
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली गएको स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरु नफर्किएको आफूले नभनेको दाबी गरेकी छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो स्पष्टीकरण दिएकी हुन् ।
सभाको मंगलवारको बैठकमा सांसद गौतमले प्रधानमन्त्री केपी शर्मा ओली गएको स्पेनको कार्यक्रममा सहभागी हुने बहानामा गएर केही मानिस नफर्किएको विषयमा समाचार सार्वजनिक भएको भन्दै संसदको ध्यानाकर्षण गराएको बताइन्।
समाचारमा आएका कुराहरुबारे संसदको ध्यानाकर्षण गराउँदा आफ्नो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग भएकोप्रति पनि आपत्ति जनाएका छन् ।
‘यस्तो नागरिक बेचिने र देशकै छविमा आँच आउने सरकारले स्वार्थ बाँझिने अनउपयुक्त आफू मातहतकै कनिष्ट कर्मचारीको नेतृत्वम टालटुले छानविन समिति बनाएर झेली खेल खेलेको छ । यसकै विरोधमा हामी हाम्रो कुरा नसुनेको कारण निरन्तर रुपमा संसद बहिस्कार गरिरहेका छौं । सभामुख महोदय यही विषयमा हिजो मैले बोलेको कुरा संसदबाट हटाउन समेत माग भएको रहेछ । पछि थाहा भयो । प्रधानमन्त्रीज्यूको सचिवालयबाट चुनौती पनि आएको रहेछ । केही माननीयज्यूहरुले बतासे केटाकेटी पनि भन्न भ्याउनु भएको रहेछ । सभामुख महोदय रास्वपा जिम्मेवार पार्टी हो । मैले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरु फर्किएनन् भनेको छैन । राम्रोसँग कान खुलेर सुन्नुहोस्।’
सांसद गौतमले प्रधानमन्त्री सहभागि हुन गएका केही नागरिकहरु नफर्किएको दोहोर्याइन् । प्रधानमन्त्रीसँगै नगएता पनि उक्त कार्यक्रममा सहभागि हुन भनि गएका नागरिकहरु नफर्किएको सत्य कुरा भएको उनको भनाइ छ ।








प्रतिक्रिया