँगियो, नयाँ खोल्न ४० करोड लगानी चाहिने

217
Shares


सरकारले २०७० को क्यासिनो नियमावलीलाई संशोधन गरेर नयाँ नियमावली जारी गरेसँगै क्यासिनोले लागत तथा सरकारी राजस्वमा गर्नुपर्ने खर्च बढेको छ । अब क्यासिनो लगाउन ४० करोड रुपैयाँको क्षमता बनाउनुपर्ने भएको छ ।

काठमाडौं । नेपालमा सञ्चालित क्यासिनोहरुको लागत बढ्ने भएको छ भने सरकारलाई तिर्नुपर्ने कर राजस्वसमेत बढेको छ ।

सरकारले १२ वर्षपछि क्यासिनो नियमावली परिमार्जन गरेर नयाँ ल्याएको छ । २०७० को क्यासिनो नियमावलीलाई विस्थापन गरेर क्यासिनो नियमावली २०८२ जारी भएको हो ।

सरकारले असार २३ मा स्वीकृत गरेको ‘क्यासिनो नियमावली २०८२’लाई असार ३० मा राजपत्रमा सूचना प्रकाशन गरेर लागू गरेको हो । चालु आर्थिक वर्षको सुरुवातसँगै क्यासिनो नियमावली लागू भएको छ । क्यासिनो नियमावली लागू भएसँगै क्यासिनोको लागतदेखि सरकारी रोयल्टीसम्म बढ्ने भएको छ ।

नयाँ नियमावलीले क्यासिनोको चुक्तापुँजी ५ करोड रुपैयाँले बढेको छ । २५ करोड रुपैयाँको चुक्ता पुँजीमा चल्दै आएका क्यासिनोले अब भने ३० करोड रुपैयाँको चुक्ता पुँजी पुर्याउनुपर्ने छ । मिनि क्यासिनोको हकमा १५ करोड रुपैयाँबाट २० करोड रुपैयाँ पुगेको छ । बढेको चुक्तापुँजी आगामी २०८५ साल चैत्रभित्र पुर्‍याउन पाउने सुविधा पनि सरकारले दिएको छ ।

नयाँ क्यासिनो सञ्चालन गर्न अब करिब ४० करोड लगानी गर्नुपर्ने छ । ३० करोड रुपैयाँ चुक्ता पुँजी बाहेक करिब १० करोड रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । यस्तो लगानी १ वर्षको नवीकरणसहितको हो ।

क्यासिनोले वार्षिक ५ करोड रुपैयाँ हरेक वर्ष रोयल्टी बुझाउनुपर्ने व्यवस्था आर्थिक ऐनले गरेको छ । आर्थिक ऐन २०८२ ले गरेको व्यवस्था अनुसार तिनुपर्ने रोयल्टी रकम भने नियमावलीमा आउँदैन ।

क्यासिनोले नवीकरण गर्न वार्षिक १ करोड ५० लाख रुपैयाँ बुझाउनुपर्छ । विद्यमान व्यवस्थामा भने १ करोड रुपैयाँल नै नवीकरण हुने व्यवस्था छ।

त्यसअघि क्यासिनो सञ्चालन गर्न १० हजार हजार रुपैयाँ पूर्व स्वीकृती, १५ लाख रुपैयाँ इजाजतपत्र, ३ करोड इजाजतपत्र दस्तुरको लागि बुझाउनुपर्ने व्यवस्था पनि क्यासिनो नियमावलीले गरेको छ । यस अघि क्यासिनो नियमावली २०७० मा भएको व्यवस्था अनुसार २५ करोडको चुक्ता पुँजी, ५ लाख इजाजजपत्र शुल्क, २ करोड इजाजतपत्र दस्तुर, १ करोड नवीकरण शुल्क बुझाउनुपर्छ ।

क्यासिनोलाई नवीकरणमा ५० लाख, इजाजत दस्तुरमा १ करोड, इजाजत शुल्कमा १० लाख, पूर्वस्वीकृतिमा १० हजार र चुक्ता पुँजीमा ५ करोड रुपैयाँ बढेको छ ।

क्यासिनो सञ्चालन गर्न लिइने इजाजतपत्र लिन ठूलो क्यासिनोले १५ लाख र सानो क्यासिनोले १० लाख रुपैयाँ शुल्क लाग्ने छ । यस अघि क्यासिनोले ५ लाख र मिनि क्यासिनोले २ लाख रुपैयाँ शुल्क बुझाएर इजाजतपत्र लिन पाउने व्यवस्था थियो ।

इजाजतपत्र दस्तुर ठूलो क्यासिनोको हकमा ३ करोड र मिनिको हकमा १ करोड ५० लाख रुपैयाँको व्यवस्था भएको छ । यस अघि क्यासिनोले २ करोड र मिनि क्यासिनोले १ करोड यस्तो दस्तुर बुझाउनुर्ने थियो ।

क्यासिनोको नवीकरण गराउँदा वार्षिक जमानत बापत रोयल्टीको डेढ गुणाले हुने रकम वा वाणिज्य बैंकले जारी गरेको १४ महिना मान्य अवधिको सो रकम बराबरको बैंक ग्यारेन्टी आवश्यक पर्ने व्यवस्था भएको छ ।

यस अघि २०७० को नियमावलीले इजाजतपत्रको ५० प्रतिशतले हुन आउने रकम अर्थात हालको १ करोड रुपैयाँ बुझाएर नवीकरण गर्न पाउने व्यवस्था छ । मिनि क्यासिनोको हकमा ५० लाखले नवीकरण हुन्छ ।

हरेक क्यासिनोका लागि सम्बन्धित होटल तथा रिसोर्टको दर्ता नवीकरण अद्यावधिक खुल्ने प्रमाणपत्र समेत क्यासिनो नवीकरणमा चाहिने व्यवस्था भएको छ । यो व्यवस्थाले भने नवीकरण भएको होटलमा मात्रै क्यासिनो सञ्चालन गर्न पाइने भएको छ । यस अघि होटल बन्द हुँदा पनि क्यासिनो चलाउन दिएको व्यवस्था परिवर्तन हुने भएको छ ।

क्यासिनो नियमावलीको नियम ८ को इजाजतपत्र नवीकरण सम्बन्धि व्यवस्थाको उपनियम २ ले उपनियम १ बमोजिम ठूलो क्यासिनोलो १ करोड ५० लाख र सानो क्यासिनोले ७५ हजार रुपैया तिरेर नवीकरण गर्नुपर्ने भएको छ ।

प्रत्येक क्यासिनोले इजाजतपत्र सकिनु ३० दिन अगाडि नै नवीकरण गराइसक्नुपर्ने व्यवस्था पनि भएको छ । क्यासिनो सञ्चालन गरेवापत वार्षिक ५ करोड रुपैयाँ रोयल्टी बुझाउनुपर्ने व्यवस्था आर्थिक ऐन २०८२ ले गरेको छ । यस्तो रोयल्टी रकम मिनि क्यासिनोको हकमा एक करोड ५० लाख रुपैयाँ लाग्ने छ ।