
एजेन्सी । गत आइतवार राति अमेरिकाले इरानका तीनवटा आणविक केन्द्रहरूमा गरेको आक्रमणले आंशिक क्षति मात्र पुर्याएको अमेरिकाको रक्षा मन्त्रालयको प्रारम्भिक प्रतिवेदनले औंल्याएको छ ।
यस आक्रमणका कारण इरानको आणविक कार्यक्रम केही महिनाले मात्र पछि सरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।
रक्षा मन्त्रालय पेन्टागनको गुप्तचर निकाय डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डीआईए) ले तयार पारेको प्रतिवेदनमा इरानको आणविक कार्यक्रम केही महिनाभित्रै पुनः आरम्भ गर्न सकिने निष्कर्ष निकालिएको छ ।
इरानले आणविक हतियार बनाउन सक्ने संवर्धित युरेनियमलाई अमेरिकाको आक्रमण हुनुभन्दा धेरै अगाडि नै अन्य गोप्य केन्द्रहरूमा सारिसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डले गरेको प्रारम्भिक मूल्यांकनलाई प्रतिवेदनले आधार बनाएको हो ।
राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका आणविक केन्द्रहरू पूरै ध्वस्त भएको भनी गरेको दाबी बढाइचढाइ भएको यस प्रतिवेदनले संकेत गरेको छ ।
नतान्ज, फोर्दो र इसफाहानमा रहेका आणविक केन्द्रहरू पूरै ध्वस्त भएको ट्रम्पले दाबी गरेका थिए ।
फोर्दो आणविक केन्द्रमा त खासै कुनै क्षति नै नपुगेको विश्लेषण अमेरिकी आक्रमण लगत्तै गरिएको थियो ।
डीआईएले तयार पारेको प्रतिवेदनलाई सञ्चारममाध्यमहरूले छापेपछि ट्रम्प आक्रोशित भएका छन् । अमेरिकी आक्रमणको सफलतालाई उचित मूल्यांकन नगरेको भन्दै पनि सञ्चारकर्मीहरूसँग रिसाएका हुन् ।
आफ्नो ट्रुथ सोसल नेटवर्कमा उनले क्यापिटल लेटरमा ‘इरानका आणविक केन्द्रहरू पूरै ध्वस्त भएको’ लेखे ।
ह्वाइट हाउसले पनि गुप्तचर निकायको प्रतिवेदनको आलोचना गरेको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटले प्रेस विज्ञप्ति जारी गर्दै यस कथित प्रतिवेदनलाई लीक गरेर राष्ट्रपति ट्रम्पलाई अपमान गर्न खोजिएको र इरानको आणविक कार्यक्रमलाई ध्वस्त पार्ने साहसी पाइलटहरूको कार्यलाई अविश्वसनीय बनाउन खोजिएको आरोप लगाइन् ।








प्रतिक्रिया