
काठमाडौं । उखु किसानलाई दिइँदै आएको अनुदान रकमलाई निरन्तरता दिन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले बजेट प्रस्तुत गर्दा उखु किसानका लागि अनुदान रकम प्रदान गर्ने भनी उल्लेख गरेको छैन् । अनुदान रकम कटौति भएपछि अहिले देशभरका उखु किसान असन्तुष्ट छन् ।
सरकारले अनुदान नदिने भएपछि सर्लाहीका उखु किसानले पत्रकार सम्मेलन गरी कडा आन्दोलनमा उत्रने चेतावनी दिइसकेका छन् । किसानसँगको छलफलपछि सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य तथा निवर्तमान रक्षामन्त्री हरिप्रसाद उप्रेती र बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।
उखुमा अनुदान नदिँदा किसानले विकल्पमा अन्य खेती गर्दा तराईका १३ वटा चिनी उद्योग बन्द हुने र ति उद्योगबाट राज्यलाई वर्षेनि प्राप्त हुने दुई अर्ब कर गुम्ने खतरा रहेकोबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उप्रेतीले बताए ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले समर्थन मुल्य निर्धारण भएपछि अनुदान दिइरहनु नपर्ने र अनुदान दिन सरकारसँग बजेटसमेत नरहेको प्रतिक्रिया दिएको सांसद उप्रेतीले जानकारी दिए ।
किसानलाई उखुको अनुदान रकम दिलाउन सांसद र उखु किसानका अगुवाले निरन्तर अर्थ र कृषि मन्त्रालयमा दबाब दिइरहेका छन् ।
नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले यो वर्षदेखि बजेट नै बिनियोजन नभएकाले अब उखुको अनुदान रकम पाउने आश नै मरेको दुःखेसो पोखेका छन् ।
चिनीमा आत्मनिर्भर हुने भनिरहेको सरकारले अनुदान रकम कटौति गरेर उखु खेती नै मास्ने खतरा सिर्जना गराएको मैनालीको भनाइ छ ।
अनुदान रकमको आशमा उखु खेती गर्दै आइरहेका किसान सरकारको निर्णयबाट हतोत्साहित बनेका मैनालीले बताएका छन् ।







प्रतिक्रिया