‘आलमको घरमा बम पड्कियो, म बाँचें तर कान उडायो, अनुहार जल्यो’ (भिडियो)


काठमाडौं । २०६४ चैत २७ गतेको संविधानसभा निर्वाचनको अघिल्लो साँझ रौतहटको राजपुर फरहदवास्थित इँटाभट्टामा बम विस्फोट भयो । त्यही इँटाभट्टामा मजदुरी गर्दै आएका भारत बिहार सीतामढीका गौरीशंकर राम चमार आज पनि त्यो त्रासद दिन सम्झेर काँप्छन् ।

‘मलाई पैसा दिने भनेर बोलाएको थियो । घरको ढोकाबाट नजिकिँदै गर्दा एक्कासी बम पड्कियो,’ गौरीशंकरले भने, ‘आगो लागेपछि म भागेँ । पानी खन्न गएको ठाउँमा पानी हालेँ, फेरि बेहोस भएँ ।’

बम विस्फोटले उनका दुवै कान उडायो । अनुहार, छाती र घाँटीमा गहिरो चोट लाग्यो । उनलाई भारतको सीतामढी पुर्याइयो । उपचारमा साढे तीन लाख भारतीय रुपैयाँ खर्च भयो । उनी भन्छन्, ‘अफ्ताबले न हेरे, न सोधे, न सहयोग दियो । आजसम्म एक पैसा दिएको छैन ।’

घटना अफ्ताब आलमको काकाको घरमा भएको उनी बताउँछन् । ‘त्यसै घरमा बम विस्फोट भयो, धेरै मान्छे जलिएको सुनियो । मलाई बाँचेर के भयो र? कान छैन, काम गर्न सक्दिन, जिन्दगी नै जलेको छ ।’

उच्च अदालत वीरगञ्जले पर्याप्त प्रमाण नपाएको भन्दै नेता अफ्ताब आलमलाई सफाइ दिएको छ । तर गौरीशंकर अदालतको निर्णयप्रति निराश छन् । ‘बम लाग्या हो, कान उडायो, म पो थाहा छैन भने कसलाई छ र?’

उनले भने, ‘अदालतले छुटायो, तर उसले त मलाई धम्की दिएको छ । उसको मान्छेले आमालाई भनेको थियो– तेरो छोरो बाँच्छ जस्तो देखिँदैन ।’

आज उनी सरकारसँग आग्रह गर्छन्, ‘त्यस्तो मान्छेलाई नछोडिनु । मलाई न्याय चाहिन्छ, बचाइदिनुहोस् ।’

र अन्त्यमा भक्कानिएर भन्छन्– ‘काम गर्न सक्दिन, बाँच्ने ग्यारेन्टी छैन । म बाँचें कि मरे, फरक पर्दैन । तर त्यस्तो अपराधी नछोडिउँ ।’

उनले घटनाबारे यसो भने-

म रौतहटको राजा ईटाभट्टामा काम गर्दैथिए । हप्ताको दिन थियो । पैसा लिन मलाई बोलाएर लिएर गयो । हामी तीन जना थियौं । मलाई भन्यो– भाइ यता आएर तिमी आफ्नो पैसा लिएर जाउ । घरको ढोकाको छेउमा पुगेको बम पड्कियो । आगो लागेपछि म भागेँ । घरको पछाडि पानी थियो, त्यहाँ पानी हालेँ । फेरि म भागेँ । त्यसपछि मलाई थाहा भएन कि म कहाँ हो ? एकैचोटी मेरो आँखा खुल्यो सीतामढीमा । आँखा खुलेपछि मैले आमालाई सोधे– कहाँ हो यो ? आमाले भन्नुभयो– यो सितामढी हो, म तिमीलाई अस्पताल लिएर गइरखेको छु । केही चिन्ता नगर, ठीक हुन्छ तिमीलाई ।

त्यसपछि मेरो आँखा फेरि बन्द भयो । मेरो इलाज (उपचार) तीन महिनाजति भयो । मलाई साढे ३ लाख आईसी (भारतीय रुपैयाँ) खर्च भयो । अफ्ताबले एकचोटी पनि सोधेन– मान्छे कस्तो छ, के छ ? एक रुपैया पनि दिएन । सोधेको पनि छैन । आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन । त्यसलाई कडाभन्दा कडा सजाय दिनुपर्यो ।

निर्वाचनको एक दिन पहिला बेलुकातिर बम विस्फोट भएको थियो । अफताब आलमको काकाको घरमा । मैले पनि सुनेको त्यहाँ धेरै मान्छे जलेको छ, गाउँको मान्छेले मलाई उठाएर कसरी भारतसम्म पुर्याए मलाई थाहा भएन । दुई जना मेरो गाउँको मान्छे पनि जलेको छ, एउटाको हातमा र अर्कोको अलिकति खुट्टामा लागेको छ । कति मान्छे घाइते भए, त्यो त मलाई थाहा भएन । होस् भए पनि थाहा हुन्छ कतिलाई लागेको थियो भन्ने ।

त्यहाँ बम विष्फोट भएको छ, मलाई बम लागेको छ । अदालतको फैसलाले मलाई अन्याय भएको छ मैले भनिराखेको छु । मलाई त्यसैमा बम लागेको छ । अरु मान्छे चाहिँ कति मर्यो मलाई थाहा भएन । इलेक्सनको एक दिन पहिला भएको छ, अफ्ताब आलमले नै बम विष्फोट गराएको त मैले भन्न सक्दिनँ । तर, उसैको घरमा भएको छ ।

सुरुसुरुमा एसपी कार्यालय (प्रहरी चौकी) मा मैले बयान दिँदा मेरो घरमा गएको थियो । म घरमा नहुँदाखेरी त्यसको आद्मी (मान्छे) गएर मेरो आमालाई भनेको छ– तिम्रो छोरा त गयो (मर्यो) अब । तिम्रो छोरा दुई/चार साल वितेपछि बाँच्दैन । अफ्ताब आलमको मान्छे गएर भनेको छ । मलाइ धम्की दिएको छ ।

अफ्ताब आलम छुटेकोमा मलाई दुःख लाग्यो, बम बनाएर, बम फ्याकेर हामी पीडित मान्छे । त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ । मलाई मार्छ, त्यस्तो मलाई लागेको छ । अब मलाई डर भयो । मेरो शारीरिक अवस्था नाजुक छ । काम पनि भेटिदैन, काम गर्न पनि सक्दिनँ । म मर्ने कि बाच्ने, मैले केही पनि देखिनँ । (रुदैँ) कसरी बाँचौं म यो दुनियाँमा ।