काठमाडौं गोर्खाजको टाइटल स्पोन्सर बन्यो वर्ल्डलिंक

182
Shares

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशन्स दोस्रो सिजनको नेपाल प्रिमियर लिगका लागि काठमाडौं गोर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक (टाइटल स्पोन्सर) बनेको छ । वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज कुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाबीच सम्झौतापत्रमा औपचारिक हस्ताक्षर गरे ।

सो अवसरमा अग्रवालले वित्तीय पक्षभन्दा पनि महत्त्वपूर्ण कुरा ठूला कम्पनी नेपाल प्रिमियर लिगसँग जोडिनु रहेको बताए । उनले खेलको दीर्घकालीन प्रगतिको लागि यस्ता सहकार्यहरू आवश्यक रहेको भन्दै वर्ल्डलिंकले पनि लामो समयदेखि ग्रासरुट तहमा क्रिकेटको समर्थन गर्दै जिकिर गरे । अब काठमाडौं गोर्खाज मार्फत त्यो साथ अझ व्यावसायिक तहमा विस्तार गर्ने अवसर पाएको उनको भनाइ छ ।

काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले साझेदारीसँगै प्रतियोगितामा नयाँ लक्ष्यहरू तय गरेको र तयारी तीव्र रूपमा अगाडि बढिरहेको बताए । ‘कुनै पनि लिगको सफलता ठूला कम्पनीहरूको सहभागितासँग जोडिएको हुन्छ,’ उनले भने, ‘हामीलाई खुशी लाग्छ कि वर्ल्डलिंक जस्तो प्रतिष्ठित ब्रान्ड अब हाम्रो टोलीमार्फत नेपाल प्रिमियर लिगसँग जोडिएको छ ।’

आगामी सिजनका लागि काठमाडौं गोरखाजले नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिसकेको छ । साथै, टोलीले करण केसी (मार्की खेलाडी) सहित भिम सार्की, शाहब आलम, रशिद खान, दिपेश कँडेल र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ । काठमाडौं गोर्खाज र वर्ल्डलिंक कम्युनिकेसन्सबीचको साझेदारीले नेपालमा फ्रेन्चाइज क्रिकेटको स्तर उकास्न थप मद्दत पुर्‍याउने विश्वास गरिएको छ, साथै निजी क्षेत्रको सहभागिताबाट राष्ट्रिय खेलको दिगो विकासमा टेवा पुर्‍याउनेछ ।

Skip This