
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो छोरो एभनरको विवाह इरानसँगको युद्धका कारण स्थगित गर्नुपरेको गुनासो गरेका छन् ।
देशको दक्षिण भागमा रहेको शहर बीरशेबामा रहेको सोरोको अस्पतालमा इरानको क्षेप्यास्त्र आक्रमण भएपछि त्यहाँ पुगेका नेतान्याहुले बिहीवार छोरोको विवाह सम्बन्धी टिप्पणी गरेको द गार्डियन पत्रिकाले लेखेको छ ।
युद्धका कारण सर्वसाधारणले ज्यान गुमाउनुपरेकोमा नेतान्याहुले विवाह समारोह सार्नुपरेको जस्तो सामान्य विषयमा गनगन गरेको भन्दै आलोचना सुरु भएको छ । उनी इजरायल र पश्चिम एसियाको दैनिक यथार्थबाट भावनात्मक रूपमा नजोडिएको भनी आलोचकहरूले आरोप लगाएका छन् ।
विवाह समारोह दोस्रोपटक सार्नुपरेकाले एभनरकी प्रेमिका पनि निराश भएको र नेतान्याहुकी पत्नी सारा पनि खुशी नभएको नेतान्याहुले बताए ।
अहिले आफूहरू भीषण आक्रमणको तारो बनेको उनको भनाइ छ । दोस्रो विश्वयुद्धमा जर्मनीका नाजीहरूले बेलायतमा लगातार बम वर्षा गर्दा ४३ हजार सर्वसाधारणको मृत्यु भएको सन्दर्भलाई कोट्याउँदै उनले अहिले इरानको आक्रमणका कारण इजरायलीहरूको मृत्यु भएको र परिवारहरूले प्रियजनको शोक मनाएको बताए ।
यस द्वन्द्वमा २४ जना इजरायली सर्वसाधारणको मृत्यु भइसकेको अधिकारीहरूले बताएका छन् । अमेरिकामा रहेकामानवअधिकारकर्मीहरूले इरानका २६३ सर्वसाधारणले ज्यान गुमाएको बताएका छन् ।
इरानी क्षेप्यास्त्रका कारण एभनर नेतान्याहुको विवाह समारोह सार्नुपरेको हो । गत सोमवार उक्त विवाह हुनुपर्ने थियो । यसअघि गत नोभेम्बर महिनामा विवाह हुनुपर्ने थियो तर सुरक्षा कारणले सारिएको थियो ।
नेतान्याहुको टिप्पणीलाई इजरायलीहरूले नै कटु आलोचना गरेका छन् । अनात आङरेस्टका छोरा मतान हमासको कब्जामा रहेका छन् । उनको पीडालाई नेतान्याहुले उचित सम्मान नदिएर विवाह समारोह जस्तो सामान्य कुरामा ध्यान दिएको आरोप अनातले लगाएका छन् ।








प्रतिक्रिया