
काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाबीच भिजिट भिसा प्रकरणलाई लिएर वादविवाद भएको छ ।
अर्यालले मानव तस्करीका नाममा भइरहेको भिजिट भिसा दुरुपयोगविरुद्ध आवाज उठाउँदै संसद्मा छानबिन समिति गठनको माग गरे । उनले आफ्नो नाम जोडेर निराधार आरोप लगाइएको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘३३ दिनदेखि भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीविरुद्ध आन्दोलनरत छौँ। केही नेताहरूले व्यवसाय गरेर खानेहरूलाई बदनाम गर्न खोजेका छन् । म ‘सुमिरे टुर्स एन्ड ट्राभल्स’ को सञ्चालक हुँ। कसैसँग पैसा लिएको प्रमाण छ भने ल्याउनुस्, नभए निराधार आरोप हटाइनुपर्छ ।’
अर्यालको भनाइपछि कांग्रेस सांसद खतिवडा उठे । तर सभामुख देवराज घिमिरेले अर्यालको समय सकिएपछि मात्रै बोल्न अनुमति दिए।
खतिवडाले जवाफमा भने, ‘हामीले कसैको नाम लिएर कुरा गरेका थिएनौँ । तर केही सांसदहरू चोरको खुट्टा काट भन्दा खुट्टा झिकेझैँ प्रस्तुत हुनुभयो । हामी निष्पक्ष छानबिनको माग गरिरहेका छौँ। दोषी ठहरिए कारबाही होस्, निर्दोष भए सफाइ दिइयोस्।”
उनले विगतमा अदालतबाट निर्दोष साबित भएर सांसद बनेकाहरूलाई सम्झाउँदै श्रम मन्त्रालयबाट अवैध रूपमा म्यानपावर कम्पनीहरूलाई दिइएको स्वीकृतिको पनि छानबिन हुनुपर्ने माग राखे।
डोलप्रसाद अर्याल
३३ दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीविरुद्ध हामी आन्दोलनमा छौँ । संसदीय छानबिन समिति वा उच्च स्तरीय छानबिन समिति माग गरिरहेका छौँ । यस विषयलाई विषयान्तर गर्नेगरी हिजो यही सदनमा निराधार आरोप लगाउने कोसिस गरियो ।
राजनीतिलाई पेसा लगाएर वर्षौँदेखि देश दोहन गरिरहनेहरूले आफ्नो पेसा व्यवसाय गरेर खानेहरूमाथि गम्भीर आरोप लगाउन पछि परेनन् । मलाई दया लाग्छ- २०४८/४९ सालतिर मन्त्रीका पिए बसेर कागज किर्ते गरेर विदेश मान्छे पठाउने काम गरेबापत हनुमान ढोकाको चिसो छिँडीमा धेरै रात बिताएकाहरू पनि आज यही सदनमा संसद् भएर बसिरहेका छन् । अरूलाई आक्षेप लगाउनेहरू भिसा पाए भने आफैँ टाप कस्लान् । सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो । म यही देशका केही गरेर खाने मान्छे हुँ । चोरेर खाने मान्छे होइन । मेरो समय ठिकै चलेको छ, अरूको घडीको समय बितेको छ भने म के भनौँ । मेरो कम्पनी मात्र एक जना मान्छे भिजिट भिसामा जापान मात्र होइन संसारको कुनै देश गएको छ । हामीले पैसा लिएका छौँ र फर्केका छैनन् भने प्रमाण पेस गर्न म चुनौती दिन्छु । होइन भने निराधार आरोप संसद्को रेकर्डबाट हट्नुपर्छ । सभामुखज्यूबाट रुलिङको माग गर्दछु । कसैको सचिवालय चल्ने स्रोत घट्यो भनेर, कसैको जिल्लाको कर्मचारी पर्यो भनेर हामी हाम्रो आन्दोलनबाट पछि हट्दैनौँ ।
रामहरि खतिवडा
हामीले कुनै माननीयको नाम किटान गरेर भनेका थिएनौँ । चोरको खुट्टा काट भन्दा खुट्टा झिके जसरी केही माननीयहरू प्रस्तुत हुनुभयो । हामीले कुनै पनि संस्थालाई छानबिन गर्नुपर्छ भन्दा किन ठुलो स्वरले संसद् थर्काइन्छ महोदय ? म अनुरोध गर्न चाहन्छु- कुनै बेला हामी अदालतबाट निर्दोष भएर संसद्मा प्रतिनिधित्व गरेका छौँ । तर आज दोषी भएका मानिसहरू ठुलो स्वरमा कराउँदाखेरि यहाँ आपत्ति छ । हामीले निष्पक्ष छानबिन हुनुपर्छ भनेका थियौँ । छानबिन गरौँ दोषी छ भने कारबाही गरौँ । निर्दोष छ भने हामी उहाँलाई सफाइ दिन चाहन्छौँ । कानुनी रूपमा हिजो पनि आज पनि म्यानपावर कम्पनीलाई दलालमार्फत सुविधा दिने २०९ म्यानपावर कम्पनीलाई अवैध रूपमा सञ्चालनको अनुमति दिने को मान्छे श्रम मन्त्री थियो । त्यो छानबिन गर्न म माग गर्दछु ।










प्रतिक्रिया