बीपी राजमार्गमा थप १ महिना रातिको समयमा यात्रुवाहक सवारी चलाउन रोक

56
Shares

काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा रातिको समयमा यात्रुवाहक सवारी साधन सञ्चालनमा लगाइएको रोक १ महिनाका लागि थप गरिएको छ ।

यसअघि असार ७ गतेदेखि लागू हुने गरी साँझ ६:३० बजेदेखि बिहान ५:०० बजेसम्म १५ दिनका लागि रातिको आवागमनमा प्रतिबन्ध लगाइएको थियो ।

मनसुन सक्रिय रहेका कारण सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै काभ्रे र सिन्धुलीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयले उक्त रोकलाई थप १ महिनाका लागि निरन्तरता दिने निर्णय गरेका हुन् ।

जिल्ला सुरक्षा समितिको बैठकले असार २२ गतेदेखि लागू हुने गरी १ महिनाका लागि रातिको समयमा सवारी सञ्चालन रोक्ने निर्णय गरेको हो ।

यस अन्तर्गत काभ्रेभञ्ज्याङ–भकुण्डेबेसी हुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनलाई साँझ ६:३० बजेदेखि बिहान ५:०० बजेसम्म सञ्चालन गर्न रोक लगाइएको छ ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पनि एक सूचना जारी गर्दै असार २१ गतेदेखि लागू हुने गरी ३० दिनका लागि रातिको समयमा यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाएको जनाएको छ ।

प्रशासकीय अधिकृत प्रविण कटुवालद्वारा जारी विज्ञप्तिमा मनसुन अझै सक्रिय रहेका कारण जोखिम यथावत् भएकाले रोकलाई निरन्तरता दिइएको उल्लेख छ।

यसअघि काभ्रे, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा निकायहरूबीच सिन्धुलीको खुर्कोटमा बसेको अन्तरजिल्ला समन्वय बैठकले बाढी र पहिरोको जोखिमका कारण १५ दिनका लागि रातिको यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । यो रोक अब थप एक महिनाका लागि लागू हुनेछ ।