आजैबाट लागू हुने गरी पूर्वराष्ट्रपति भण्डारीले गरिन् सरकारी सेवासुविधा फिर्ता


काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताका लागि निवेदन दिएकी छन् ।

उनले पूर्वराष्ट्रपतिको हैसियतले पाउने सबै सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा निवेदन दिएकी हुन् ।भण्डारीले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् ।

‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालय पठाइएको हो,’ उनी निकट स्रोतले भन्यो, ‘ आजकै मितिबाट उहाँले पाउने सेवा सुविधा पनि फिर्ताका लागि निवेदन दिइएको छ।’

दुई कार्यकाल राष्ट्रपति बनेकी उनले केही दिनअघि मात्रै नेकपा एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् । एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी उनले एमालेमा आफ्नो सदस्यता नवीकरण गराएकी छन् ।

राष्ट्रपतिको कार्यकाल सकिएपछि उनी काठमाडौंको भंगालस्थित निजी निवासमा बस्दै आएकी छन् । उनले सरकारले उपलब्ध गराउने घर र सवारी सुविधा भने यसअघि नै लिएकी थिइनन् ।

‘उहाँले आवास, सवारी सुविधा पहिलै कार्यकाल सकिने बेलैमा नलिने घोषणा गर्नुभएको थियो र त्यसै अनुसार उहाँ अहिले निजी निवासमा बस्नुहुन्छ,’ स्रोतले भन्यो, ‘सरकारले केही दिइरहेको सुविधा पनि फिर्ता गर्नु भएको हो । ‘

सरकारले पूर्वराष्ट्रपतिलाई मासिक भत्ता, घरभाडा, इन्धन, पत्रपत्रिका खर्च, टेलिफोन खर्च, अतिथि सत्कार खर्च, बिजुली, पानी र इन्टरनेटको खर्च तथा सचिवालय (उपसचिव, गाडी चालक र कार्यालय सहयोगी) लगायत सेवा सुविधा दिने गरेको छ ।