ऊर्जाझैं अर्थतन्त्रलाई ड्राइभ गर्ने अर्को क्षेत्र खोजौं

2.8k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रलाई समष्टीगत रूपमा अघि बढाउने क्षेत्रको पहिचान गर्नुपर्ने बताएका छन् । शुक्रबार मौद्रिक नीतिमा सरोकारवालाको सुझाव लिने क्रममा गभर्नर पौडेलले एक समय त्यस्तो भुमिका खेल्ने क्षेत्रको पहिचान गर्ने बताएका हुन् ।

‘हामीले अझै पनि आर्थिक वृद्धिलाई ड्राइभ गर्ने मुख्य क्षेत्रको स्पष्ट पहिचान गर्न सकेका छैनौं जस्तो लाग्छ,’ गभर्नर पौडेलको भनाइलाई उदृत गर्दै स्रोतले भन्यो, ड्राइभिङ्ग फोर्स भन्न सकिने ठोस क्षेत्र कुन हो भन्ने कुरा अझै स्पष्ट छैन । एक समय ऊर्जा क्षेत्रले केही हदसम्म त्यस्तो भूमिका खेल्यो । जसरी ऊर्जा क्षेत्रले एउटा रूप लिएर अघि बढ्यो, त्यसैगरी अब अर्को कुनै क्षेत्रले पनि त्यसरी अघि बढ्न सक्ने सम्भावना छ । त्यसका लागि हामीले पहिचान गर्नुपर्ने आवश्यक छ ।’

बैंक तथा वित्तीय संस्थाहरूले अनुमान गरेअनुसार केही क्षेत्रले अर्थतन्त्रमा आवश्यक योगदान दिन नसकेको उनको बुझाइ छ । ‘जुन–जुन क्षेत्रहरूमार्फत् अर्थतन्त्रमा सुधारको सुरूवात हुन्छ भनेर भनेर अनुमान गरेका थियौं, ती क्षेत्रहरूमा अहिले केही समस्या देखिएका छन्, ती क्षेत्रका केही कर्जा समस्यामा छन्’ गभर्नरले भनेका छन्, ‘त्यसैले अब सुधारको दिशामा अघि बढ्नुपर्छ । सबैको साझा प्रयास र सहयोगबाट मात्र सुधार सम्भव छ।’