काठमाडौं । पश्चिम एसियाली मुलुकहरु इरान र इजरायलबीच अहिले भीषण द्वन्द्व चलिरहेको छ । इरानले आणविक हतियार बनाउनका लागि युरेनियम नामक पदार्थ सम्बर्धन गरिरहेको दाबी गर्दै इजरायलले त्यसलाई रोक्नका लागि इरानमाथि आक्रमण थालेको दाबी गरेसँगै मध्यपूर्वका यी दुई देशबीचको युद्धले कतै तेस्रो विश्व युद्ध हुने त होइन भन्ने त्रास देखिएको छ ।
इजरायलमा नेपालीहरुको पनि राम्रै उपस्थिति रहेको छ भने इरानमा करिब दर्जनका हाराहारीमा मात्र नेपाली छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा ५ हजार ५०० नेपाली छन् । इजरायलसँग नेपालको श्रम सम्झौता रहेको छ । यसले गर्दा पनि नेपालमा इजरायल इरान युद्धलाई चासोका साथ हेरिएको छ ।
आज हामी यो एक्सप्लेनरमा इजरायलले किन इरानमाथि आक्रमण गर्यो ? यी दुई देशलाई विश्वका शक्तिशाली कुन कुन देशको साथ र सहयोग छ ? सीमा नजोडिएका यी दुई देशबीच के त्यस्तो कारण छ जसले गर्दा बारम्बार युद्धको अवस्था आइरहन्छ भन्ने विषयमा जानकारी दिन गइरहेका छौं ।
सुरुमा कुरा गरौं, नेपालसँग इजरायल र इरानको व्यापार बारे ।
नेपालले इजरायल र इरानसँग वैदेशिक व्यापारसमेत गर्दै आएको छ । भन्सार विभागको तथ्यांक अनुसार दुवै देशसँग गरि नेपालले वार्षिक करिब ३ अर्ब रुपैयाँ हाराहारीमा व्यापार गर्ने गरेको छ । नेपालले इजराइलबाट करिब ३ अर्ब रुपैयाँ बराबरको विभिन्न सामान आयात गर्छ भने ५० करोड रुपैयाँको हाराहारीमा नेपालबाट विभिन्न वस्तु त्यो मुलुकमा निर्यात गर्ने गरेको छ । कटनबाट निर्माण भएको महिलाले लगाउने विभिन्न प्रकारका लुगाफाटा, कुरकुरे, कुरमुरे, लेज, चिजवल्स, पास्ता, जर्दा, खैनी, कार्पेटलगायत वस्तु इजरायलले नेपालबाट लैजान्छ भने नेपालले मुख्य गरी नन अल्कोहोलिक पेय पदार्थ आयात गर्छ ।
इरानसँग भने नेपालले ३० देखि ५० करोड रुपैयाँ रुपैयाँको व्यापार गर्ने गरेको छ । इरानबाट ३ करोडदेखि ५ करोड रुपैयाँसम्मको विभिन्न सामान नेपालमा भित्रिन्छ भने नेपालबाट त्यस मुलुकमा ३० लाखदेखि ७० लाख रुपैयाँसम्मको विभिन्न सामान निर्यात हुँदै आएको छ विभागको तथ्यांक छ ।
इरानबाट मुख्यगरी अल्कोहोलिक व्हीस्की, महिलाले लगाउने सुट, स्पोर्टस फुटवेयर, सियो, पेट्रालियम बिटुमिन, किवी फ्रुट्स, पिस्तालगायत नेपाल आउने गरेको छ भने नेपालले सुगन्धित तेल, सल, स्कार्फ, मफलरलगायतका सामान इरानलाई बेच्दै आएको छ ।
अब पछिल्लो एक सतायता भइरहेको युद्धबारे कुरा गरौं ।
गत शुक्रवार इजरायलले एकाएक इरानका आणविक केन्द्र र सैनिक अड्डाहरूमा हवाई आक्रमण गर्यो । विशेषगरी इरानको नतान्ज आणविक केन्द्रमा इजरायलको आक्रमणले बढी क्षति पुर्याएको छ ।
इजरायली आक्रमणमा परेर इरानी सेनाका प्रधानसेनापति जनरल मोहम्मद होसेन बाघेरी, इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्सका कमान्डर होसेन सलामी लगायतका शीर्ष सैन्य अधिकृतहरूको मृत्यु भएको छ ।
इजरायलकै आक्रमणमा परेर इरानका १४ जना आणविक वैज्ञानिकहरूले ज्यान गुमाइसकेका छन् । एपी न्युजका अनुसार, अहिलेसम्म ६०० भन्दा बढी इरानीहरूको मृत्यु भइसकेको छ ।
गत मंगलवार इजरायलले इरानको आकाशमा पूर्ण स्वामित्व कायम गरिसकेको र इरानका क्षेप्यास्त्र प्रक्षेपकमध्ये एकतिहाइलाई नष्ट गरिसकेको दाबी गरेको छ ।
इरानले पनि इजरायलविरुद्ध लगातार प्रत्याक्रमण गरिरहेको छ । इरानी क्षेप्यास्त्र र ड्रोनहरूले इजरायलका विभिन्न शहरहरूमा गरेको आक्रमणका कारण लगभग ५० जनाको मृत्यु भइसकेको छ । इरानी क्षेप्यास्त्रहरूलाई इजरायलको प्रतिरक्षा प्रणालीले रोकेकाले इजरायलमा धेरै क्षति हुन पाएको छैन ।
तर इरानले सबै प्रतिरक्षा प्रणालीलाई निस्तेज बनाउने हाइपरसोनिक क्षेप्यास्त्र पनि प्रहार गर्न थालेको छ । इरानी आक्रमणका कारण इजरायलको सोरोका अस्पतालको भवन क्षतिग्रस्त भएकाले यसलाई युद्ध अपराध भनिएको छ । त्यसका साथै इरानले इजरायलको गुप्तचर निकाय मोसादको केन्द्रीय कार्यालयमा समेत आक्रमण गरेको छ ।
अब कुरा गरौं इजरायल र इरानबीचको दुश्मनी बारे ।
इजरायल र इरानबीच लामो समयदेखि दुश्मनी चलिआएको छ । सन् १९७९ मा इरानमा इस्लामी क्रान्तिपछि राजतन्त्र उन्मूलन भएको थियो । इस्लामिक गणतन्त्र कायम भएपछि आयातोल्लाह अली खोमेनीको शासनसत्ताले इजरायललाई विश्व नक्साबाटै निमिट्यान्न बनाउनुपर्ने भनी बयान दिएको थियो । त्यसपछि दुई देशबीचको सम्बन्ध शत्रुतापूर्ण रहिआएको छ ।
इजरायलले इरानविरुद्धको पछिल्लो सैन्य कारवाहीलाई राइजिङ लायन नाम दिएको छ । इरानमा इस्लामी गणतन्त्र आउनुअघि राजाको शासनकालमा सिंह र सूर्य अंकित झण्डा थियो । त्यसैलाई संकेत गरेर इजरायलले इस्लामिक गणतन्त्रविरुद्ध उभिनका लागि इरानीहरूलाई प्रेरित गर्ने उद्देश्यका साथ सैन्य कारवाही गरेको हो । अर्थात्, इरानको सत्तापलट गराउने उद्देश्य इजरायलले राखेको छ ।
यो युद्धमा विश्व शक्ति राष्ट्रहरु अमेरिका, रुस र चीन प्रत्यक्ष रुपमा अहिलेसम्म सहभागी नभए पनि उनीहरुको विशेष चासो रहेको छ । अमेरिका इजरायलको पक्षमा रहेको छ तर उ अहिलेसम्म प्रत्यक्ष युद्धमा सहभागी भएका छैनन् । अर्कोतर्फ रुस र चीन इरानको पक्षमा छन् । अमेरिका जस्तै उनीहरु पनि प्रत्यक्ष रुपमा युद्धमा सहभागी भने भएका छैनन् ।
यस युद्धमा इजरायललाई सहयोग गर्नका लागि अमेरिका समेत आउने सम्भावना रहेको छ । विशेषगरी इरानको फोर्दोमा रहेको भूमिगत आणविक केन्द्रलाई पूरै विनाश गर्नका लागि अमेरिकाले बंकर बस्टर भनिने जीबीयू–५७ बम प्रहार गरे हुन्थ्यो भन्ने अपेक्षा इजरायलले गरेको छ । तर त्यो बमसँगै सीमित दायराको आणविक बम प्रहार गरेमा मात्र भूमिगत युरेनियम संवर्धन केन्द्र ध्वस्त हुने भएकाले त्यसको प्रयोग गर्न अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प हिचकिचाइरहेको बताइन्छ । ट्रम्पले नै इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीलाई इजरायलीहरूबाट हत्या हुनका लागि जोगाएको दाबी पनि गरेका छन् ।
उता, खमेनीले पनि यस युद्धमा अमेरिका सहभागी भएमा उसले अकल्पनीय क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन् ।
इजरायललाई सहयोग गर्नैका लागि भनेर अमेरिकाले पश्चिम एसियामा विमानवाहक युद्धपोत यूएसएस कार्ल भिन्सनलाई तयारी अवस्थामा राखेको छ । त्यससँगै उसले अर्को विमानवाहक युद्धपोत यूएसएस निमिट्ज पनि पश्चिम एसियामा पठाएको छ । पश्चिमका अन्य मुलुकहरूले पनि इजरायललाई सहयोग गर्नका लागि विमानहरू पठाउन खोजेका छन् ।
इरानलाई भने यस युद्धमा कुनै पनि मुलुकले खुलेर सहयोग गरेको छैन । इरान पनि सदस्य रहेको ब्रिक्सका प्रभावशाली सदस्य राष्ट्र रुस र चीनले इरानलाई नैतिक समर्थन गरिरहेको भए पनि रणनीतिक सहयोग चाहिँ गरेका छैनन् । इरान स्वाभिमानी मुलुक भएकाले एक्लै युद्ध लडिरहेको र आफूसँग कुनै सहयोग नमागेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् र दुई देशबीचको समस्या कूटनीतिमार्फत हल गर्नुपर्ने धारणा राखेका छन् ।
चीनले गोप्य रूपमा सैन्य उपकरण र हातहतियार बोकेका मालवाहक विमानहरू इरानतर्फ पठाएको भनी खबर आएका छन् तर तिनको स्वतन्त्र पुष्टि हुन सकेको छैन । इरानले बलिस्टिक क्षेप्यास्त्र बनाउनका लागि चीनको सहयोग मागेको बताइन्छ ।
यो युद्धले कस्तो मोड लिनेछ भनी ठोकुवा गर्न सकिने स्थिति छैन । विगतमा इराकसँग ८ वर्षे युद्ध गरेको इरान लामो युद्धका लागि तयार देखिन्छ । इजरायल एक्लैले इरानविरुद्ध लामो समयसम्म सैन्य कारवाही गर्न सक्दैन किनभने उससँग पर्याप्त हतियार छैन । उसलाई अमेरिका जस्ता शक्तिराष्ट्रको सहयोग आवश्यक हुन्छ तर अमेरिकाका राष्ट्रपति ट्रम्प अमेरिकालाई पश्चिम एसियाको युद्धमा सहभागी गराउने पक्षमा देखिँदैनन् ।
उनी इरानले आणविक हतियार कार्यक्रम त्यागेर सम्झौता गरिदिए हुन्थ्यो भन्ने सोच राख्छन् ।
अमेरिकामा शक्तिशाली इजरायली खेमाले इरानलाई घुँडा टेकाउनका लागि अमेरिकी शक्ति उपयोग गर्नुपर्ने बताउँदै आएको छ । विशेषगरी ट्रम्पलाई दोस्रो कार्यकालका लागि निर्वाचित गराउन प्रमुख भूमिका खेल्ने यहुदी महिला मरियम एडलसनको कुरा काट्न ट्रम्पलाई गाह्रो परिरहेको छ ।
उता, मेक अमेरिका ग्रेट अगेन अभियन्ता र ट्रम्पका बफादार समर्थकहरू अमेरिकालाई कुनै पनि युद्धमा सहभागी गराउन नहुने भनी चर्को स्वर निकालिरहेका छन् । ट्रम्प अहिले यी दुई धारको बीचमा रही अन्यौलको स्थितिमा छन् । अमेरिका यस युद्धमा सहभागी भएमा युद्धको दायरा फराकिलो हुनेछ र यसले विश्व अर्थ व्यवस्थामा समेत असर पर्ने छ ।
स्ट्रेट अफ होर्मुज नामक जलमार्ग इरानको नियन्त्रणमा छ र त्यो मार्ग भएर विश्वभर पेट्रोलियम पदार्थको २५ प्रतिशतसहित अन्य वस्तु विभिन्न देशमा पुग्ने गरेको छ । यदि युद्ध भएका उक्त मार्गलाई इरानले बन्द गर्ने र त्यसको प्रभाव विश्व अर्थ व्यवस्थामा पर्ने देखिएको छ ।







प्रतिक्रिया