त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख एक महिनामै फेरिए, गृहका ५ सहसचिवको सरुवा

483
Shares

काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखसहित पाँच जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले मंगलबार गरेको निर्णयअनुसार विमानस्थलको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी फेरिएको हो ।

खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई त्रिभुवन विमानस्थलको प्रमुख अध्यागमन अधिकृत बनाइएको छ । उनको स्थानमा खोटाङमा कल्पना श्रेष्ठलाई पठाइएको छ ।

यसअघि मात्र ६ जेठमा पाँचथरको सीडीओबाट सरुवा भएर आएका सहसचिव विष्णुप्रसाद कोइरालालाई एक महिनामै हटाइएको हो । उनी तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि पठाइएका थिए ।

भट्टराई पक्राउ परेपछि मन्त्रालयले उनलाई हटाएर कोइरालालाई नियुक्त गरेको थियो । तर, कोइराला हाजिर हुन नपाउँदै अख्तियारले विमानस्थलमा छापा मारेको थियो ।

मन्त्रालयले कोइरालालाई समेत गृह मन्त्रालय फिर्ता बोलाउँदै नयाँ जिम्मेवारी दिएको हो । त्यस्तै, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाललाई पनि मन्त्रालय फिर्ता बोलाइएको छ । उनको ठाउँमा सहसचिव रामचन्द्र तिवारीलाई पठाइएको छ।

Skip This