
विराटनगर । मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच विद्यार्थीलाई व्यावहारिक ज्ञान, प्रत्यक्ष अनुभव तथा अनुसन्धानमा सहयोग पुर्याउने र उद्योग व्यवसाय क्षेत्रमा सीपमा आधारित रोजगारी (प्लेसमेन्ट) उपलब्ध गराउने विषयमा पाँच वर्षीय द्विपक्षीय समझदारी भएको छ ।
यस सम्बन्धमा बिहीबार काठमाडौंमा संघका अध्यक्ष अनुपम राठी र त्रिवि तर्फबाट प्रा.डा. केदार प्रसाद रिजालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार त्रिविविका विद्यार्थीलाई शैक्षिक सशक्तिकरणका लागि इन्टर्नशिप, अनुभवजन्य शिक्षा, औद्योगिक भ्रमण, संरक्षकता तथा मार्गदर्शनजस्ता व्यावहारिक स्रोतहरू उपलब्ध गराइनेछ ।
यी सबै सेवा मोरङ उद्योग व्यापार संघमा आबद्ध औद्योगिक तथा व्यवसायिक संस्थामार्फत विद्यार्थीलाई उपलब्ध गराइनेछ। समझदारीले नेपालमा सीपमा आधारित रोजगारी र प्लेसमेन्टका लागि वातावरण निर्माणमा टेवा पुग्ने विश्वास दुवै पक्षले गरेका छन् ।
समझदारीअनुसार संघको संस्थागत उद्देश्य पूरा गर्न विश्वविद्यालयले विषयगत विद्यार्थी वा स्रोत व्यक्तिहरूको व्यवस्था गर्नेछ। यसले अनुसन्धान, छलफल, प्रतिवेदन तयारी लगायतका काममा सहयोग पुग्ने र औद्योगिक, आर्थिक तथा वातावरणीय नीतिका साथै आपूर्ति शृंखलाको सुधारमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
दुवै पक्षबीच उपलब्ध वा बाह्य स्रोतबाट संकलन गरिएका संकाय सदस्य, विशेषज्ञ वा सम्बन्धित क्षेत्रका विज्ञहरूको अनुभव आदान–प्रदान गर्न आवश्यक जनशक्ति उपलब्ध गराउने सहमति भएको छ ।
त्यस्तै, उपलब्ध संकाय सदस्य, विशेषज्ञ तथा विज्ञहरूले सामाजिक, शैक्षिक, औद्योगिक, वैज्ञानिक लगायतका विषयमा अनुसन्धान तथा केस स्टडी गर्ने र तथ्यमा आधारित निष्कर्ष संकलन गरी मस्यौदा तयार पार्ने तथा मोरङ उद्योग व्यापार संघ र त्रिविविमा प्रकाशित गर्ने समझदारी भएको छ ।
त्रिविविले उद्योग, व्यापार, बजार र वातावरणसँग सम्बन्धित समस्याहरूको अनुसन्धान, अध्ययन, पहिचान तथा प्रसारणका लागि विषयअनुसारका विद्यार्थी तथा स्रोत व्यक्ति उपलब्ध गराउने सहमति पनि समझदारीपत्रमा उल्लेख गरिएको छ ।








प्रतिक्रिया