काँकडभिट्टाबाट भित्रियो १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ

77
Shares

झापा । चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब चार करोड ६० लाख रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा एक अर्ब छ करोड ४३ लाख रुपैयाँ अर्थात् ५.६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ ।

आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने ५.७० प्रतिशत अर्थात् ४७ करोड ४३ लाख ८७ हजार रुपैयाँले बढेको छ ।

कार्यालयको तथ्याङ्कानुसार चालु आवको ११ महिनामा पेट्रोलियम पदार्थ आयातबाट आठ अर्ब ७८ करोड २७ लाख ७२ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा आठ अर्ब ११ करोड ५९ लाख मूल्य पर्ने ९३ हजार आठ सय २४ किलोलिटर पेट्रोल आयात भएको थियो ।

यसैगरी छ अर्ब २६ करोड ७१ लाख रुपैयाँको ६८ हजार ८२० किलोलिटर डिजेल आयात भएको छ ।

त्यसैगरी, सोही अवधिमा दुई अर्ब ५९ करोड मूल्य पर्ने २३ हजार ४३८ मेट्रिक टन एलपी ग्यास, ६१ करोड २० लाख मूल्य पर्ने छ हजार ७०८ किलोलिटर एटीएफ र २२ करोड ७१ लाख मूल्य पर्ने दुई हजार ५२० किलोलिटर मट्टितेल आयात भएको छ ।