धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठको निवेदन अदालतद्वारा खारेज, बिजमाण्डू र नेपालखबरले समाचार हटाउन नपर्ने


काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दुई सञ्चारमाध्यम बिजमाण्डू र नेपालखबर डटकमविरुद्ध दायर गरेको निषेधाज्ञाको निवेदन अदालतले खारेज गरिदिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्यामविहारी मौर्यको इजलासले दुई दिनको सुनुवाइपछि निषेधाज्ञाको निवेदन खारेज गरेको हो । यससँगै यी दुई सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीहरू हटाउनु नपर्ने भएको हो ।

बोर्ड अध्यक्ष श्रेष्ठको नाममा बिचौलियाले घुस मागेको विषयमा समाचारहरू प्रकाशन भएपछि उनले बिजमाण्डू र नेपालखबरविरुद्ध निवेदन दिएका थिए ।

निषाधाज्ञाको निवेदनमा पहिलो सुनुवाइपछि गत जेठ २७ गते न्यायाधीश पीताम्बर शर्माको इजलासले बोर्ड अध्यक्ष श्रेष्ठबारे प्रकाशित समाचार हटाउन र थप नलेख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

इजलासले यी दुई सञ्चारगृहलाई लिखित जवाफ पेस गर्न भन्दै बुधबारका लागि छलफलमा बोलाएको थियो ।