आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी


काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानका लागि आवश्यक रासायनिक मल मौज्दातमा रहेकाले कुनै चिन्ता नलिन आग्रह गरेका छन् ।

विनियोजन विधेयक २०८२ अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजित शीर्षकहरूमाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले गत वर्षको र यो वर्ष आयात हुने मलबाट माग पूरा हुने बताए।

चालु आर्थिक वर्षमा रासायनिक मल आयातका लागि बजेट विनियोजन भएपश्चात् हालसम्म तीन लाख ४५ हजार मेट्रिक टन मल आयात गरिएको, तीन लाख ९१ हजार मेट्रिक टन बिक्री वितरण भएको उनले बताए ।

गत वर्ष समेतको गरी जम्मा ६४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको उनले जानकारी दिए। ‘यसैगरी थप एक लाख ४२ हजार मेट्रिक टन मल आयात हुने क्रममा रहेको र यही असार मसान्तसम्ममा आयात भइसक्ने अवस्था रहेको छ,’ उनले भने, ‘धान रोपाइँका लागि ६० हजार मेट्रिक टन युरिया र ७० हजार मेट्रिक टन डीएपी आवश्यक पर्नेमा मौज्दातमा रहेको मल र आयात हुने मलबाट माग पूरा हुने देखिन्छ ।’

मन्त्री अधिकारीका अनुसार आगामी आवका लागि मल आयात गर्न २८ अर्ब ८२ करोड बजेट विनियोजन भएको छ । त्यसबाट छ लाख मेट्रिक टन मल आयात हुनेछ । त्यसका लागि कार्ययोजना तयार गरिएको उनले जानकारी दिए । यसका लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता प्राप्त भई आगामी आवका लागि तीन लाख मेट्रिक टन मल आयातका लागि बोलपत्र आह्वान भइसकेको उहाँले जानकारी गराए ।