
आगामी आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई मैले समग्रमा मिश्रित किसिमको मान्छु ।केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सम्बोधन गर्नुपर्ने महत्तवपूर्ण काममध्ये एउटा मौद्रिक व्यवस्थापन हो । अर्को बैंकिङ क्षेत्रको नियमन गर्ने, विभिन्न विषयहरुमा बाधा अड्काउ फुकाउने र निजी क्षेत्रलाई परेको समस्याहरू समाधान गर्ने ।
मौद्रिक नीति यी दुई पाटोमध्ये मार्केटको आवाज सुन्ने, माग पूरा गरिदिने, अलि लोकप्रिय हुने किसिमको नीति आयो । जस्तै, घरजग्गा र सेयर बजारमा सहयोग पुग्ने नीति र अरू विभिन्न छुट सुविधाहरूमा सम्बोधन गर्यो । तर, मौद्रिक व्यवस्थापनमा मौद्रिक नीति जसरी जानुपर्ने थियो त्यस अनुसारको मौद्रिक नीति आएन ।
मौद्रिक व्यवस्थापन मौद्रिक नीतिको मुख्य काम बजारमा तरलता, ब्याज दर र कर्जाको सप्लाईलाई व्यवस्थापन गर्ने हो । ब्याजदर कहाँ हुनुपर्छ भन्नेमा एउटा निश्चित ‘गाइडलाइन’ छ । जसले पनि वास्तविक ब्याजदर धनात्मक गर्नुपर्छ भन्ने हुन्छ ।
वास्तविक ब्याजदर धनात्मक भनेको मुद्रास्फीति दर जति छ, त्योभन्दा तल ब्याजदर जानुहुन्न भन्ने हो । मुद्रास्फीतिभन्दा ब्याजदर तल गयो भने बचतकर्ताहरूले बचत गर्नुको अर्थ हुँदैन । आज १०० रुपैयाँले जति सामान आउँछ, बैंकमा राख्दा ब्याज समेत ११० रुपैयाँ आयो । तर, ब्याजदरभन्दा बढी मुद्रास्फीति भएर बैंकमा राखेको पैसाको ब्याजसमेतले पनि त्यो किन्न पाइँदैन भने त्यसले बचत गर्न प्रोत्साहन गर्दैन । त्यसले भोलि गएर निक्षेप घट्न सक्छ । अहिले निक्षेप बढरहेको, बैंकमा बचत भइरहेकोले तररलता बढी हुँदा ब्याजदर तल आएको छ । जसले कर्जा दिन पनि सहज भएको छ भने लिनेलाई पनि सुविधा भएको हो ।

अब ब्याज थप घट्न दिनु हुँदैन भन्ने अवस्थामा केन्द्रीय बैंकले बजारलाई ‘कन्फिडेन्टस्’ दिने नाममा नीतिगत दरहरू घटाएर ब्याजर थप घटाउने सन्देश दिएको छ । ब्याजदर कम हुँदैमा बजार ‘कन्फिडेन्स’ बढ्ने होइन । अहिले पोसीसी रेट नबुझेर वा सजिलोका लागि घटाइएको हो ।
अहिले ब्याज दर तल आएको छ । ब्याजदर एकदम महँगो भयो, हामीले लगानी गर्न पाएनौं भन्दै व्यवसायीहरू डेलिगेसन जाने र मागहरू राखेको अवस्था छैन । अहिले ब्याजदर घटेको छ, तर, लगानी भयो ? सिद्धान्त र व्यवहारमा पनि ब्याजदर घट्दैमा लगानी बढ्ने होइन । २०६६ सालमा पनि ब्याजदर एकदमै तल आएको थियो । त्यसरी ब्याजदर घट्दा लगानी भएन, उत्पादन, रोजगारी बढेन । तर, घरजग्गा र सेयर मार्केट बबल भएर बस्ट भयो । त्यसले अर्थतन्त्रलाई नै थला पार्यो । ब्याजदर जति सक्दो तल जाओस् भनेर केन्द्रीय बैंकले हेर्ने होइन । ब्याजदरको एउटा गाइडलाइन छ, त्यसभित्र ब्याजदर राख्नुपर्छ । ब्याजदर एउटा निश्चित सिमाभन्दा तल वा माथि गयो भने अर्थतन्त्रलाई के हुन्छ ? भन्ने सवाल रहन्छ । ब्याजदर धेरै तल गयो भने बचतकर्ताले बचत गर्दैनन्, निक्षेप घट्छ । त्यसले पूँजी पलायन गराउन सक्छ । देशभन्दा बाहिर ब्याज बढी हुन्छ वा अरू काममा लगानी गर्दा बढी प्रतिफल पाइन्छ । यदि पूँजी पलायन भएन भने पनि पैसा बैंकिङ प्रणालीभन्दा बाहिर जान्छ । भोलि त्यो तरलता अर्थतन्त्रलाई हानि हुने गरी यही गायब हुन्छ । यसअघि पनि त्यस्तो भएको थियो ।
मौद्रिक नीतिको पहिलो काम भनेको ब्याजदर, तरलता र कर्जाको सप्लाई मिलाउने हो । आगामी आर्थिक वर्षको मौद्रिक नीति यसमा चुक्यो । अहिले ब्याजदर तल गएको अवस्थामा यहाँभन्दा तल जान नदिऔँ भनेर मौद्रिक औजारहरु प्रयोग गर्नुपर्नेमा उल्टै ब्याजदर अझै घटाइयो ।
ब्याजदर घटाउँदा वास्तविक ब्याजदर ‘नेगेटिभ’ हुने सम्भावना बढी भयो । अहिले नीतिगत दर किन घटाइयो ? घटाउनुको कहीँ तुक छ ? जबकि, ब्याजदर अब घटाउन दिनु हुँदैन भन्ने अवस्था छ । कर्जाको ब्याजदर घटेर कर्जा बढ्ने होइन । ब्याजदर घट्दैमा कर्जा जान्थ्यो भने एकल अंकको ब्याजदर हुँदा जानुपर्ने थियो । यदि १ प्रतिशत निक्षेपको ब्याजदर र २ प्रतिशत ब्याजदरमा कर्जा पाउने बनायौँ भने त्स्तो अवस्थामा न्युन प्रतिफल र अनुत्पादक क्षेत्रमा लगानी हुन्छ । यो तथ्य हो ।
अब घरजग्गा र सेयर मार्केटलाई जोडेर कुरा गरौं । घरजग्गा र सेयर मार्केट इकोनोमीकै केही सेक्टरहरु अथवा सबसेक्टरहरु हुन् । यसलाई ‘सप्रेस’ गर्ने भन्ने होइन । तर, निश्चित लगानीभन्दा बढी भयो भने त्यसले अर्थतन्त्रलाई हानी गर्छ । जब घरजग्गा र सेयर बजारको लगानीको उत्पादकत्व कुरा आउँछ । घरजग्गा र सेयर बजारको कारोबारमा गतिविधिहरु भइरहनु पर्छ, तर, बबल हुनु हुँदैन । घरजग्गा र सेयरको लगानी एउटा सिमासम्म उत्पादक लगानी भन्न मिल्छ। त्यसभन्दा माथिको लगानी अनुत्पादक लगानी हो ।
अन्य वास्तविक क्षेत्रमा त्यस्तो हुँदैन । घरजग्गा र सेयर बजार एउटा तहसम्म रह्यो भने त्यो उत्पादक लगानी हुन्छ । त्योभन्दा माथि गयो भने त्यो अनुत्पादक लगानी हुन्छ केही केहीले अलि अस्पस्टरुपमा जुवाको भन्दा त्यसले ठुलो विववाद सिर्जना गर्यो । घरजग्गा र सेयरमा एउटा तहभन्दा माथि लगानी भएर ‘हाइ स्पेकुलेसन’ भयो भने त्यसले अर्थतन्त्रलाई फाइदा गर्दैन ।
घरजग्गाको कुरा गर्दा १ रोपनीको अहिले १ करोड रुपैयाँ छ । तर, कारोबार हुँदाहुँदै मूल्य १० करोड रुपैयाँ भयो । यसले भ्यालु बढ्यो, लगानी गर्नेले नाफा पाउाछौं । तर, त्यो जमिन त्यही १ रोपनी छ । त्यसले उत्पादन बढाउन सक्दैन । त्यसको अप्रत्यक्ष फाइदाहरु छन् । लगानी गर्नेले कमाउँछ, कार किन्छ । त्यसले कार बेच्नेलाई फाइदा होला । उसले घर बनायो भने सिमेन्ट, छड बिक्री होला । त्यसकारण यसको निश्चित लाभ छ । तर, यति लाभमा चित्त बुझाउने गरी ठुलो रिसोर्स खन्याउनु हुँदैन । रियल सेक्टरमा त्यो लगानी गर्नुपर्छ ।

मौद्रिक नीति तरलता, ब्याजदर र कर्जाको व्यवस्थापन गर्नमा चुकेको छ । त्यसले पुँजी पलायन हुने र पछि गएर यसको असर निक्षेप हराउने समस्या हुन्छ । अहिले एकातिर ब्याजदर घटाएर र अर्कोतिर घरजग्गा र सेयर बजार लगानी सहज बनाइदिएपछि भोलि नै लागु हुने गरी घरजग्गाको र सेयर बजारको लगानी बढ्ने हुनसक्छ । ब्याजदर कम हुँदा पनि प्रतिफलको खोजिमा घरजग्गा र सेयरमा लगानी बढ्ने जोखिम हुन्छ । अन्य क्षेत्रमा लगानी गर्न कोही पनि उत्साहित हुने अवस्था हुँदैन । घरजग्गा र सेयरमा लगानी गर्दा सजिलै प्रतिफल आउने अवस्था हुन्छ ।
अहिले जुन क्षेत्रमा अधिक लगानी भएर समस्या आएको छ, ती क्षेत्रमा फेरि लगानी हुने जोखिम भयो । अहिले घरजग्गा शिथिल छ । सेयर मार्केटमा पनि राम्रो चलायमान हुन सकेको छैन । त्यसलाई चलायमान गराउने पनि सरकारकोे वित्त नीतिको वा मौद्रिक नीतिको कर्तव्य हो नि भन्नका लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति एकदमै सही हो । तर एउटा सीमासम्म हुनुपर्नेमा अहिलेको मौद्रिक नीतिले एकमात्र काम ‘एसेट प्राइस बबल’ ल्याउने भयो । घरजग्गा क्षेत्र सेयर मार्केटमा बबल भएर बस्ट भयो भने अर्थतन्त्रले अहिलेभन्दा ठूलो ‘शक’ झेल्नुपर्छ । अहिलेका जति समस्याहरु छन्, त्यसमा थप अर्को समस्या थपिँदा अर्थतन्त्र अझै खराब मोडमा पुग्न सक्छ ।
अहिलेको मौद्रिक नीतिले तत्कालका लागि आर्थिक गतिविधि चलायमान बनाउँछ र राम्रो गर्छ भन्ने लाग्दैन । यो नीतिले तत्कालको लागि पनि राम्रो गर्दैन । आम नागरिक, लगानीकर्ता सबैले घरजग्गामा पैसा हाल्छौँ । अब कृषि, उद्योग, हाइड्रोमा लगानी गर्न को जान्छ ? अहिले यता लगानी गर्ने अवसर छ भने सबै यतातिर खनिने हुन्छ ।
जस्तै जग्गामा लगानी गरेर मैले फाइदा लिएँ, सेयरमा लगानी गरेर मलाई फाइदा भयो भने मेरो उपभोग बढ्छ । केही निमार्ण पनि बढ्ला । जसले अर्थतन्त्रमा अप्रत्यक्ष रुपमा केही फाइदा पुर्याउँछ । तर, त्यो फाइदा जति हुन्छ, त्योभन्दा चाहिँ हामीले भोग्नुपर्ने घाटा ठूलो हुन्छ । र, त्यस्तो घाटा दिर्घकालिन हुन्छ । त्यसकारण अहिलेको मौद्रिक नीतिबाट आउने प्रभावमा केही क्षेत्रले तत्कालै राहत पाउँछन् । तर, ब्याजदर घट्दा निक्षेप निरुत्साहित हुने र पुँजी पलायन भयो भने त्यसले अहिले बैंकहमा बढी भयो भनेको तरलता नै देखिदैन । निक्षेप नै हराउँछ । एसेट बबल हुँदा तत्कालै नै केही क्षेत्रले राहत पाएको महसुस हुने तर समग्र अर्थतन्त्र र आम जनतालाई फेरि नछुने अवस्था देखिन सक्छ ।
मौद्रिक नीति अस्थिर बनाउनु हुँदैन
सकेसम्म तीन महिनामा हामीले मौद्रिक नीति रिभ्यु गर्न पाउँछौँ त्यतिबेला आवश्यक परिमार्जन गरौला भने नीतिगत अस्थिरता कायम गर्ने स्पेश मौद्रिक नीतिमा दिनु हुँदैन । तर, बाध्यता छ भने तीन महिनामा परिवर्तन गर्नै पर्यो । त्यति बेला गर्न मिल्छ । ३ महिनापछि नीति परिवर्तन गर्नुपर्छ भन्ने अहिले देखिनेगरी नीति आएको छ । त्यसले नीतिगत अस्थिरता सिर्जना गर्ने जस्तो देखियो। मौद्रिक नीतिमा वास्तविक क्षेत्रतिरको कुरा गरेको छैनौं । घरजग्गा, सेयर मार्केटमा जुन छुट दिएको छ । यसले आम लगानीकर्ता नभई एसेट मार्केट र त्यो क्षेत्रको लगानीकर्ता जसले पहिला लगानी गरेका छन् । सम्पत्तिको मूल्य बढ्दा वा चलायमान भएमा अन्य समस्या चलाउन सहज हुने र लाभ हुन्थ्यो भनेर पर्खेर बसेका छन् । यस्तो नीतिले आम नागरीकलाई लाभ हुन्छ कि सम्पत्तिको मूल्य बढे यस्तो फाइदा हुन्थ्यो भनेर बसेको तप्कालाई लाभ पुग्छ । त्यो हेर्नुपर्छ ।
३ करोड जनसंख्यामा यो मौद्रिक नीतिले कतिलाई लाभ भयो ? मौद्रिक नीतिले त्यो तीन करोडमध्ये अधिकांशलाई छुनुपर्ने हो । त्यो भयो कि भएन ? अहिले सबैभन्दा धेरै मान्छे संलग्न भएको क्षेत्र कृषि हो । कृषिले कुल जिडीपीमा २५ प्रतिशत योगदान गर्छ । कृषि गणनाको तथ्यांकअनुसार पनि ६२ प्रतिशत घरपरिवार र ६७ प्रतिशत जनसंख्या कृषिमा संलग्न भनेको छ । उनीहरुको लागि मौद्रिक नीतिमा के भयो ? यो मौद्रिक नीतिले कृषि कर्जामा, स्टार्टअपलाई, उद्योगमा, कहाँ–कहाँ के–के गर्यो भनेर हेर्दा खासै सम्बोधन गरेको छैन । १० लाखसम्मको कृषि कर्जालाई सरलीकरण गर्ने भनेको छ । अहिलेको समयमा १० लाखको कृषि कर्जाले व्यावसायिक र आधुनिक कृषि हुन्छ ? मौद्रिक नीतिले कृषिलाई पुर्णरुपमा बेवास्ता गरेको छ । वास्तविक अर्थतन्त्रमा यति ठुलो असर पार्ने क्षेत्रलाई मौद्रिक नीतिले केही सम्बोधन गरेको देखिएन ।

त्यस्तै जिडीपीमा १५/१६ प्रतिशत योगदान उद्योग क्षेत्रको छ । उद्योग क्षेत्रलाई मौद्रिक नीतिले के गर्यो ? उद्योगी व्यवसायीले मौद्रिक नीतिले हामीलाई यसरी सम्बोधन गर्यो भनेर अगाडि आएको देखिँदैन । पर्यटन क्षेत्रलाई उद्योगसरह मान्नेगरी बजेटले केही सम्बोधन गरेको छ । वास्तविक अर्थतन्त्र र आम जनतलाई प्रभाव पर्नेगरी मौद्रिक नीतिले सरलिकरण गर्नेमा ध्यान दिएको देखिएन ।
अहिलेको हाम्रो अर्थतन्त्रको रूपान्तरण गर्नका लागि विकास मोडल १६औं योजनाले र सरकारको नीतिहरुले पनि कृषि क्षेत्रलाई हाम्रो ‘लन्च प्याड’ बनाउनुपर्छ भनेको छ । अहिले धेरै मान्छेहरु कृषिमा संलग्न छन् । अर्थतन्त्रमा धेरै योगदान कृषिको छ । अर्थतन्त्रको द्रुत विकास भएमा कृषिको योगदान घट्ने हो । विकसित देशहरुको अर्थतन्त्रमा कृषिको योगदान न्युन हुन्छ । वास्तविक क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन नगरेका कारण आगममी आर्थिक वर्षको मौद्रिक नीति मिश्रित छ ।
(डा. श्रेष्ठ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्)








प्रतिक्रिया