इरानमाथि आक्रमण गरेकोमा ट्रम्पविरुद्ध महाभियोग लगाउनुपर्ने अमेरिकी सांसदहरूको माग



एजेन्सी । इरानमाथि सैन्य आक्रमण गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको वैधताका विषयमा अमेरिकी सांसदहरूले प्रश्न उठाएका छन् ।

रिपब्लिकन पार्टीका अधिकांश सांसदहरूले इरानको आणविक केन्द्रहरूमा आक्रमण गर्ने निर्णयलाई समर्थन गरेको भए पनि दुईजना सांसदले विरोध गरेका छन् । संसद्को स्वीकृति विना नै इरानमाथि आक्रमण गर्नु असंवैधानिक कदम भएको उनीहरूको भनाइ छ ।

रिपब्लिकन सांसद वारेन डेभिडसन र टमस मासीले ट्रम्पको निर्णयको विरोध गरेका हुन् ।

मासीले संसदमा गत साता एउटा प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमा संसद्ले स्वीकृति नदिएसम्म राष्ट्रपतिले इरानविरुद्ध युद्ध घोषणा गर्न वा सैन्य शक्तिको आज्ञा दिन नमिल्ने उल्लेख छ ।

ट्रम्पले इरानमाथिको आक्रमणको प्रतिरक्षा गरे पनि आक्रमणको कानूनी आधारका रूपमा आफूलाई संसद्ले त्यसको स्वीकृति नदिएको विषयलाई उल्लेख गरेनन् ।

डेमोक्रेटिक पार्टीका सिनेटर बर्नी स्यान्डर्सले ट्रम्पका गतिविधिहरू पूर्णतया असंवैधानिक रहेको टिप्पणी गरे ।

अमेरिकालाई युद्धमा जाने स्वीकृति संसद्ले मात्र दिन सक्ने र राष्ट्रपतिसँग त्यसको अख्तियारी नरहेको उनको भनाइ छ ।

केही डेमोक्रेट सांसदहरूले संसद्को स्वीकृति नलिइकन इरानमाथि आक्रमण गर्ने ट्रम्पमाथि महाभियोग लगाउनुपर्ने बताएका छन् ।

अलेक्जेन्ड्रिया ओकासियो–कोर्टेजले ट्रम्पको कदमले महाभियोगको स्पष्ट आधार दिएको टिप्पणी गरिन् ।

त्यस्तै इलिनोईका डेमोक्रेटिक सांसद सीन कास्टेनले पनि अमेरिकालाई तत्काल जोखिममा नपारेको मुलुकमाथि संसद्को स्वीकृतिविना बम प्रहार गर्ने राष्ट्रपतिको कदम स्पष्ट रूपमा महाभियोग लगाउनुपर्ने कसूर हो भनी टिप्पणी गरे ।

कास्टेनले तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख माइक जोनसनलाई बहादुर भएर संसद्को अधिकार स्थापित गर्न आग्रह गरे ।

तल्लो सदनमा डेमोक्रेटिक पार्टीकी सचेतक क्याथरिन क्लार्कले पनि इरानमाथि आक्रमण गर्ने ट्रम्पको निर्णय अनधिकृत र असंवैधानिक भएको टिप्पणी गरिन् ।

डेमोक्रेटिक पार्टीका सांसद रो खन्नाले मासीसँग मिलेर ट्रम्पविरुद्धको प्रस्ताव दर्ता गराएका हुन् । ट्रम्पसमर्थक युद्धविरोधी मतदाताहरूले आफ्‌नो प्रस्तावलाई समर्थन गर्ने आशा उनले लिएका छन् ।

सन् २०१६ मा राष्ट्रपति जर्ज डब्ल्यू बुशले अमेरिकालाई इराक युद्धमा झोसेको भन्दै ट्रम्पले चर्को आलोचना गरेपछि युद्धविरोधीहरूले उनलाई भोट दिएको खन्नाले स्मरण गरे ।