पतञ्जलि जग्गा प्रकरण: विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल, बयान सुरु


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा विशेष अदालतमा बयान दिन उपस्थित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाल आफैं अदालत पुगेका हुन् ।

विशेष अदालतको इजलास नम्बर २ मा न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान सुरु भएको छ । बयानपछि थुनछेक बहस हुने कार्यसूची रहेको अदालतले जनाएको छ।

नेपालले यसअघि अदालतमा उपस्थित हुन पाउने सुविधा उपयोग गर्न निवेदन दिएका थिए । उनका कानुनी प्रतिनिधिहरूका अनुसार निवेदनको आधारमा मुद्दाको पेसी तोकिएपछि उनी आफैं हाजिर भएका हुन् ।

गत जेठ २२ गते अख्तियारले पतञ्जलि जग्गा प्रकरणमा अनियमितता भएको आरोपमा नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको बिगो, जरिवाना र सजाय माग गर्दै अभियोगपत्र दायर गरेको छ ।

नेपाल प्रधानमन्त्री रहेका बेला पतञ्जलिलाई अवैध तरिकाले जग्गा बिक्रीको अनुमति दिएको आरोप अख्तियारले लगाएको छ ।

नेपाल निकट कानुन व्यवसायीहरू बयान छिटो टुंग्याएर उनलाई साधारण तारेखमा छोड्नुपर्ने जिकिर गर्दै थुनछेक बहसमा प्रस्तुत हुने तयारीमा छन् । सरकारी वकिल पक्ष भने उनलाई थुनामा राख्नुपर्ने पक्षमा बहस गर्ने तयारीमा छ।