अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीश सर्वोच्चमा तानिए


काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने उच्च अदालत जनकपुरका वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई सर्वोच्च अदालतमा काजमा तानिएको छ ।

न्याय परिषदको विहीबारको बैठकले एक सदस्यीय छानबिन समिति बनाएर उनीहरूलाई कार्यक्षेत्रबाट तानिएको हो ।

विवादास्पद फैसलापछि सुरक्षाका कारण र छानबिन सहज बनाउन उनीहरूलाई काजमा ल्याइएको हो। पीडित परिवारले हालै उनीहरूविरुद्ध उजुरी दिएका थिए भने अदालतभित्रै मोसो दलिने घटना पनि भएको थियो। उनीहरूविरुद्ध न्यायपरिषदमा मृतक पिन्टु त्रिलोकका बुबाले उजुरी दिएका थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनका बेला रौतहटमा कांग्रेस उम्मेदवार रहेका आलमको घरमा बम विस्फोट हुँदा घाइते भएकाहरूलाई इँटाभट्टामा जिउँदै जलाएको आरोप लागे पनि उच्च अदालतले उक्त अभियोग प्रमाणित नहुने ठहर गर्दै आलमलाई सफाइ दिएको थियो ।

यसअघि रौतहट जिल्ला अदालतले आलमसहित चारजनालाई जन्मकैदको फैसला सुनाएको थियो। घटना भएको १२ वर्षपछि मात्र आलम २०७६ सालमा पक्राउ परेका थिए । उनलाई शक्तिको आडमा प्रमाण नष्ट गरी मुद्दा ढाकछोप गरेको आरोप लाग्दै आएको छ।

सर्वोच्च अदालतले घटनाको छानबिनमा ढिलाइ भएपछि प्रहरी प्रशासनलाई कडा निर्देशन दिएर मात्र अनुसन्धान अघि बढेको थियो । त्यसपछि २०७६ कात्तिक १८ गते आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।