
काठमाडौं । हाइटेक्स कार्पेटले एकै वर्ष एक अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब २ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा ९४ करोड ४० लाख रुपैयाँ र सन् २०२३ मा ७७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार गत आवमा ३० प्रतिशतले बढेको छ । कम्पनीकाअनुसार गत आवमा कार्पेटको उच्च माग आउँदा व्यापार बढेको उल्लेख छ ।
सन् २०१५ मा स्थापना भएको कम्पनीले रग र कार्पेट उत्पादन गर्दै आएको छ । कम्पनी नेपालको पहिलो कार्पेट उत्पादक कम्पनी हो । कम्पनीसँग वार्षिक ७० लाख स्क्वायर मिटर कार्पेट उत्पादन क्षमता छ ।
कम्पनीले ४० लाख स्क्वायर मिटर क्षमताबाट बढाएर ७० लाख पुर्याएको हो । कम्पनीले गत आवमा ०.५६ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा ०.२५ प्रतिशत खुद नाफा कमाएको थियो ।
कम्पनीले उत्पादन गरेको कार्पेट अल्माया कार्पेट, पलिनो कार्पेट, रोयल कार्पेट, डाइनेस्टी कार्पेट, सुल्तान कार्पेट र अन्य विभिन्न ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले कार्पेट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ पोलिप्रोपिलिन धागो, पोलिस्टर स्पन धागो, जुटको धागो र नाइलन टर्की, बंगलादेश, चीन र भारतबाट आयात गर्ने गरेको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ४० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब १९ करोड ५० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८० करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो।










प्रतिक्रिया