
इरानका अधिकारीहरूले विदेशमन्त्री अब्बास अराग्चीलाई इजरायलले हत्या गर्न खोजेको भए पनि त्यसलाई असफल बनाइएको दाबी गरेका छन् ।
इजरायल र इरानबीच द्वन्द्व चलिरहेको बेलामा अराग्ची स्विटजरल्यान्डको जेनेभामा कूटनीतिक मिसनमा सहभागी हुनका लागि जाँदै छन् ।
अराग्चीका सल्लाहकार मोहम्मद होसेन रन्जबरानले यसको खुलासा गरेका हुन् । इरानी गुप्तचर निकायहरूले इजरायली षड्यन्त्रको पर्दाफास गर्दै त्यसलाई विफल बनाइएको उनले बताए ।
शुक्रवार विदेशमन्त्री अराग्चीले जेनेभामा बेलायती, फ्रान्सेली र जर्मन समकक्षीहरूसँग भेटघाट गर्दैछन् ।
‘मातृभूमिका अज्ञात सैनिकहरूको सुरक्षा प्रबन्ध चुस्तदुरुस्त नभएको भए विदेशमन्त्रीविरुद्धको इजरायली षड्यन्त्र तेहरानमा कार्यान्वयन गरिन लागेको थियो तर अल्लाहको कृपाले त्यो असफल भयो,’ रन्जबरनले लेखे ।
इरानमा गुप्तचर र सुरक्षा अधिकृतहरूलाई मातृभूमिका अज्ञात सैनिक भन्ने गरिन्छ ।
युरोपका तीन प्रमुख मुलुकहरूसँगको वार्ताको नेतृत्व अराग्चीले गर्ने घोषणा भएपछि उनको सुरक्षा बढाइएको पनि रन्जबरनको भनाइ छ । अहिले पनि अराग्चीको जीवन जोखिममा रहेको उनले बताए ।
षड्यन्त्रका बावजूद अराग्ची जेनेभा प्रस्थान गरिसकेका छन् ।
जेनेभा बैठकलाई अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले चासोका साथ नियालिरहेका छन् । उक्त बैठकमा युरोपेली संघका विदेशनीति प्रमुख जोसेप बोरेल र बेलायतका विदेशमन्त्री डेभिड लामी पनि सहभागी हुने अपेक्षा छ ।








प्रतिक्रिया